काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले जित हासिल गरेको छ । जनकपुरविरुद्ध चितवन ४ विकेटले विजयी भएको हो ।
जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७ ओभर २ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । चितवनका लागि डाविड मलानले सर्वाधिक ३५ रन बनाए । ३९ बलको सामना गरेका उनले एक छक्का प्रहार गरे । त्यस्तै चितवनका कुशल मल्लले १५, रवि बोपाराले १३ तथा कामिल मिशाराले १२ रन बनाए ।
बलिङतर्फ जनकपुरका राहुल यादवले ३ विकेट लिए भने ललीत राजवंशीले २ तथा विशास सुस्लिङले १ विकेट लिए ।
यसअघि कीर्तपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल बनायो । जनकपुरका लागि कप्तान हर्मित सिंहले सर्वाधिक २५ रन बनाए । २५ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
त्यसैगरी, विशाल सुस्लिङले १५ तथा सन्तोष कार्की र राहुल यादवले समान १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
बलिङतर्फ चितवनका रञ्जित कुमारले ३ विकेट लिए भने कप्तान सिकन्दर राजा र कमिल मिसाराले समान २ तथा रिजन ढकाल र कमलसिंह ऐरीले समान १ विकेट लिए ।
यस खेलसँगै चितवनको प्लेअफ पुग्ने सम्भावना मजबुत बनेको छ । ६ खेलबाट ७ अंक जोडेको चितवन लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । अब चितवनले आइतबार कर्णाली याक्सको सामना गर्नेछ ।
यता जनकपुरको प्लेअफ पुग्ने सम्भावना भने समाप्त भएको छ । लिगका सबै ७ खेल खेलिसकेको जनकपुर ४ अंक जोड्दै छैठौँ स्थानमा छ ।














प्रतिक्रिया