इस्लामावाद- पाकिस्तानको सेनाले अफगानिस्तानसँग सीमा जोडिएका उत्तरपश्चिमी र दक्षिणपश्चिमी क्षेत्रमा पछिल्लो १० दिनमा सञ्चालन गरेका सुरक्षा कारबाहीमा ७४ जना लडाकु मारिएको जनाएको छ । सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार खैबर पख्तुनख्वा प्रान्तका मिर अली र ओराकजई जिल्लामा सञ्चालन गरिएका कारबाहीमा ४३ जना लडाकु मारिएका छन् ।
ती कारबाहीका क्रममा हतियार, गोलीगट्ठा र विस्फोटक पदार्थसमेत बरामद गरिएको सेनाले जनाएको छ । यसैगरी, बलोचिस्तान प्रान्तमा नोभेम्बर ३ देखि सञ्चालन गरिएका विभिन्न कारबाहीमा ३१ जना लडाकु मारिएको सेनाको दाबी छ । उक्त प्रान्तमा प्रतिबन्धित बलोच लिबरेसन आर्मीको नेतृत्वमा सशस्त्र विद्रोह जारी छ ।
पाकिस्तानी सेनाले मारिएका लडाकुलाई अफगानिस्तान र भारतको समर्थन रहेको आरोप लगाएको छ । काबुल र नयाँ दिल्लीले भने यसअघि नै यस्ता आरोप अस्वीकार गरिसकेका छन् । राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शहबाज सरिफले सुरक्षा फौजको प्रशंसा गर्दै उग्रवादविरुद्धको अभियान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सेनाले मारिएका लडाकुलाई ‘खवारिज’ संज्ञा दिएको छ । पाकिस्तान सरकारले अफगानिस्तानको समर्थन प्राप्त लडाकु, विशेषगरी ‘तहरिक–ए–तालिबान पाकिस्तान’ (टीटीपी) सँग आबद्ध व्यक्तिलाई सम्बोधन गर्न यो शब्द प्रयोग गर्दै आएको छ । काबुलले भने टीटीपीलाई समर्थन गरेको आरोप अस्वीकार गर्दै आएको छ ।
टीटीपी अफगानिस्तानको तालिबानभन्दा फरक समूह भए पनि दुवैबीच गठबन्धन रहेको छ । अफगानिस्तानको तालिबानले सन् २०२१ मा काबुलको सत्ता कब्जा गरेको थियो । टीटीपीका धेरै नेता तथा लडाकुले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रहेका सुरक्षित आश्रयस्थलबाट गतिविधि सञ्चालन गर्ने गरेको विश्वास गरिन्छ । यसै विषयलाई लिएर पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्धमा तनाव उत्पन्न हुँदै आएको छ ।














प्रतिक्रिया