नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ ।
जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको हो ।
कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हालसम्म एक हजार ८१६ जनाको नमूना परीक्षण गरिएकामा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको बताए। उनका अनुसार जिल्लाका स्थानीय तहअनुसार सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ४६ जना (१८ पुरुष, २८ महिला) र भरतपुर महानगरपालिकामा ३२ जना (नौ पुरुष, २३ महिला)मा सङ्क्रमण पुष्टि भएको छ ।
त्यसैगरी खैरहनी नगरपालिकामा २२ जना, राप्ती नगरपालिकामा २०, कालिका नगरपालिकामा १७, माडी नगरपालिकामा तीन र इच्छाकामना गाउँपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ ।
कार्यालयका अनुसार सङ्क्रमित हुनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ । जिल्लाभित्रका सङ्क्रमित १४२ जनामध्ये ५२ पुरुष र ९० महिला छन् भने बाहिरी जिल्लाबाट आएका ९२ सङ्क्रमितमध्ये ३४ पुरुष र ५८ महिला छन् । हालसम्म जिल्लामा स्क्रब टाइफसका कारण कसैको मृत्यु भएको छैन ।
के हो स्क्रब टाइफस र कसरी सर्छ ?
स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुसी’ नामक जीवाणुबाट सङ्क्रमित मुसामा पाइने सुक्ष्म किर्ना (माइट वा चिगर)को टोकाइबाट मानिसमा सर्ने सङ्क्रामक रोग हो ।
जुम्राभन्दा सुक्ष्म हुने यो किर्ना प्रायः नाङ्गो आँखाले देख्न सकिँदैन र यो विशेषगरी मुसाको कान वा शरीरमा बस्ने गर्छ । घाँस वा झाडीमा किर्ना झरेको अवस्थामा मानिसको सम्पर्कमा आउँदा यसको सङ्क्रमण हुन्छ । यद्यपि, यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, शरीर, मांसपेशी तथा जोर्नीहरू दुख्ने, अत्यधिक कमजोरी महसुस हुने, वाकवाकी लाग्ने र शरीरमा बिमिरा देखिनजस्ता लक्षण देखिन्छन् ।
विशेषगरी किर्नाले टोकेको ठाउँमा कालो दाग वा घाउ बन्नु यसको मुख्य पहिचान हो । समयमै उपचार नभएमा यसले फोक्सो, कलेजो, मिर्गौला र मस्तिष्कमा असर गरी अङ्ग फेल हुने वा मृत्युसमेत हुनसक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
भेक्टर कन्ट्रोल निरीक्षक केसीले यो मौसममा स्क्रब टाइफसको जोखिम निरन्तर रहँदै आएकाले घर वरपरको झाडी सफा राख्न, खेतबारी वा घाँसपात गर्दा शरीर ढाक्ने लुगा लगाउन र लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण तथा उपचार गराउन आग्रह गरे।














प्रतिक्रिया