पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङ (तस्बिरहरू) « Khabarhub

पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङ (तस्बिरहरू)


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

धादिङ– रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको सितल बजार सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सडक खोल्ने काम अघि बढाएको छ।

सडक भासिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सडक पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पृतना अन्तर्गत कालीप्रसाद गणको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाइएको हो। सडकको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ।

भाद्र १० गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको थियो। कटानका कारण सितल बजारसहित धादिङको कृष्णभीर, परेवा भीरलगायतका क्षेत्रमा सडक भासिएपछि काठमाडौं–चितवन तथा काठमाडौं–पोखरा आवागमनमा समेत गम्भीर असर परेको छ।

विशेषगरी सितल बजार क्षेत्रमा नदीतर्फको सडकको ठूलो भाग कटानमा परेर भासिएकाले सामान्य मर्मतबाट तत्काल सडक सञ्चालन गर्न कठिन भएको प्राविधिकहरूको भनाइ छ। त्यसैले क्षतिग्रस्त सडकको अवस्था र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै ब्लास्टिङमार्फत सडकको नयाँ संरचना तयार गर्ने काम थालिएको हो।

पृथ्वी राजमार्ग संघीय राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्ला तथा प्रमुख व्यापारिक केन्द्रसँग जोड्ने महत्वपूर्ण सडक हो। राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन लामो समयसम्म बाटोमै रोकिने, दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुने तथा यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

बाढीले सडक कटान गर्नुका साथै राजमार्गका विभिन्न ठाउँमा पहिरो र सडक भासिने समस्या निम्त्याएको छ। सडक खुलाउन डोजर तथा अन्य निर्माण उपकरण परिचालन भइरहेका छन् भने जोखिमयुक्त स्थानमा प्राविधिक अध्ययनसहित वैकल्पिक सडक तथा अस्थायी मार्ग निर्माणको काम पनि अघि बढाइएको छ।

आयोजनाका अनुसार क्षतिग्रस्त सडकलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउन नेपाली सेना, सडक विभाग तथा निर्माणसम्बद्ध प्राविधिक टोलीबीच समन्वय गरेर काम भइरहेको छ। ब्लास्टिङपछि सडकको सतह व्यवस्थापन, आवश्यक संरचना निर्माण तथा यातायात सञ्चालनका लागि थप काम गरिने जनाइएको छ।

रसुवा बाढीपछि त्रिशूली नदीमा आएको तीव्र बहावले नुवाकोट र धादिङ हुँदै काठमाडौं जोड्ने सडक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। राजमार्गको पूर्ण सञ्चालनका लागि क्षतिग्रस्त स्थानमा तत्कालीन र दीर्घकालीन दुवै प्रकृतिका पुनर्निर्माणका काम आवश्यक देखिएका छन् ।

तस्बिरहरू : प्रकाश चन्द तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  १२ : १९ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि