गाउँ छिर्‍यो हात्तीको बथान : किसान चिन्तित « Khabarhub

गाउँ छिर्‍यो हात्तीको बथान : किसान चिन्तित


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर (झापा)- भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको चिन्ता बढेको छ । धान काटेर थन्क्याउने तयारीमा रहेका किसानलाई हात्तीले जुनसुकै बेला बाली नष्ट गरिदिने हो कि भन्ने चिन्ता छ ।

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन् । प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षामा समस्या हुने गरेको उनले बताइन् । “आज पनि खेताला खोजेर धान काट्ने र बिटा बाँधेर थन्क्याउने तयारीमा छौँ । भित्रयाउने बेला भएको धान हात्तीले कुन बेला आएर नष्ट गरिदिने हो भन्ने पिर छ,” श्रेष्ठले भनिन्, “हात्ती दैनिकजसो आउने भएकाले रातको समयमा पनि ढुक्कसँग बस्न सक्ने अवस्था छैन ।”

आज बिहान बुद्धशान्ति गाउँपालिका–२ स्थित बिहानी टोलमा हात्तीको आक्रमणबाट मोटरसाइकल चालक घाइते भएका छन् । बिहान ५ः१० बजको समयमा तीन तले सामुदायिक वनबाट निस्किएको हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट स्थानीय ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भएका छन् । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ । हात्तीको सम्भावित आक्रमण र क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय झापाले पनि सक्रियता बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुख तथा डिभिजन वन कार्यालयका कर्मचारीले आज हात्तीको मुख्य प्रवेशद्वार मानिने मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाको स्थलगत अनुगमन गरेका छन् । उनीहरूले स्थानीयवासीसँग छलफल गरी हात्तीको आवागमन र सम्भावित क्षति रोकथामका उपायबारे जानकारी लिएका छन् ।

सो क्रममा, प्रमुख जिल्ला अधिकारी पोखरेलले हात्तीको आवागमनलाई व्यवस्थित गर्दै मानव–हात्ती सहअस्तित्व कायम गर्नुपर्ने बताए । “हात्ती नियन्त्रणका विषयमा सरोकारवाला पक्षसँग पटक–पटक छलफल गर्दै आएका छौँ । अहिले स्थलगत अवस्थाको जानकारी लिन फिल्डमै आएका हौँ,” पोखरेलले भने, “मानव–हात्ती सहअस्तित्वका लागि उपयुक्त वातावरण बनाउनुपर्छ । हात्तीको आवागमनलाई व्यवस्थित गर्ने, बालीनाली र मानवीय क्षति न्यूनीकरण गर्ने तथा स्थानीयको व्यवहार परिवर्तन गर्ने विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक छ ।”

उनले प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालय, सामुदायिक वन, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीबीच एकरूपता र समन्वय कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए । हात्तीको बथानको आवागमन र जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहले सुरक्षाका उपाय अपनाउन थालेका छन् । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्ती प्रायः रातको समयमा हिँड्ने भएकाले स्थानीयको सुरक्षाका लागि वडा कार्यालयले सुरक्षा निकायलाई टर्चलाइट र साइरन उपलब्ध गराएको बताए ।

हात्तीबाट हुने बालीनालीको क्षति न्यूनीकरण गर्न किसानले खेती प्रणालीमा समेत परिवर्तन गर्न थालेको उनले जानकारी दिए । धान र मकैजस्ता हात्तीले क्षति पुर्‍याउन सक्ने बालीसँगै तोरी, सुपारीलगायत तुलनात्मक रूपमा हात्तीले कम रुचाउने बालीतर्फ किसान आकर्षित हुन थालेको उनको भनाइ छ ।

हात्तीको प्राकृतिक करिडोर खुम्चिँदै जानु र वन क्षेत्र प्रभावित हुँदै जानुले मानव–हात्ती द्वन्द्वको समस्या बढाएको हो । मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि स्थानीयको आनीबानी र व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ६ : १७ बजे

नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड

अन्ताल्या (टर्की)- जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि नेपालले

भारतद्वारा लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई रोक

नयाँ दिल्ली- भारतले विपक्षी काङ्ग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी

प्रकृति र सामाजिक सद्भावको अनुपम उत्सव : छठ पर्व

धनुषा- ‘केरवा जे फरल घउरस,ओपर सुगा मडराय,मारबौ रे सुगवा धनुषस,सुगा

गाउँ छिर्‍यो हात्तीको बथान : किसान चिन्तित

भद्रपुर (झापा)- भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान

भायानेटले ल्यायो ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा

काठमाडौं। भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक