काठमाडौं- एम्नेस्टी इन्टरनेशनलले चीन सरकारलाई भूमि अधिकारकर्मी याङ लीलाई तत्काल आवश्यक चिकित्सा उपचारमा रोक नलगाउन आग्रह गरेको छ । बेइजिङमा चीनको वार्षिक ‘टु सेसन्स’ बैठक सुरु भएकै समयमा एम्नेस्टीले मानव अधिकार र स्वास्थ्यको अधिकारको गम्भीर उल्लंघन भइरहेको भन्दै ध्यानाकर्षण गराएको हो ।
भूमि अधिकारको पक्षमा वकालत गरेको कारण १५ महिना हिरासतमा बिताएकी ४६ वर्षीया याङ लीको मिर्गौला फेल भएर अवस्था अत्यन्तै नाजुक बनेको छ । उनको परिवारका अनुसार हिरासतमा रहँदा र रिहा भएपछि पनि उपचार नपाउँदा उनको स्वास्थ्य अवस्था अन्तिम चरणको मिर्गौला रोगसम्म पुगेको हो।
याङ लीले आफ्नो जीवन बचाउन आवश्यक डायलासिस उपचारका लागि बेइजिङ जान खोज्दा जियान्सु प्रान्तका प्रहरीले पटक-पटक अवरोध पुर्याउँदै उनलाई घरमै नजरबन्दमा राखेका छन् । एम्नेस्टी इन्टरनेशनलकी उपक्षेत्रीय निर्देशक सारा ब्रुक्सले एक गम्भीर बिरामी महिलालाई शान्तिपूर्ण वकालतको प्रतिशोधका रूपमा उपचारबाट वञ्चित गर्नु अमानवीय र चीनको अन्तर्राष्ट्रिय दायित्वको उल्लंघन भएको बताएकी छिन् ।
चीनका नेताहरू ‘टु सेसन्स’ बैठकमा जनताको जीवनस्तर सुधार्ने प्रतिबद्धता जनाइरहँदा याङ जस्ता अधिकारकर्मीलाई भने आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित गरिएकोमा मानव अधिकारवादीहरूले खेद प्रकट गरेका छन् । यसअघि सन् २०२४ अक्टोबरदेखि २०२५ डिसेम्बरसम्म हिरासतमा रहँदा उनले यातना भोगेको र अन्तर्राष्ट्रिय मापदण्ड (मण्डेला नियम) विपरित उपचार नपाएको आरोप छ।
सन् २०२६ फेब्रुअरीको सुरुमा संयुक्त राष्ट्र संघका मानव अधिकार विज्ञहरूले पनि उनलाई तत्काल चिकित्सा पहुँच दिन चीनलाई आग्रह गरेका थिए। फेब्रुअरी ११ मा बेइजिङको एक अस्पतालले उनलाई भर्ना गर्न सूचना जारी गरे पनि प्रहरीले उनलाई जबरजस्ती नियन्त्रणमा लिएर पुनः जियान्सु फर्काएको थियो।
चीनले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरे पनि आफ्नै देशका नागरिकको स्वास्थ्यको अधिकार रक्षा गर्न असफल भएको भन्दै एम्नेस्टीले याङलाई तुरुन्तै विश्वासिलो अस्पतालमा स्थानान्तरण गर्न माग गरेको छ।













प्रतिक्रिया