काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टी (नकपा) प्रवेश गरेका छन् ।
सुवेदीलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगलबार हात्तीवनस्थित निवासमा केही नेताहरुको उपस्थितिमा पार्टीमा स्वागत गरे ।
सुवेदी ०७१ सालमा मोहन वैद्य नेतृत्वमा तत्कालीन नेकपा माओवादी विभाजित भएदेखि नै विप्लवसँग नजिक रहेर काम गर्दै आएका थिए । रोल्पा निवासी उनी राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीका छोरा हुन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा विप्लवले रोल्पाबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी महासचिवसमेत रहेका विप्लव चुनाव लड्ने तयारीमा रहेका बेला सुवेदी नेकपामा प्रवेश गरेका हुन् । सुवेदीले निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका नेता एवंपूर्वअर्थमन्त्री वर्षमान पुनलाई सघाउन मुलघरमा फर्किएको बताए ।
पुनसँग चुनावी प्रतिस्पर्धामा नउत्रन आफूहरूले गरेको आग्रह अस्वीकार गरेको र जिल्लाको विकासका लागि पुनको जित आवश्यक रहेकाले आफूले विप्लवको साथ छाडेको सुवेदी बताउँछन् ।
‘उहाँहरू दुई जना एकै क्षेत्रबाट चुनाव लड्नु हुँदैन भन्ने हाम्रो आग्रह हो । विप्लव कमरेडलाई धेरै पटक आग्रह गर्दा पनि मान्नुभएन’, सुवेदीले भने, ‘जिल्लाको विकासका लागि विप्लवभन्दा अनन्त कमरेडको आवश्यकता छ भन्ने आम कार्यकर्ताको बुझाई भएकाले मूल घरमा फर्कने निधो गरेँ ।’
पार्टी प्रवेश कार्यक्रममा नेता पुनका साथै सुवेदीका पिता झक्कुप्रसाद पनि सहभागी थिए । ०७४ र ०७९ मा रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित पुन आगामी निर्वाचनमा पनि उम्मेदवार बन्ने तयारीमा छन् ।













प्रतिक्रिया