महाराजगञ्जको दृश्य : पूर्णबहादुर बोल्दै गर्दा घोसेमुन्टो लगाएर सुनिरहे शेरबहादुर देउवा « Khabarhub

महाराजगञ्जको दृश्य : पूर्णबहादुर बोल्दै गर्दा घोसेमुन्टो लगाएर सुनिरहे शेरबहादुर देउवा


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा बलियो पकड राखेका थिए ।

७० प्रतिशतभन्दा धेरै केन्द्रीय कार्यसमिति सदस्य आफ्नो पक्षमा कायम राखेर पार्टीमा एकछत्र शासन गरिरहेका देउवालाई महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले अप्रत्यासिहत धक्का दिएका छन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास बूढानीलकण्ठमै पत्नी डा. आरजु राणा देउवासहित नराम्रोसँग कुटिएका उनी शारीरिक रुपमा पनि गलेका छन् ।

भदौ २४ गते आपराधिक जत्थाबाट कुटाइ खाएका उनी काठमाडौं र सिंगापुरमा लामो उपचारपछि तंग्रिएका छन् । ८० वर्ष पुग्न लागेका उनले अहिले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका छन् ।

जेन-जी आन्दोलनपछि नेतृत्व छाड्न चर्को दबाब खेपेका उनको अनुपस्थितिमा बसेको केन्द्रीय कार्यसमिति बैठक नै ४९ दिनसम्म चल्यो । जुन बैठक मंसिर १५ गते टुंगिँदा पुस २६ गतेदेखि पन्ध्रौँ महाधिवेशनको निर्णय गरेको थियो ।

तर पुस १५ मा पालिका र क्षेत्रको अधिवेशन सक्ने समय भइसक्दा पनि महाधिवेशन हुने छाँट देखिएन । त्यसपछि नियमित महाधिवेशन हुने सम्भावना सकिएको भन्दै महामन्त्रीद्वयले पुस २६ देखि विशेष महाधिवेशनको घोषणा गरे ।

तर उक्त विशेष महाधिवेशनलाई रोक्न देउवाले कार्यवाहक सभापति र नेता शेखर कोइरालासहितलाई लगाएर सक्दो कोसिस गरे ।

उनको कोसिसले काम गरेन। पुस २६ देखि विशेष महाधिवेशन सुरू भयो । महामन्त्रीद्वयले विशेष महाधिवेशन गरे पनि बहुमत जुटाउन नसक्ने देउवा पक्षको अनुमान थियो।

तर ठिक उल्टो दृश्य भृकुटीमण्डपमा देखियो । सोमबार साँझ विशेष महाधिवेशनका मिडिया संयोजक सुवास पोखरेलले सार्वजनिक गरेको विवरण अनुसार ६३ प्रतिशत महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमा जम्मा भएका छन् ।

यस्तोमा देउवामाथि पार्टी फुटाएको कलंक दोस्रो पटक भोग्नुपर्ने तनावबाट जोगिने उपाय चाहिएको छ। यो तनावबीच गगन-विश्वले सहमतिका लागि राखेका शर्तमध्ये तेस्रो कठोर छ ।

उनीहरूले सभापति देउवाले पदबाट राजीनामा दिनुपर्ने कडा शर्त राखेका छन्। यदि राजीनामा दिन तयार नभए सक्रिय राजनीति छोडेको औपचारिक घोषणा गर्नुपर्ने विकल्प उनीहरूले दिएका छन्।

त्यो पनि सम्भव नभए अन्तिम विकल्पका रूपमा आगामी निर्वाचनमा टिकट वितरण गर्दा सभापतिका रुपमा देउवाले हस्ताक्षर नगर्ने निर्णय गर्नुपर्ने अडानबाट उनीहरू पछि हटेका छैनन् ।

यदि देउवाले यति नगर्ने भए विशेष महाधिवेशनको बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेर अघि बढ्ने अडान गगन-विश्वको छ । विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि जुटाएर देउवाको वैधानिकतामै प्रश्न उठाइसक्दा पनि उनी अनिर्णित छन् ।

बरू विदेशी शक्तिले परिचालन गरेका भरमा आफ्नो राजीनामा मागिएको भए कुनै हालतमा पछि नहट्ने अडान उनले राखिरहेका छन् । उनको यो अडानबीच मंगलबार बिहान भएको पहिलो चरणको त्रिपक्षीय वार्तामा सहमति जुट्न सकेन ।

उक्त वार्ताकै समयमा देउवा निवास महाराजगञ्जमा उनीनिकट दर्जनौँ नेता जम्मा भए । जहाँ कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सम्बोधन गरिरहेका छन् ।

नजिकै बसेका देउवा घोसेमुन्टो लगाएर खड्काको कुरा सुनिरहेका छन् । देउवा निवासबाट सार्वजनिक उक्त तस्बिरमा उनीसहित सबैजसो नेता उदास र तनावपूर्ण रहेको देख्न सकिन्छ।

महाराजगञ्जमा गम्भीर मुद्रामा देखिएका नेताहरूमा देउवानिकट नै छन् । जहाँ डा. शशांक कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, कृष्णप्रसाद सिटौला, नैनसिंह महर, राजीवविक्रम शाह, रामहरि खतिवडा, दीपक खड्का, प्रकाशमान सिंह, मीन विश्वकर्मा र किशोरसिंह राठौर पनि देखिएका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : १६ बजे

चितवनका मतदाता फकाउँदै रवि भन्छन् : मसँग इमानबाहेक अरू केही पनि छैन

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि

हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुनेछ : प्रधानमन्त्री नेतन्याहू

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित

झापामा बालेन भन्दैछन् : विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउने भन्दै

प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौं – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त

महाशिवरात्रीमा थुप्रिएका फोहोरमैला सफा गर्न थाले सफाइकर्मी

काठमाडौं– महाशिवरात्रीको अवसरमा पशुपति नाथ क्षेत्रमा थुप्रिएको फोहोरमैला क्रिएसनद्धारा परिचालन गरिएका