काठमाडौं – मंगलबार बिहान ८ बजेबाट सुरू हुने भनिएको नेपाली कांग्रेसको विधान महाधिवेशनको दोस्रो दिनको बन्द सत्र अझै सुरू हुन सकेको छैन।
सहमतिका लागि बालुवाटारमा पार्टी सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच वार्ता चलिरहेकाले बन्द सत्र प्रभावित भएको हो।
वार्ता जारी रहँदा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा ढिलोगरी महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन्।
नेतृत्व तहमा सहमति खोज्ने प्रयास जारी रहेकाले महाधिवेशनको कार्यतालिका प्रभावित भएको हो ।
उता, कांग्रेस संस्थापन पक्षले बिहान ११ बजेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक पनि सरेको छ।
पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई दिउँसो १ बजे उपस्थित हुन अनुरोध गरिएको छ।
विशेष महाधिवेशनस्थलमा प्रतिनिधिहरू बन्द सत्र सुरू हुने प्रतीक्षामा रहेका छन्। नेतृत्व तहको वार्ताबाट सहमति ननिस्किए विधान महाधिवेशनबाट नयाँ नेतृत्व चयन तयारी थालिएको छ ।













प्रतिक्रिया