काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषणको स्तर उल्लेख्य रूपमा बढेको छ । ‘आईक्यू एयर’को सूचीअनुसार केही दिनदेखि काठमाडौँ पहिलो, दोस्रो र तेस्रो स्थानमा पर्दै आएको छ ।
नेपाल सरकारले तोकेको मापदण्डअनुसार २०१ देखि ३०० सम्मको एक्यूआईलाई ‘धेरै अस्वस्थकर’ तह मानिन्छ। यो तहको प्रदूषणले सबै उमेर समूहका मानिसको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने विज्ञहरू बताउँछन् ।
१५० एक्यूआई नाघ्नुलाई नै अस्वस्थकर मानिनेमा काठमाडौँको वायु प्रदूषणको स्तर त्योभन्दा निकै माथि पुगिरहेको छ, जसका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको चिकित्सक बताउँछन् ।
चिकित्सकका अनुसार वायु प्रदूषणको सबैभन्दा ठुलो असर फोक्सोमा पर्छ । राष्ट्रिय क्षयरोग केन्द्रका प्रमुख कन्सल्टेन्ट चेस्ट फिजिसियन डा. नवीन प्रकाश शाह भन्छन्, “प्रदूषित हावा सासमार्फत शरीरभित्र पुगेपछि खोकी लाग्ने, रुघाखोकी बढ्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन सक्छन् ।”
प्रदूषणका कारण घाँटी दुख्ने, कफ बढ्ने, कफको रङ पहेँलो वा बाक्लो हुने तथा विभिन्न प्रकारका सङ्क्रमण हुने जोखिम पनि बढ्ने डा. शाहको भनाइ छ ।
विशेषगरी दमका बिरामीमा समस्या अझै बढ्ने सम्भावना रहन्छ । प्रदूषणका कारण घाँटी दुख्ने, कफ बढ्ने, कफको रङ पहेँलो वा बाक्लो हुने तथा विभिन्न प्रकारका सङ्क्रमण हुने जोखिम पनि बढ्ने डा. शाहको भनाइ छ ।
उनका अनुसार फोक्सो मात्र होइन, वायु प्रदूषणले शरीरका अन्य अङ्गलाई पनि असर गर्छ । मुटु र मस्तिष्कमा समेत यसको नकारात्मक प्रभाव पर्ने उनले बताए । लामो समयसम्म प्रदूषित वातावरणमा बस्दा मुटुसम्बन्धी समस्या बढ्ने तथा शरीरको समग्र स्वास्थ्यमा असर पर्ने सम्भावना हुन्छ ।
अहिले अस्पतालमा रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको चिकित्सकहरूले बताएका छन् । यो समय प्रदूषणको मौसमका साथै विभिन्न भाइरल सङ्क्रमण पनि सक्रिय भएकाले बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको उनीहरूको भनाइ छ ।
डा. शाहका अनुसार अहिले रुघाखोकीका बिरामी पहिलेको तुलनामा झन्डै दुई गुणासम्म बढेका छन् । वायु प्रदूषणले तत्काल मात्र होइन, लामो समयसम्म प्रदूषणमा बस्दा दमजस्ता दीर्घ रोग लाग्ने सम्भावना बढ्छ । त्यस्तै गम्भीर अवस्थामा फोक्सोसम्बन्धी क्यान्सर हुने जोखिम पनि रहने डा. शाहले बताए ।
प्रदूषणकै कारण आँखा चिलाउने, आँखा पोल्ने, आँखा रातो हुने तथा आँखा दुख्ने जस्ता समस्या पनि बढिरहेको चिकित्सक बताउँछन्।
वायु प्रदूषणबाट बच्न प्रदूषण भएको बेला सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे मास्क प्रयोग गर्नुपर्ने र विशेषगरी बिहान र बेलुकाको समयमा बाहिरको गतिविधि कम गर्नुपर्ने डा. शाहको सुझाव छ ।
बिहान र बेलुका प्रदूषणको मात्रा जमिनको सतह नजिक बढी हुने भएकाले त्यतिबेला हिँडडुल गर्नु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ । त्यसैले अहिलेको अवस्थामा ‘मर्निङ वाक’ वा बेलुकाको हिँडडुल केही समयका लागि रोक्नु राम्रो हुने उनको सुझाव छ ।
त्यस्तै शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउनु, शरीरलाई हाइड्रेटेड राख्नु तथा व्यायाम गर्नुपरे घरभित्रै गर्नु राम्रो हुने उनले बताए । विशेषगरी बालबालिका र वृद्धवृद्धा प्रदूषणबाट सबैभन्दा बढी जोखिममा रहने समूह भएकाले उनीहरूलाई सकेसम्म घरभित्रै राख्ने र बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गराउने जस्ता सावधानी अपनाउन उनले सुझाव दिएका छन् । यसका साथै अहिले फ्लुको मौसम पनि भएकाले इन्फ्लुएन्जा विरुद्धको खोप लगाउने र आवश्यक सावधानी अपनाएमा वायु प्रदूषणका कारण हुने स्वास्थ्य समस्याबाट धेरै हदसम्म बच्न सकिने डा. शाहको भनाइ छ ।
वायु प्रदुषण तत्काल हट्ने सम्भवना छैन
वातावरण विज्ञका अनुसार अहिले मौसमको अवस्थाले गर्दा वायु प्रदूषण बढेको देखिएको हो । वातावरणविज्ञ प्रकाश केसी भन्छन्, “केही दिनदेखि आकाश धुम्म र बादल लागेको अवस्था छ, जसले गर्दा वायुमण्डलमा राम्रो हुन सकेको छैन ।”
सामान्य अवस्थामा एकातिरबाट प्रदूषण उत्सर्जन हुन्छ भने अर्कोतिर वर्षा, हावा वा अन्य प्रक्रियाले त्यसलाई वायुमण्डलबाट हटाउने काम गर्छ । तर अहिले हटाउने काम कम भएको छ, जसका कारण निस्किएको प्रदूषण वायुमण्डलमै भएको छ ।
सामान्य अवस्थामा एकातिरबाट प्रदूषण उत्सर्जन हुन्छ भने अर्कोतिर वर्षा, हावा वा अन्य प्रक्रियाले त्यसलाई वायुमण्डलबाट हटाउने काम गर्छ । तर अहिले हटाउने काम कम भएको छ, जसका कारण निस्किएको प्रदूषण वायुमण्डलमै जम्मा हुँदै गएको उनले बताए । त्यस्तै अर्को कारण क्षेत्रीय प्रभाव पनि रहेको केसी बताउँछन् । उनका अनुसार पश्चिमतिरबाट आएको हावाले प्रदूषणका कणहरू नेपाल, भारतको गङ्गा मैदान, बङ्गलादेश र पूर्वोत्तर भारततिर ल्याएर थुपारेको अवस्था देखिन्छ ।
प्रि-मनसुनको सङ्क्रमणकालमा वायु प्रदूषणको समस्या बर्सेनि देखिँदै आएको वातावरणविज्ञ केसी बताउँछन् । यसका अतिरिक्त केही मौसमी गतिविधिहरू पनि हुन्छन्, जस्तै वन डढेलो, इँटाभट्टाको सञ्चालन, कृषि अवशेष जलाउने र विकास-निर्माणका कामहरू बढ्ने । यी सबै कारणले प्रदूषणको मात्रा बढ्ने गरेको उनले बताए ।
यो काठमाडौँ उपत्यकाको मात्र समस्या नभई दक्षिण एसियाका धेरै सहरहरू पाकिस्तानको लाहोर, भारतको दिल्ली, उत्तर प्रदेश र बिहारका सहर तथा बङ्गलादेशको ढाकामा पनि यही समयमा वायु प्रदूषण अत्यधिक हुने गरेको केसीको भनाइ छ ।
नेपालमा वायु प्रदूषण घटाउन र हावाको गुणस्तर व्यवस्थापन सुदृढ बनाउन भन्दै सरकारले बुधबार मात्रै विश्व बैंकबाट सात अर्ब सात करोड २० लाख रुपैयाँ बराबरको ऋण सहयोग स्वीकृत गरेको छ ।
उक्त परियोजनाले मुख्यतः उद्योग क्षेत्रबाट हुने प्रदूषण घटाउन ध्यान दिने वातावरणविज्ञ केसी बताउँछन् । विशेषगरी कोइला, फर्नेस आयल, दाउरा वा धानको भुस प्रयोग गरेर चलाइने उद्योगका बोयलरहरूलाई क्रमशः स्वच्छ ऊर्जामा रूपान्तरण गर्ने लक्ष्य राखिएको उनले बताए ।
नेपालको विद्युत् उत्पादन धेरैजसो स्वच्छ स्रोतबाट हुने भएकाले उद्योगमा विद्युतीय बोयलर प्रयोग बढेमा वायु प्रदूषण घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
वायु प्रदूषण घट्ने-बढ्ने कुरा मौसममा भर पर्ने भएकाले वर्षा भयो वा हावा चलेको खण्डमा प्रदूषण केही घट्न सक्छ । तर यदि बादल लागेको अवस्था रहिरह्यो र हावा नचल्ने स्थिति भयो भने प्रदूषण केही समय अझै रहन सक्ने मौसमविद् बताउँछन् । त्यसैले अहिलेको अवस्थामा व्यक्तिगत र संस्थागत दुवै तहबाट सावधानी अपनाउनु आवश्यक रहेको वातावरणविज्ञ केसी बताउँछन् ।
स-सानो गतिविधिले पनि जब धेरै मानिसले गर्छन्, त्यसको सामूहिक प्रभाव ठुलो हुने भएकाले वायु प्रदूषण नियन्त्रणका लागि सरकार, उद्योग, संस्थान र सर्वसाधारण सबैको संयुक्त प्रयास आवश्यक हुने केसीले बताए ।













प्रतिक्रिया