काठमाडौं ४ का मतदाताको अनुभव : अहिले गगन थापाको लोकप्रियता मदन भण्डारीको जस्तै छ « Khabarhub

काठमाडौं ४ का मतदाताको अनुभव : अहिले गगन थापाको लोकप्रियता मदन भण्डारीको जस्तै छ

गिरिजाबाबुले अन्तर्घात गर्दा मदनले किसुनजीलाई हराए



काठमाडौं- २०६४ सालयताका निर्वाचनमा लगातार विजयी नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौं–४ छोडेर सर्लाही–४ ओर्लिएका छन् । २०७९ मै उनी सर्लाही जान चाहेका थिए । तर, त्यसबेला सभापति शेरबहादुर देउवाले डा. स्वर्णिम वाग्लेलाई टिकट दिन मानेनन् ।

देउवाले काठमाडौं ४ मा नैनसिंह महरलाई टिकट दिन खोजेपछि रोकिएर जितेका गगन यस पटक भने मधेश झरेका छन् । अहिले काठमाडौं ४ मा आफ्नै कार्यकर्तासमेत रहेका युवा नेता सचिन तिमल्सिनालाई आफ्नो विरासत जोगाउने जिम्मेवारी दिएका छन् ।

थापा सर्लाही झरेपछि अन्तिम समयमा नेकपा एमालेका डा. राजन भट्टराई काठमाडौं ४ मा फेरि खडा भएका छन् । भट्टराई यसअघि थापासँग २ पटक पराजित भइसकेका छन् । सचिनका मुख्य प्रतिस्पर्धीका रुपमा उनै भट्टराईलाई हेरिएको छ ।

पटक–पटक पराजित हुँदा पनि हार नमानेका भट्टराई यस पटक जित्ने योजनामा छन् । तर गगनको प्रशिक्षणमा हुर्किएका सचिन पनि युवा जोशसहित मैदानमा छन् । तिमल्सिनाले उक्त क्षेत्रमा कांग्रेसको विरासत जेगाउन कडै मिहिनेत गर्नुपर्ने अवस्था छ ।

अर्कोतर्फ २०७९ सालको प्रतिनिधि सभा निर्वाचनदेखि वैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमको दबाब पनि यहाँ छ।

खबरहबकर्मी उक्त क्षेत्रको रिर्पोटिङका क्रममा जाँदा बूढानीलकण्ठ–८ मा मतदाता यादवप्रसाद शर्मा भेटिए । नेपाल बैंकका सेवानिवृत्त कर्मचारी उनले यहाँ २०४८ सालदेखि नेपाली कांग्रेसलाई मत हाल्दै आएका छन् ।

मतदातासँग गगनकुमार थापाको लगाव, सामिप्यता र उनको वैचारिक क्षमताका कारण स्थानीय तहमा रहेको एमालेको पकड तोडेर उनी निर्वाचित हुने गरेको शर्माले बताए ।

थापाको छिमेकीका रुपमा १५ वर्ष बिताएका उनले पारिवारिक पृष्ठभूमिसँगै २०४८ सालदेखि कांग्रेसमा भएका परिवर्तनबारे यसरी सुनाए :

हामीले ४ पटकसम्म मत दिएर जिताएका गगन थापा चुनावी प्रचार गर्दा हरेक टोल–टोलमा आउने गर्थे । साँझको समयमा घरघरै पुग्ने गर्थे। मान्छे जम्मा गरेर कुरा राख्ने र सुन्ने गर्थे । मचाहिँ कांग्रेसमा किन बढी आकर्षित भएँ भन्दा हाम्रो रगतमै कांग्रेस थियो । अनि दोस्रोचाहिँ काठमाडौं आइसकेपछि गगन थापा ज्ञानेश्वरको जुन टोलमा बस्ने गर्थे, म पनि १४/१५ वर्ष त्यहीँ बसेँ ।

गगनका बुवा सरकारी इञ्जिनियर हुनुहुन्थ्यो । गगन मात्रै होइन, उहाँका दाइभाइ सबै तीक्ष्ण दिमागका छन् । गगन तीन दाजुभाइमध्ये माइला, उनका दाइभाइ दुवै विदेशमा छन् । गगनका दाजु इञ्जिनियरिङ पढ्न छात्रवृत्तिमा जर्मनी गए । अहिले अमेरिका बस्छन् । भाइ पनि त्यस्तै ट्यालेन्ट । इन्जिनियर बुवाले दाइभाइ दुवैलाई विज्ञान विषय पढाए । तर गगनले राजनीतिक शाास्त्र अध्ययन गर्न खोज्दा बुवाले स्वीकारेनन् ।

राजनीतिशास्त्र पढ्ने भए एक पैसा घरबाट पाउँदैनस् भन्नुभयो । घरबाट पैसा नपाउने भएपछि गगनले १० पासलगत्तै बिहान बेलुका ट्यूसन पढाएर राजनीतिशस्त्र पढ्न थाले । त्यसपछि मिडियातिर केही समय काम गरेको थाहा छ । केही समयपछि यसरी हुँदैन भन्ने लागेकाले बल्ल विज्ञान संकायमा पढ्न त्रिचन्द्रमा भर्ना भए । घरबाट आर्थिक सहयोग पनि मिल्यो । गगन पार्टीमा मात्रै होइन, परिवारमा पनि अडान लिन सक्ने स्वभावका थिए । सत्यमा विद्रोह गर्ने सानैदेखिको स्वभाव हो ।

यसरी अध्ययनसँगै राजनीतिमा सक्रिय हुँदै गएका उनीसँग नेपाल टेलिभिजनले त्यसबेला अन्तवार्ता लिएको थियो । त्यो अन्तवार्ता हेरिकेपछि म उनको विचारले प्रभावित भएँ । पछि केहीले उनलाई विवादमा पनि ल्याए । तर मैले उनलाई नजिकबाट चिनेकाले गगन त्यसरी विवादमा आउने मान्छे होइनन् जस्तो लाग्छ । जनता र राज्यलाई बाधा पुर्‍याउने नियत उनमा छैन ।

मैले २०६४ सालमा प्रत्क्षमा सुप्रभा घिमिरे र समानुपातिकमा गगनलाई भोट हालेँ । दुवैजनाको जित पनि भयो । त्यसपछि मैले भोट बदलेको छैन । लगातार कांग्रेसलाई नै भोट हाल्ने गरेको छु ।

डा. स्वर्णिम वाग्लेलाई काठमाडौं–४ दिएर गगन सर्लाही जाने कुरा ०७९ सालको निर्वाचनमै भएको थियो । तर सभापति शेरबहादुर देउवाले वाग्लेको ठाउँमा आफुनिनकट नैनसिंह महरलाई उठाउने शर्त राखेपछि त्यसबेला सर्लाही नगएका हुन् ।

हाम्रो यो क्षेत्रका पालिकामा एमालेको वर्चस्व छ । उहाँहरूले पनि रुखमा मत दिएकाले गगनलाई जित्न सहज भएको थियो । यो क्षेत्रमा अहिले बाटो र खानेपानीका सामान्य समस्या मात्रै छन् ।

म ज्ञानेश्वर बस्दा ०४८ सालमा कृष्णप्रसाद भट्टराईलाई भोट दिएको हुँ, चाबहिल गएर । त्यस निर्वाचनमा कृष्णप्रसादलाई नजिताएर आफू प्रधानमन्त्री बन्ने दाउमा गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु)ले अन्तर्घात गर्दादेखि नै पार्टीमा लय बिग्रिएको हो ।

मैले बुझेअनुसार गल्ती गिरिजाबाबुले गरेका हुन् । त्यहीकारण प्रतिस्पर्धी एमालेका मदन भण्डारीले जित निकाले । त्यसबेला देशैभर अन्तर्घात हुँदा पनि कांग्रेस पहिलो पार्टी बनेको थियो ।

त्यतिखेर मदन भण्डारीले राजालाई चुनौती दिँदै गरेको भाषण मेरै आँखा र कानले सुनेको हो । त्यसबेला मदन भण्डारी कुशल वक्ताका रुपमा लोकप्रिय हुनुहुन्थ्यो । उहाँको भाषण सुन्न मान्छे उर्लिएर आउँथे । उहाँको निधनपश्चात् बढी देवत्वकरण गरियो । उहाँको जस्तो क्रेज अहिले गगनमा पनि देखिएको छ ।

भाइरलभन्दा विचारको राजनीति खोज्नेले गगनलाई पक्कै मन पराएको हुनुपर्छ । मैले बुझेको कांग्रेसलाई २०४८ सालपछि नपुग केही थिएन । ०४८ सालको आमचुनावपछि कांग्रेसले ५ वर्ष सरकार चलाउन सकेन ।

त्यसपछि ०५१ मा मध्यावधि निर्वाचन भयो । तर कुनै दलसँग बहुमत थिएन । जसकारण कांग्रेस–राप्रपाको साझेदारीमा सरकार गठन भयो । तर एमालेको अल्पमतको सरकार ढालेर संसदीय दलका नेता शेरबहादुर देउवा गठबन्धनका प्रधानमन्त्री बने । तर गठबन्धन र पार्टीभित्रको कलहले त्यो सरकार पनि टिकेन, ०५३ मा ढल्यो । त्यसबेला ५ वर्षमा ६ वटा सरकार बने । लाजलाग्दो अवस्था थियो । कांग्रेस आन्तरिक द्वन्द्वमा थियो ।

त्यसपछि ०५६ सालमा कृष्णप्रसादलाई मोहरा बनाएर चुनावमा गएकै हो । उनलाई भावी प्रधानमन्त्री घोषणा गरियो । भट्टराईको आडमा कांग्रेसले बहुमत त पायो, तर ५ वर्षसम्म सरकार टिकेन ।

त्यस समय माओवादी द्वन्द्व भएकाले पनि समस्या भयो । भट्टराई प्रधानमन्त्री बने, ५ वर्ष सरकारमै रहने वाचा पनि गरे । गिरिजाबाबुको नेतृतवमा प्रधानमन्त्री बनेका उनकै कारण राजीनामा दिनुपर्ने अवस्थामा पुगे । १० महिनाजति पछि राजीनामा दिए ।

देउवाको कार्यकाल त एकदम दुःखद देख्छु म । आफूलाई कहिल्यै हेरेनन्, आफ्नो वरपरका मान्छेबाट निर्णय र प्रभाव गराइराखे । अहिले अधिवेशन नगरेको भए त कांग्रेस पनि सकिन्थ्यो होला । अब त कांग्रेस एक नम्बरको पार्टी भएर आउँछ जस्तो लाग्छ । निश्चित रुपमा कांग्रेसको मत बढ्छ ।

रास्वपा नयाँ भनेर के गर्नु एक दुई जनाबाहेक राम्रा मान्छे नै उम्मेदवार बनेनन् । तिनै एकदुई जनाको भरमा देशमा माहोल ल्याउन खोजेको देखिएको छ । तर जुनसुकै ठाउँका लागि त्यही ठाउँको उम्मेदवार असल चाहिन्छ ।

रास्वपा सभापति रवि लामिछानेका आफ्नै दाजु हरिशरण लामिछाने नै उनीसँग असन्तुष्ट छन् । उहाँको पारिवारिक छवि राम्रो देखिएन । सहकारी ठगी आरोप पनि उहाँमाथि छ । निर्वाचित बने पनि सदनमा बस्न पाउने नपाउने ठेगान छैन ।

जो कोही पनि वैचारिक हुन कि अध्ययन हुनुपर्छ त्यो नभए अनुभव । रास्वपा सभापतिमा त ती दुवै कुरा देखिएन । त्यसैले धेरै विवदित बने । उसो त गिरिजाबाबुको हकमा पनि अध्ययनको कमीले सुरुसुरुमा समस्या भएको थियो, तर पछि उहाँ अनुभवबाट खारिँदै जानुभयो । ०६२/०६३ को आन्दोलनपछि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन विस्तृत शान्ति सम्झौतामा मुख्य भूमिका खेल्नुभयो ।

देउवाले वरपरको मान्छेको दिमागमा नलागेर जुनबेला कार्यवाहक छाडेर उपचारका लागि स्वीजरल्याड गएका थिए । त्यसपछि फर्किएर महामन्त्रीको कुरा सुन्नु पथ्र्यो । समयमै महाधिवेशन गराइदिएको भए राम्रो हुन्थ्यो । तर पनि, जे भयो राम्रो भएको छ । अब अन्तर्घात नगरेर निर्वाचनमा बढीभन्दा बढी सिट जित्न एकढिक्का भएर लाग्नुपर्छ लाग्नेछन् भन्ने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ५ : १२ बजे

झापा ५ मा एकै पटक सयौं एमाले कार्यकर्ता जनताका घरघरमा

झापा – नेकपा एमालेले आजदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५

सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता

जेनेभा – यस वर्ष पाकिस्तान र इरानबाट करिब एक लाख

बंगलादेशमा जेन-जी पत्तासाफ, नेपालमा के होला ?

काठमाडौं- बंगलादेशको चुनावमा जेन-जी नेतृत्व पत्तासाप भएको छ । सन्

टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो

काठमाडौं- आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा