काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर सेयर गर्दै दर्शकलाई सप्राइज दिए ।
किनकि- त्यो बंगलादेशी फिल्म ‘हांगोर’ (शार्क)को टिजर थियो । टिजरमा उनी केन्द्रीय चरित्रमा थिए ।
चुपचाप बसेर उनले एकैचोटी टिजरमार्फत् आफूले बंगालादेशी फिल्ममा डेब्यू गरेको सप्राइज दिए ।
अहिले उनी उक्त फिल्मकै कारण चर्चामा छन् । त्यसको प्रचार सामाग्रीहरु सार्वजनिक भइरहेका छन् । त्यसले उनको चर्चामा ‘आगोमा ध्यू’ थप्ने काम गरेको छ ।
टिजरमा ‘हांगोर’ सन् २०२६ को इदमा प्रदर्शन हुने उल्लेख गरिएको छ । इद चैत ५ गतेबाट सुरु हुँदैछ ।
प्रदर्शनबारे फिल्मका निर्देशक तन्यम सूर्यले बंगलादेशी पत्रिका दैनिक इत्तेफाकसँग भनेका छन्, ‘हामी फिल्म इदमा प्रदर्शन गर्न चाहान्छौं । तर, धेरै मेकरहरु इदमा फिल्म प्रदर्शन गर्न चाहान्छन्, यसले शो नपाउजे समस्या हुनसक्छ ।’
प्रमोद पनि इदमा नै नेपालीमा ‘हंगोर’ प्रदर्शनमा ल्याउने तयारीमा छन् ।
उक्त पत्रिकासँग निर्देशक सुर्जोले भनेका छन्, ‘फिल्म नेपालमा पनि प्रदर्शनमा गर्ने योजना छ । प्रमोदमा साँच्चै नेपालमा आफ्नो डेब्यू बंगलादेशी फिल्म स्वदेशमै प्रदर्शन गर्ने इच्छा छ ।’
प्रमोद ‘हांगोर’लाई नेपालमा प्रदर्शन गर्न आफ्नोतर्फबाट व्यवस्थापनको पक्षमा काम भइरहेको खबरहबसँग बताउँछन् ।
‘हांगोर’ समुद्र तटीय क्षेत्रका मानिसहरुको कष्टबारे आधारित रहेको बदलाको कथामा बनेको फिल्म हो ।

कसरी ढलिउडमा प्रमोद ?
बंगलादेशी सिनेमा उद्योग (ढलिउड)मा प्रमोदलाई निर्देशक सुर्जोले डेब्यू गराएका हुन् ।
सुर्जोको पनि यो डेब्यू निर्देशन हुन् । पेसाले डाक्टर उनी फिल्म आकर्षण त्याग्न नसकेर ‘हांगोर’ निर्देशनमा जुटेका हुन् ।
निर्देशकबारे प्रमोद भन्छन्, ‘डाक्टर पेसा गर्न मन नगालेर राम्रो ज्ञान लिएर फिल्म क्षेत्रमा आएको मान्छे हो, यसको निर्देशक ।’
बंगलादेशी दर्शकहरुले ‘हंगोर’लाई ठूलो प्रोजेक्ट उल्लेख गर्दै दक्षिण भारतीय फिल्मको भाइब दिने फिल्म भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । उक्त प्रतिक्रियाले निर्देशकको मेकिङ क्षमताबारे पनि प्रकाश पार्छ ।
यो टिजर नयाँ बजारमा प्रमोदको अभिनय क्षमताको मात्रै नभएर निर्देशक सुर्जोको मेकिङ क्षमताको पनि झलक हो ।
प्रमोदलाई किन आफूलाई निर्देशक सुर्जोले फिल्ममा प्रस्ताव गरे थाहा छैन । उनी भन्छन्, ‘मलाई वास्तविक कारण थाहा छैन । तर मैले छायाङ्कनको दौरान उहाँले मेरो फिल्म हेरेको थाहा पाएँ । त्यही भएर हुन सक्छ ।’
प्रमोदको कामबाट प्रभावित भएर ‘हांगोर’का लागि प्रस्ताव गरेको निर्देशक सुर्जोले पत्रिका दैनिक इत्तेफाकसँग भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘प्रमोदको कामलाई मैले हेरिरहेको थिएँ । यो फिल्मका लागि ऊ नै उपयुक्त लागेर प्रस्ताव गरेको हुँ । कथा सुनेपछि उनी राजी भए ।’
प्रमोदका अनुसार उनलाई सन् २०२४ अप्रिल (०८१) ताका नै यो फिल्मको प्रस्ताव आएको हो । जसबेला उनी फिल्म नेपाली फिल्म ‘रावायण’को छायाङ्कन सेटमा चरित्रकै पहिरनमा थिए ।
प्रमोद सुनाउँछन्, ‘म क्यारेक्टरमै थिएँ । त्यही भिडियो कलम आयो । अनि कुराकानी भयो । पछि स्क्रिप्ट पढेपछि काम गर्ने सहमति भयो ।’
तर, बंगलादेशको राजनीतिक कारणले यो फिल्म बन्न ढिला भयो । सन् २०२४ मा उनी छायाङ्कनका लागि उड्ने दिन नजिकिदाँ त्यहाँको राजधानी ढाकामा विशाल प्रदर्शन भयो । प्रधानमन्त्री शेक हसिना देश छोडेर भारतको शरण लिन भाग्नुपर्ने अवस्था सिर्जना भयो ।
स्थिति केही साम्य र सहज भएपछि प्रमोद गत अक्टोबरमा बंगलादेश उडे । एक महिना छायाङ्कन गरेर नोभेम्बरमा उनी स्वदेश फर्किए ।

किन प्रमोदको खोजी ?
प्रमोदका लागि बंगलादेशी फिल्ममा प्रस्ताव आउनु आफ्नो कलाको बजार विस्तार गर्ने अवसर थियो । त्यहीमाथि चित्त बुझ्दो स्क्रिप्ट पाए ।
छायाङ्कनका बेला उनलाई अन्य विषयमा सोच्ने सुविधा युक्त समय थिए । प्रमुख कारण– भाषा थियो ।
बंगलादेशी भाषामा प्रमोदको दख्खल थिए । उनलाई त्यसैको मिहिनेत गर्नु थियो ।
प्रमोद भन्छन्, ‘फिल्ममा भाषा बोलेर मात्रै हुँदैन । शब्द–शब्द उच्चारण ध्यान गर्नुपर्छ । ती शब्दमा इमोसन भर्न सक्नुपर्छ । यही कारण पनि म कसरी राम्रोसँग काम गर्ने विषयमा केन्द्रित थिएँ ।’
तथापि, कुराकानी गर्न अंग्रेजी र हिन्दी भाषाको सहजता उनलाई थियो ।
प्रमोद छायाङ्कनबारे स्मरण गर्छन्, ‘मलाई उनीहरुले आफ्नो अंशको स्क्रिप्ट पढ्दा र डाइलक बोल्दा बहिरो महसुस हुन्थ्यो । भाषा नबुझ्दा मान्छे बाहिरो हुने रहेछ ।’
टिजर सार्वजनिक भएपछि भने ‘म यस फिल्ममा किन ?’ भन्ने प्रश्न निर्देशकलाई गरेको उनी बताउँछन् ।
‘तिम्ले निर्वाह गरेको चरित्रका लागि ‘रअ’ अभिनय गर्ने हिरो चाहिएको थियो । हामीले ज्यान सुगठित भएको तिमी जस्तो कलाकार बंगलादेशमा भेटेनौं,’ निर्देशकको जवाफ उनी खबरहबलाई सुनाउँछन्, ‘यो फिल्ममा तिम्रो चरित्रमा सुहाउने अन्य बंगलादेशी कलाकार सिफारिस गर्न सक्छौं त ? तिमी नभएको भए म यो फिल्म म गर्न सक्दिनँ थिएँ ।’
निर्देशकसँगको यस कुराकानीको अंश प्रमोदले खबरहबसँग सेयर गरेका छन् ।
एक्सपोजर
ढलिउड फिल्म र नेपाली फिल्म लगानी लगभग उस्तै हो । तर, जनसंख्याका हिसाबले पनि त्यहाँ बजार ठूलो छ ।
त्यहाँका फिल्मले घरेलु बजारमा ७० करोडसम्म व्यापार गरेको छन् ।
‘हांगोर’मा प्रमोदले त्यहाँका ‘ए ग्रेड’ कलाकारहरुसँग सहकार्य गरेका छन् । यसको नायिका तहमिना अथोई हुन् । जसले आफूलाई एकदमै चुजी नायकीका रुपमा स्थापित गरेकी छन् । क्वालिटी फिल्म मात्रै खेल्ने अडानले उनले तीन फिल्ममा अभिनय गरेकी छन् ।

नायक अर्नब खान यस फिल्मका अर्का चर्चित कलाकार हुन् । दीपा खन्डकर र इन्तेखाब दिनार ढलिउडका अग्रज र सम्मानका दृष्टिले हेरिने कलाकार हुन् ।
त्यहाँका चर्चित पत्रिका र अनलाइनमा प्रमोद हेडलाइन बनेका छन् । बंगलादेशमा सामाजिक सञ्जालमा चासो राखिने नायक बनेका छन् ।
‘ढलिउड फिल्ममा नेपाली कलाकारको डेब्यू’ जस्तो भाव बोकेका हेडलाइन त्यहाँका पत्रिकामा बनेका छन् । ती समाचारमा उनको एकल तस्बिर छापिएका छन् ।
तर, ती मिडियाले उनलाई ‘नेपालको चल्तीमा रहेका नम्बर १ भिलेन’का रुपमा पाठकलाई चिनाएका छन् ।
त्यहाँका दर्शकहरुले पनि प्रमोदलाई चासोका साथ हेरेका छन् । कतिपयले उनी भारतीय कलाकार हुन सक्ने अनुमान गरेको कमेन्ट फिल्मको सामाजिक सञ्जालको पेज–प्रोफाइलमा देख्न सकिन्छ ।
प्रमोद भन्छन्, ‘मलाई व्यक्तिगत रुपमा खोजिरहनुभएको छ । कतिपय दर्शकले मलाई ढलिउड र भारतीय कलाकारहरुसँग तुलना गर्नुभएको छ । यो उहाँहरुले देखाएको चासो हो ।’
बंगलादेशी भाषामा बनेको फिल्म भएकाले उनलाई ठूलो संख्याका दर्शकसँग पुग्ने अवसर छ । अर्को कुरा यो फिल्म नेटफ्लिक्समा स्ट्रिमिङ हुने सम्भावना बलियो रहेको प्रमोद बताउँछन् ।
उनी भन्छन्, ‘मैले धेरै कुरा खुलाउन मिल्दैन । यो फिल्म नेटफ्लिक्समा जाने संकेत पाइसेकेको छु । धेरै कुरा अगाडि बढिसेकेको छ ।’
यो फिल्म नेटफ्लिक्समा स्क्रिमिङ भएमा उनी विश्वबजारका दर्शकसम्म पुग्न सक्छन् ।
आफूलाई अन्य बंगलादेशी फिल्मबाट प्रस्ताव आउने क्रम जारी रहेको उनी बताउँछन् ।
भन्छन्, ‘अन्य फिल्मको प्रस्ताव आए पनि म डेब्यू नतिजा कुरिरहेको छु । यो राम्रो भयो भने अन्य फिल्म गर्छु । यसको नतिजा जे भए पनि थप अर्को गर्ने चाहिँ पक्का भएको छ ।’
अर्थात्, नेपाल बाहिरको ढलिउडमा पनि प्रमोदले आफ्नो बजार धेर–थोर विस्तार गरेका छन् । उनी ढलिउडका मेकरको नजरमा परेका छन् । त्यहाँ जम्न–नजम्ने पक्ष भने उनको डेब्यू फिल्मको नतिजा वा उनको अभिनय क्षमतामा नै निर्भर रहन्छ ।
उनी भन्छन्, ‘मैले आफ्नो बजार विस्तारका लागि ढलिउड डेब्यूलाई कोशेढुंगा नै मान्नुपर्छ । त्यहाँ सफल वा असफल मेरो प्रोजेक्टको नजिताले तय गर्छ ।’













प्रतिक्रिया