गोरखा -उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, लापुबँसीस्थित न्याउली झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
बूढीगण्डकी नदी किनारमा तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा अवस्थित करिब ५५ मिटर अग्लो झरना प्राकृतिक सौन्दर्यका कारण पर्यटकको रोजाइमा पर्न थालेको हो ।

अग्ला पहाडको बीचबाट निरन्तर झरिरहने पानी, झरनाको फेदीमा बग्ने बूढीगण्डकी नदी र वरपरको हरियालीले यस क्षेत्रको सुन्दरता थप आकर्षक बनाएको छ । मनास्लु पदमार्गमा यात्रा गर्ने पर्यटकसमेत झरना अवलोकन र तस्बिर खिच्न यहाँ रोकिने गरेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा झरनाका तस्बिर तथा भिडियो सार्वजनिक हुन थालेपछि यसको चर्चा थप बढेको छ । प्राकृतिक दृश्यावलोकन, फोटोग्राफी तथा मनोरञ्जनका लागि युवायुवती र आन्तरिक पर्यटक समूह बनाएर यहाँ पुग्ने गरेका छन् ।

झरनाको प्रचारप्रसारका लागि निर्माण गरिएका तस्बिर खिच्ने आकर्षक संरचनाले पनि पर्यटकलाई आकर्षित गरेको छ । झरनाको नजिक पुग्दा पानीको फोहोराले शरीर भिज्ने भएकाले पर्यटकले यहाँ फरक अनुभवसमेत लिन पाउँछन् ।
झरना क्षेत्रको पर्यटन विकासका लागि थप पूर्वाधार निर्माणको तयारीसमेत भइरहेको छ । झरनाको फेदीमा मोटरेबल पुल निर्माणको काम अघि बढाइएको छ भने थप पर्यटकीय संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने योजना रहेको छ ।

व्यवस्थित पदमार्ग, सुरक्षित अवलोकनस्थल, सरसफाइ तथा पर्यटकमैत्री पूर्वाधार निर्माण गर्न सके न्याउली झरनामा पर्यटकको आकर्षण अझ बढ्ने स्थानीयको अपेक्षा छ ।
प्राकृतिक सम्पदाले सम्पन्न धार्चे गाउँपालिकामा पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधारका रूपमा न्याउली झरनालाई लिन सकिन्छ । यसको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमार्फत पर्यटकको आगमन बढाउन सके स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा स्थानीयवासीको आयआर्जनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया