डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना « Khabarhub

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ । २०६१ सालमा स्थापना भएको पुस्तकालयले २०७३ सालदेखि सुदूरपश्चिमको परम्परागत जीवनशैली, रहनसहन र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यसहित सङ्ग्रहालयमार्फत पुराना सामग्री सङ्कलन र संरक्षण गर्ने काम सुरु गरेको हो ।

पछिल्लो समय ग्रामीण समाजमा प्रयोग हुँदै आएका परम्परागत सामग्रीहरू क्रमशः लोप हुँदै गएका छन् । बजारको विस्तार, आधुनिक जीवनशैलीको प्रभाव र नयाँ पुस्ताको बदलिँदो रुचिका कारण घरघरमा रहेका पुराना वस्तुहरू हराउँदै गएका छन् । यही अवस्थालाई मध्यनजर गर्दै पुस्तकालयले हराउँदै गएका सामग्रीहरू एकै ठाउँमा सुरक्षित राख्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरेको जानकारी पुस्तकालयका कार्यालय प्रमुख पुष्करबहादुर देउवाले दिए ।

उनका अनुसार सङ्ग्रहालय स्थापना गर्नुको मुख्य उद्देश्य पुर्खाहरूले प्रयोग गरेका सामग्रीहरू सुरक्षित राख्दै भावी पुस्तालाई आफ्नो मौलिक पहिचानसँग परिचित गराउनु हो । उनका अनुसार पुराना लुगा, गरगहना, दैनिक प्रयोगका सामग्री तथा परम्परागत हतियारहरू क्रमशः हराउँदै गइरहेकाले ती सामग्री सङ्कलन गरेर सङ्ग्रहालयमा राख्ने काम अघि बढाइएको छ ।

सङ्ग्रहालयमा हाल विभिन्न प्रकारका परम्परागत सामग्रीहरू राखिएका छन् । कृषिसँग सम्बन्धित हलो, जुवा, नाम्लो, दाम्लो जस्ता उपकरणहरूदेखि निगालो र बाँसबाट बनेका डालो, सुप्पो, भकारी जस्ता अन्न भण्डारणका सामग्रीहरू यहाँ समेटिएका छन् । यी सामग्रीहरूले पुरानो कृषि प्रणाली र ग्रामीण जीवनशैलीको झल्को दिन्छन् ।

त्यसैगरी, गुन्यूचोलो, पैसाको माला, अठन्नी–चौअन्नी जस्ता गहनाहरूले विगतको सामाजिक र सांस्कृतिक अवस्थालाई झल्काउने अमरगढी नगरपालिका–५ का कामदेव ओझाले बताए ।

विवाह संस्कारसँग सम्बन्धित डोली, जाँतो, ढिक्की तथा समय मापनका लागि प्रयोग हुने घडीपला जस्ता सामग्रीहरू पनि सङ्ग्रहालयमा राखिएको र तिनले पुरानो पुस्ताको जीवनशैलीबारे प्रत्यक्ष जानकारी दिने उनले उल्लेख गरे ।

सङ्ग्रहालय स्थापना गर्ने अवधारणा २०७३ सालमा अघि सारिएको र सुरुवाती चरणमा डिभिजन वन कार्यालयको सहयोगमा काम सुरु गरिएको पुस्तकालयका अध्यक्ष गजेन्द्र साहीले बताए ।

यसपछि अमरगढी नगरपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको र पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिबाट समेत केही सामग्री प्राप्त भई सङ्ग्रहालय थप समृद्ध बन्दै गएको उनले बताए ।

सङ्ग्रहालयका लागि सामग्री सङ्कलन गर्ने कार्य अझै जारी रहेको छ । साहीका अनुसार गाउँ–गाउँमा पुगेर पुराना सामग्री खोज्ने, आवश्यक परे मूल्य तिरेर ल्याउने तथा स्वेच्छिक रूपमा प्राप्त सामग्रीहरूलाई दाताको नामसहित सङ्ग्रहालयमा राख्ने अभ्यास गरिएको छ ।

यद्यपि, सामग्री सङ्कलनका क्रममा केही चुनौतीहरू पनि देखिएका छन् । देउवाले पछिल्लो समय व्यापारीहरूले स्टिल र प्लास्टिकका भाँडाकुँडासँग साटेर पुराना कासा र तामाका भाँडाहरू लैजाने प्रवृत्ति बढेकाले यस्ता सामग्रीहरू तीव्र रूपमा हराउँदै गएको बताएका छन् । यसले सङ्ग्रहालयका लागि आवश्यक सामग्री सङ्कलन गर्न झन् कठिन बनाउँदै लगेको उनको भनाइ छ ।

आगामी दिनमा अझ धेरै सामग्री संकलन गरी सङ्ग्रहालयलाई विस्तार गर्ने योजना रहेको उनले बताए । (रासस)

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १० : ४२ बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र