धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’ « Khabarhub

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

प्राकृतिक सौन्दर्य, गुफा, विभिन्न देवीदेवताका मूर्ति र धार्मिक आस्थासँग जोडिएको यस स्थलको विकासमा स्थानीय तहले पहल गरेसँगै यहाँ पुग्ने भक्तजनलाई सहज भएको छ ।

हतुवागढी, रामप्रसादराई र पौवादुङमा गाउँपालिकाको सङ्गमस्थलमा रहेको महादेव थान धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । गाउँपालिकाले पछिल्ला वर्षमा देवस्थलको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपछि यसको महत्व थप बढ्दै गएको छ ।

गाउँपालिकाले देवस्थल परिसरमा फलामको बारसहितको पदमार्ग निर्माण गरेको छ । आवतजावत सहज बनाउन सडक विस्तार गरेको छ । महादेव थान संरक्षण समिति गठन गरेर यस क्षेत्रको संरक्षण, व्यवस्थापन तथा विकासको काम अघि बढाइएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

‘महादेव थान यहाँको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो’, अध्यक्ष राईले भने, ‘यस क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई जोगाउँदै आवश्यक पूर्वाधार विकासमा काम गरिरहेका छौँ । संरक्षणका काम अघि बढेपछि यहाँ आउने भक्तजनलाई पनि सहज भएको छ ।’

विभिन्न कारणले लामो समयदेखि रोकिएको यहाँको मेला पछिल्लो समय स्थानीयवासीको पहलमा पुनःसञ्चालन गरिएको छ । गाउँपालिकाले २०८० सालदेखि पूजापाठ तथा सदबीज छर्ने कार्यक्रम सुरु गरेपछि यस स्थलको धार्मिक गतिविधि थप सक्रिय बनेको छ । विशेषगरी बालाचतुर्दशीका अवसरमा यहाँ मेला, पूजापाठ तथा भजनकीर्तन हुने गरेको छ ।

गुफासहितको प्राकृतिक बनावटले यस क्षेत्रलाई थप आकर्षक बनाएको स्थानीयवासी लालबहादुर प्रधानले बताउनुभयो । यहाँ दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण विभिन्न स्थानबाट भक्तजन आउने गरेको उनको भनाइ छ ।

महादेव थान परिसरमा गुफासँगै विभिन्न देवीदेवताका मूर्ति रहेका छन् । धार्मिक आस्था र प्राकृतिक सुन्दरताको संयोजनले यस स्थललाई पर्यटकीय दृष्टिले महत्वपूर्ण बनाएको हतुवागढी गाउँपालिका–१ का वडाध्यक्ष कुमार विष्टले बताए ।

वडा तथा गाउँपालिकाको पहलमा देवस्थलको संरक्षण र पूर्वाधार विकासका काम अघि बढिरहेको उनले जानकारी दिए । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्नसके स्थानीय क्षेत्रको पहिचान स्थापित हुनुका साथै आन्तरिक पर्यटकको आवागमन बढाउन सहयोग पुग्ने वडाध्यक्ष विष्टको भनाइ छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ७ : ५७ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५