वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई सहयोग गर्न ठूलो रकम खर्च गरेको भन्दै अमेरिकी राजनीतिमा धनाढ्यहरूको बढ्दो प्रभावको आलोचना गरेका छन् ।
स्यान्डर्सले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्न मस्कले ३६ करोड ६० लाख अमेरिकी डलर खर्च गरेको उल्लेख गर्दै धनाढ्यहरूको राजनीतिक वर्चस्व अन्त्य गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्वाचित गराउन मस्कले दुई करोड ९० लाख अमेरिकी डलर खर्च गरेको र त्यसपछि उनको सम्पत्ति ६९६ अर्ब अमेरिकी डलरले बढेको दाबी गरेका छन् । मस्क विश्वकै पहिलो खर्बपति बने पनि अमेरिकी संसद्मा रिपब्लिकन पार्टीको नियन्त्रण कायम राख्न थप रकम खर्च गरिरहेको स्यान्डर्सको भनाइ छ ।
‘द न्युयोर्क टाइम्स’ का अनुसार मस्कले यस वर्ष जुलाईदेखि मात्रै २७ करोड ६० लाख अमेरिकी डलर खर्च गरेका छन् । त्यसमध्ये रिपब्लिकन सिनेट उम्मेदवारलाई समर्थन गर्ने राजनीतिक कार्यसमिति (सुपर पीएसी) का लागि १५ करोड ८० लाख अमेरिकी डलर खर्च गरिएको छ । यसले मस्कलाई यस वर्षको सबैभन्दा ठूलो एकल राजनीतिक दाता बनाएको समाचारमा उल्लेख छ ।
अमेरिका पीएसीका प्रवक्ता एन्ड्र्यु रोमियोले मस्कको आर्थिक सहयोगले रिपब्लिकन पार्टीलाई आफ्नो सन्देश मतदातासम्म पुर्याउन मद्दत गरेको बताएका छन् ।
यसैबीच, मस्कले भारतमा आफ्नो कम्पनी स्टारलिङ्कको बजार प्रवेशमा केही शक्तिशाली व्यावसायिक समूहले अवरोध गरेको आरोप लगाएका छन् । तर, भारतको सञ्चार मन्त्रालयले भूउपग्रह सञ्चार सेवासम्बन्धी अनुमति प्रक्रिया निष्पक्ष र भेदभावरहित रहेको जनाएको छ । मन्त्रालयका अनुसार सम्बन्धित कम्पनीहरूको सुरक्षा मूल्याङ्कन पूरा भएपछि मात्र रेडियो स्पेक्ट्रम उपलब्ध गराइनेछ ।
भारतमा व्यावसायिक अवरोधको आरोप र अमेरिकामा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्न गरिएको ठूलो राजनीतिक खर्चका घटनाले मस्कको आर्थिक शक्तिले राजनीति र व्यावसायिक प्रतिस्पर्धामा पार्ने प्रभावबारे बहस चर्काएको छ । स्यान्डर्सले पनि धनाढ्यहरूको बढ्दो सम्पत्ति र राजनीतिक प्रभावबीचको सम्बन्धमाथि प्रश्न उठाएका छन् ।














प्रतिक्रिया