काठमाडौं– बलिउडकी सशक्त अभिनेत्री रानी मुखर्जी फेरि आफ्नो चर्चित भूमिका शिवानी शिवाजी रोयका रूपमा दर्शकमाझ फर्किँदैछिन् । क्राइम–थ्रिलर फ्रेन्चाइज ‘मर्दानी ३’ को हालै सार्वजनिक ट्रेलरले फिल्म अझै गम्भीर, डर लाग्दो र भावनात्मक हुने संकेत गरेको छ ।
यस पटकको कथाले देशभर रहस्यमय रूपमा हराइरहेका किशोरीहरूको मुद्दालाई केन्द्रमा राखेको छ । न्यायका लागि कुनै पनि हद पार गर्न तयार निडर प्रहरीको रूपमा शिवानीको संघर्ष ट्रेलरभर देख्न सकिन्छ । कडा भिडन्त, तनावपूर्ण अनुसन्धान र भावनात्मक दृश्यहरूले फिल्मलाई थप प्रभावशाली बनाएको छ ।
अघिल्ला भागहरूमा मानव बेचबिखन र हिंसाजस्ता सामाजिक विषय उठाएको ‘मर्दानी’ सिरिजले यस पटक पनि समाजको संवेदनशील सत्यलाई पर्दामा उतारेको छ । महिला केन्द्रित थ्रिलरको रूपमा यो फ्रेन्चाइजले हिन्दी सिनेमामा छुट्टै पहिचान बनाइसकेको छ ।
फिल्मको निर्देशन अभिराज मिनावालाले गरेका हुन् भने आदित्य चोपडाको निर्माणमा यशराज फिल्म्सले निर्माण गरेको हो । निर्माताले फिल्मको रिलिज मिति अघि सार्दै जनवरी ३०, २०२६ मा सिनेमाघरमा ल्याउने घोषणा गरेका छन् ।
ट्रेलर सार्वजनिक भएसँगै रानी मुखर्जीको सशक्त अभिनय र गम्भीर कथावस्तुलाई लिएर दर्शकबीच उत्साह बढेको छ । सामाजिक सन्देश, कडा यथार्थ र दमदार अभिनयको संयोजनका कारण ‘मर्दानी ३’ २०२६ को प्रतिक्षित मनोरञ्जनात्मक फिल्ममध्ये एक बन्ने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया