लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाएन सुध्रिने संकेत « Khabarhub

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाएन सुध्रिने संकेत

आफूले जितेपछि प्रचण्ड ढुक्क, नछोड्ने पक्षमा ओली


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा कार्यकर्ताहरूले गम्भीर चिन्ता प्रकट गर्न थालेका छन् ।

उनीहरूले सामाजिक सञ्जालमार्फत् भविष्यबारे चिन्ता जनाउँदै विभिन्न विकल्पसहित आफ्नो धारणा राखिरहेका छन् । तर, दुवै पार्टीको नेतृत्व तह रूपान्तरण र पुस्तान्तरणबारे तयार भएको कुनै गुञ्जायस छैन ।

ओली हटाउने अर्को प्रयास

एमालेको ११औँ महाधिवेशनमा केही ध्रुवीकृत भएको एमाले निर्वाचनमा भएको सर्मनाक पराजयसँगै थप ध्रुवीकरणको दिशामा अघि बढ्ने संकेत देखाएको छ ।

अहिले एमालेमा केन्द्रको नेतृत्व तहमा रहका नेतादेखि तलसम्मका कार्यकर्ताले हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

उपाध्यक्ष विष्णु पौडेल, पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराई, किरण गुरुङ लगायतका नेतृत्वले हारको समीक्षा हुनुपर्ने र नेतृत्वले जिम्मेवारी लिनुपर्ने अभिव्यक्ति दिएका छन् ।

उपमहासचिव भट्टराईले एक टेलिभिजनसँग कुराकानी गर्दै अध्यक्ष ओलीले अब नेतृत्व छाड्नुपर्ने र नछाडे निर्मम निर्णय गर्ने समेत बताएका छन् ।

‘प्लिज अब बल नगर्नुस, छोडिदिनुस, जति गर्नुभो गर्नुभो, यसको जसअपजस हामी लिउँला बरु, भोलि यो पार्टी सिद्दिएछ भने हामी सिद्द्यायौँ भनौँला नि बरू, केपी ओलीले सिद्द्याएको किन भन्ने, त्यतिबेला केपी ओली रहेको भए अलिकति बाँच्थ्यो कि भन्ने आशा पनि छोड्दिउँ न उहाँलाई नै’, भन्दै नेतृत्वले मानेन भने भन्ने प्रश्नमा उपमहासचिव भट्टराई भन्छन्, ‘मानेन भने पार्टी आन्दोलन बचाउन केही अप्रिय कदमहरू पनि चाल्नुपर्ने हुनसक्छ ।’

एमालेका थुप्रै तहका कार्यकर्ताले सामाजिक सञ्जालमार्फत् नेतृत्व असफल भएको भन्दै परिवर्तनको हुनुपर्ने माग गरेको देखिन्छ ।

तर, निर्वाचन नतिजापछि अध्यक्ष केपी ओलीको पक्षधर भने उनको बचाउ गर्दै प्रस्तुत भएको छ भने ठूलो पङ्ती मौन बसेको छ । बिहीबार फेसबुकमा लेख्दै अध्यक्ष ओली खेमामा रहेका शंकर पोखरेलले केही मिडियामार्फत् पार्टी नेताहरूको नाममा मिडिया ट्रायल भइरहेको र भ्रममा नपर्न पार्टी पङ्तिलाई अनुरोध गरेका छन् ।

‘पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडियामार्फत् पार्टी नेताहरूको नाममा भइरहेको मिडिया ट्रायल र फैल्याइएका भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध गर्दछु’, महासचिव पोखरेलले लेखेका छन् ।

पोखरेलको स्टाटसले विशेषगरी ओली नेतृत्वमाथि प्रश्न उठाउन नचाहेको स्पष्ट देखिन्छ । पोखरेलको स्टाटसमा नै पार्टीको तेस्रो पङ्तीका कार्यकर्ताहरू आफूलाई ध्रुवीकृत गरेर प्रस्तुत भएको देखिएको छ ।

आफू खुसी छन् प्रचण्ड, विगतसँग मतलब छैन

झण्डै चार दशकदेखि पार्टी नेतृत्वमा रहेका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुहारमा पार्टीको सर्मनाक हारको बाछिटा परेको देखिँदैन ।

१६४ निर्वाचन क्षेत्रमध्ये १५६ ठाउँबाट पार्टीले हार्दैगर्दा थोरै मतदाता र युद्धकालदेखिको वर्चस्व जोगिएको रुकुमपूर्वबाट आफूले जित निकाल्दा उनले विजय जुलुस निकाले । उनले उक्त जुलुसलाई सम्बोधन गर्दा आत्माआलोचनासमेत गरेनन्, बरू जित्न सफल भएकोमा आफूलाई सिंहको दर्जा दिए ।

१० वर्षे सशस्त्र युद्ध हुँदै ०६४ सालको पहिलो संविधानसभामा भाग लिँदा प्रत्यक्षतर्फ १२० सिट ल्याएको तत्कालीन माओवादी ०७० सालको दोस्रो निर्वाचनमा २६ सिटमा खुम्चियो । त्यसयताका निर्वाचनमा निरन्तर ओरालो लाग्दै आएर प्रचण्ड नेतृत्वको नेकपा प्रत्यक्षमा १६ सिटमा खुम्चिएको छ ।

यो निर्वाचनले तत्कालीन माओवादीको बलियो आधार रहेको कर्णालीमा नेकपालाई धक्का लागेको छ । हाल नेकपाको जितको सम्भावना रहेको कर्णाली प्रदेशमा अहिले कांग्रेस बलियो भएर आएको छ ।

नेकपा अन्य प्रदेशका जिल्लामा पनि संकटमा पुगेको छ । आफ्नो अवस्थामा परिवर्तन नगरी यही स्थिति रहेमा आगामी निर्वाचनसम्म प्रचण्ड नेतृत्वको पार्टी सकिने अवस्थामा पुग्ने अनुमान गर्न सकिन्छ ।

तर, उनलाई पार्टी र आफ्नै नेतृत्वमा स्थापित इतिहास जगोउनुपर्छ भन्ने लागेको देखिँदैन । जसले गर्दा पनि उनको पार्टी अहिले संकटमा परेको छ ।

गोरखा क्षेत्र नम्बर २ मा हारेपछि नेकपाका नेता लेखनाथ न्यौपानेले एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै प्रचण्डले एकपटक जितेको ठाउँमा अर्कोपटक पार्टीको उम्मेदवारले जित्न नसकेको टिप्पणी गरेका छन् ।

फेरि कम्युनिस्ट एकता

ठूला दुई कम्युनिस्ट पार्टीको निर्वाचनमा सर्मनाक हार भएपछि फेरि एकताको गीत बज्न थालेको छ। साना कम्युनिष्ट पार्टीहरू आगामी संसद् बाहिर नै पर्ने अवस्था सिर्जना भएपछि नेता कार्यकर्ताले एकताको कुरा सार्वजनिक रूपमा उठाएका छन् ।

विशेषगरी दोस्रो, तेस्रो र तल्लो तहका कार्यकर्ताले त्यस्तो आवाज उठाएको देखिन्छ । यसकाा साथै, एमाले छाडेर पछिल्लो समयमा नेकपा संयुक्तको नेतृत्व तहमा रहेका घनश्याम भुसालले पनि कम्युनिस्ट नासिने चिन्ता प्रकट गरेका छन् ।

भुसालले लेखेका छन्, ‘आफ्नो रूप हेरी-हेरी आफैँ हुन्छु दङ्ग हुँदै नार्सिसस्जस्तै सकिने त होइन ? वा नयाँ शक्ति र जीवनका साथ फिनिक्सझैँ अगाडि बढ्छ ?’

तर, पार्टी विभाजनपछि सानो टिममा रमाउँदै आएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी), वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी, विश्वभक्त दुलाल नेतृत्वको नेकपा वैज्ञानिक समाजवादी लगायतका दलहरूले चिन्ता प्रकट गरेको सुनिएको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ६ : १८ बजे

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौं– बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

एमाले अध्यक्ष ओलीलाई सान्तवना दिँदै बालेनले भने : पिताजस्तो रक्षक र गुरू कोही छैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीका बुवा

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

कटारी- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको

जनअनुमोदित यी अनुहार : वकिलदेखि व्यवसायीसम्मको संसद् यात्रा

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक