अघिल्लो भदौ २७ सम्झिँदै सुधन गुरुङ : रगत लतपतिएको ज्याकेट थियो, तर देशलाई खाली हात फर्काउनु थिएन « Khabarhub

अघिल्लो भदौ २७ सम्झिँदै सुधन गुरुङ : रगत लतपतिएको ज्याकेट थियो, तर देशलाई खाली हात फर्काउनु थिएन


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले तत्कालीन दुईतिहाइको शक्तिशाली सरकार ढालेपछि देशको राजनीतिक अवस्था एकाएक बदलियो।

भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पठाए। त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई मकवानपुरस्थित नेपाली सेनाको ब्यारेकमा लगियो। करिब १० दिनपछि असोज २ गते मात्रै ओली भक्तपुरको गुन्डूस्थित निवास फर्किन सके।

त्यतिबेलासम्म देशको राजनीतिक परिदृश्यमा ठूलो उथलपुथल भइसकेको थियो। भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी थिइन्।

भदौ २३ गते माइतीघरमा स्वयम्सेवीका रूपमा पुगेका हामी नेपालका अध्यक्ष सुधन गुरुङलगायत जेन–जी आन्दोलनका अगुवाहरू पनि त्यसक्रममा राजनीतिको नयाँ केन्द्रका रूपमा उदाएका थिए। तिनै सुधन गुरुङ अहिले सरकारका गृहमन्त्री छन्।

गृहमन्त्री गुरुङले गत वर्ष भदौ २७ गतेको घटनालाई ‘ऐतिहासिक दिन’का रूपमा स्मरण गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत भदौ २७ को अवस्थालाई सम्झिँदै लेखेका छन्, ‘मनमा तत्कालीन नेता र राजनीतिप्रतिको विद्रोह र देशप्रतिको चिन्ता दुवै थियो।’

भदौ २३ को आन्दोलनपछि देश सामान्य अवस्थामा थिएन। राजनीतिक नेतृत्वप्रतिको विश्वास भत्किएको थियो भने पुरानो नेतृत्व स्वीकार गर्ने अवस्था नभएको उनले दाबी गरेका छन्। तर नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने स्पष्ट बाटो पनि नभएको पनि उनको भनाइ छ।

‘नयाँ अपरिचित र अपरिक्षित नेतृत्व छान्नु आफैँमा ठूलो चुनौती थियो। तीन दिनसम्म देश एउटै प्रश्नमा अडिएको थियो, देश कता जान्छ ? अब कसले निकास दिन्छ ? प्रधानमन्त्री को बन्दा सुरक्षित महसुस होला त ?’ उनले भनेका छन्।

गुरुङले त्यसबेला देशमा राजनीतिक अन्योलसँगै ‘पावर भ्याकुम’ सिर्जना भएको बताएका छन्। कुनै पनि देश लामो समय शक्ति रिक्ततामा रहन नसक्ने भन्दै उनले आफूमा नागरिकका रूपमा देशले निकास पाउनुपर्ने र राज्य चल्नुपर्ने भावना रहेको उल्लेख गरेका छन्।

‘भदौ २३ को असाधारण घटनाले हामीलाई सामान्य राजनीतिक परिस्थितिभन्दा धेरै पर पुर्‍याइसकेको थियो। कहिलेकाहीँ इतिहासले यस्तो कठिन मोडमा उभ्याउँछ, जहाँ उपलब्ध कुनै पनि विकल्प पूर्ण हुँदैन, तर देशलाई अनिश्चिततामै छोड्नु पनि हुँदैन,’ गुरुङले भनेका छन्।

९ घण्टा शीतल निवासमा

भदौ २७ गते देशलाई निकास दिने प्रक्रियामा आफू पनि जिम्मेवारीमा आएको गुरुङले बताएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवास पुग्दा उनको शरीरमा रगतले लतपतिएको ज्याकेट थियो। त्यसबेला उनले एक थोपा पानी र अन्नसमेत नखाएको उनको जिकिर छ।

‘९ घण्टाको त्यो प्रतीक्षामा अन्योलता थियो, तर अडान पनि थियो कि आज देशलाई खाली हात फर्काउन हुँदैन। किनकि बाहिर सिंगो देश पर्खिरहेको थियो,’ उनले लेखेका छन्।

अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको र त्यसपछि आफूले ठूलो जिम्मेवारीको भारी बिसाएजस्तो महसुस गरेको गुरुङको भनाइ छ।

‘त्यो क्षणमा एउटा ठूलो जिम्मेवारीको भारी बिसाएर हलुका भएको महसुस भयो, देशले निकास पायो भन्ने अनुभूति भयो,’ उनले भनेका छन्।

उनले भदौ २७ को परिस्थिति हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, धेरै व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाबाट बनेको बताएका छन्।

‘मेरो भागमा आएको जिम्मेवारी मैले सकेसम्म निभाएँ,’ गुरुङले लेखेका छन्।

भदौ २७ लाई सम्झिँदा अहिले पनि देशले कठिन परिस्थितिमा आफूलाई विश्वास गरेको क्षणप्रति कृतज्ञता महसुस हुने उनले बताएका छन्।

‘त्यसैले भदौ २७ सम्झिँदा आज पनि मनमा एउटै भावना आउँछ, कठिन परिस्थितिमा देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु,’ गुरुङले भनेका छन्।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  १२ : ५५ बजे

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,