शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र « Khabarhub

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् ।

रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७ स्थित श्री बगौली माध्यमिक विद्यालयमा अध्यापन गर्ने यादव शिक्षण पेसासँगै कृषि कर्मलाई आत्मसात् गर्दै ‘आत्मनिर्भर जीवन’ को उदाहरण बनेका छन् । 

कार्यालय समयमा विद्यालय पुग्ने, कक्षाकोठामा ज्ञान बाँड्ने र फुर्सदको समय खेतबारीमा बिताउने उनको दैनिकीले ‘समय अभाव’ भन्ने बहानालाई पनि चुनौती दिएको छ । सार्वजनिक बिदाका दिन तथा बिहान–साँझ समयको सदुपयोग गर्दै कृषिबाट राम्रो आम्दानी गरिरहेको उनले बताए ।

रूपन्देहीको कोटहीमाई गाउँपालिका–६ बोगडी बस्ने यादव युवा उमेरमा नै जिम्मेवार शिक्षक मात्र होइन, नयाँ सोच भएका मिहिनेती कृषकका रूपमा समेत चिनिन थालेका छन् । विद्यालय बाहेकको समयलाई उनले उत्पादनशील बनाउँदै आधुनिक र व्यावसायिक ढङ्गबाट कृषि पेसा अघि बढाएका छन् ।

यादवको कृषि यात्राले आज स्वदेशमा सम्भावना छैन भन्दै वैदेशिक रोजगारीमा गएका धेरै युवालाई नयाँ बाटो देखाएको छ । उनले भने, ‘विदेश गएर अर्काको भूमिमा काम गर्नुभन्दा आफ्नै देशकै माटोमा पसिना बगाएर उत्पादनमा लाग्नु नै उपयुक्त लाग्छ । आफ्नै खेतमा फलफूल र तरकारी उत्पादन गरी स्वदेशमै मात्र होइन, विदेशसम्म पठाउन सकिन्छ । लाखौँ रकम खर्चेर विदेशिनुभन्दा त्यो रकम नेपालमै लगानी गरी कृषि पेसामा लागेर आफ्नै परिवारसँगै बस्न पाइन्छ र आम्दानी पनि राम्रो हुन्छ ।’ उनले कृषि पेसामा प्रशस्तै सम्भावना रहेको बताए । कृषिको आधुनिकरण र व्यावसायिकीकरणमा भने सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

कृषि कार्यलाई सहज बनाउन उनले प्रयोग गरेको मिनी (हाते) ट्याक्टर उनका लागि प्रविधि र श्रमको मिलन बनेको छ । केराखेती गोडमेल गर्न करिब १० हजार रुपैयाँ ज्याला खर्चिनुपर्नेमा मिनी ट्याक्टर प्रयोग गर्दा करिब ३०० रुपैयाँ बराबरको इन्धन खर्चमै काम सम्पन्न भएको उनी बताउँछन् । यसले समय र पैसाको दुवै बचत गरिदिएको यादवको भनाइ छ ।

हाल यादवले करिब पाँच कट्ठामा काउली, आठ कट्ठामा टमाटर र करिब दुई बिघा क्षेत्रफलमा केराखेती गरेका छन् ।

धनियाँ, साग, खुर्सानीजस्ता तरकारी पनि नियमित रुपमा उत्पादन भइरहेको उनले जानकारी दिए । कृषिबाट वार्षिक दुई लाख ५० हजार बढी आम्दानी हुने गरेको उनको भनाइ छ । सरकारले कृषि क्षेत्रलाई विद्युतीकरण गर्न सके ‘अन्नभण्डार’ का रुपमा चिनिने मर्चवार क्षेत्रमा उत्पादन हुने सागसब्जी नेपालभरि मात्र नभई विदेशसम्म पनि निर्यात गर्न सकिने उनको विश्वास छ ।

यद्यपि उनको कृषि यात्रामा चुनौती पनि उत्तिकै छन् । जङ्गली जनावरको आक्रमणले कृषकहरु मारमा पर्ने गरेको उनले बताए । यादव भन्छन्– ‘समयमै बीउ र मल नपाउने, सिँचाइका लागि विद्युतीय पहुँच नहुनु र सरकारले अपेक्षित सहयोग दिन नसक्नु एउटा पीडा हो । लगाइएको तरकारीलाई नीलगाई, बँदेल, छाडा चौपाया तथा अन्य जङ्गली जनावरबाट जोगाउनु अर्को चुनौती छ ।’

जनावरबाट बाली जोगाउन उनले ‘इलेक्ट्रिक फेन्सिङ’ प्रयोग गरेका छन्, जसले केही हदसम्म राहत दिएको उनी बताउँछन् । साथै सामूहिक रूपमा खेतीपाती गर्दै नियमित हेरचाह र निगरानी गर्दा पनि जनावरबाट बाली जोगाउन सहयोग पुगेको उनको भनाइ छ ।

कलम र कोदालो दुवै सम्हाल्दै अघि बढिरहेका शिक्षक सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषि कर्मलाई सम्मानजनक र सम्भावनायुक्त पेसाका रूपमा परिभाषित गरेका छन् । उनको जीवन यात्रा आजका युवाका लागि स्पष्ट सन्देश हो ‘सम्भावना विदेशमा मात्रै होइन, आफ्नै माटोमा पनि प्रशस्त छ ।’ (रासस)

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १० : ०९ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट