काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिका–९ भूलढोकाका सञ्जिव नेपालीले नेम्वाङ दाजुभाइको हत्या गरे । गलत नम्बरमा फोन गएकै कारण झापाको कमल गाउँपालिका–६ स्थायी घर भई ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङको इहलीला समाप्त भयो ।
उनीहरुमध्ये दाइ सुमितले एक जना मान्छेलाई फोन गरेका थिए । तर भूलवश उक्त फोन सञ्जीव नेपालीलाई गयो । मोबाइलमा आएको रङ नम्बरमार्फत उब्जिएको झगडा कृष्ण मन्दिर परिसरमा छुरा प्रहारसम्म पुग्यो । घटनास्थलको भिडियो हेर्दा विभत्स हत्या हुनुअघि नेपाली र नेम्वाङ दाजुभाइबीच हात हालाहाल भएको देखिन्छ ।
त्यसबेला नेम्वाङ दाजुभाइ नेपालीलाई मार्ने मनसायले कुटपिटमा उत्रिएको देखिन्छ । पाटन कृष्ण मन्दिर मानिसहरुको भिड हुने ठाउँ हो । तर उनीहरुको झगडा मिलाउन कोही तयार थिएनन् । मानिसहरुको भीड भिडियो खिच्नमै व्यस्त थियो ।
त्यस्तै, चैत २४ गते काठमाडौंको वसन्तपुरमा जेष्ठ नागरिकलाई एक युवकले दुर्व्यवहार गरेको भिडियो भाइरल भयो । चन्द्रागिरि नगरपालिका–१० घर भएका ४२ वर्षीय प्रकाश खत्रीले विगत ३७ वर्षदेखि ठमेलमा बस्दै आएका राम अवतार दासलाई अनुहारमा निर्घात कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । भिडियोमा सेक्युरिटी गार्ड देखिएका छन् । तर वृद्ध उमेरका दासलाई कुटपिट हुनबाट जोगाउन कुनै प्रयास गरेको देखिँदैन ।
प्रहरीका अनुसार खत्री पर्यटक गाइड हुन् । खत्रीले कुटपिट गरेका पीडित ज्येष्ठ नागरिक दास पनि गाइड नै हुन् । प्रहरीले खत्रीलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
दुवै जना गाइड भएको हुनाले उनीहरूबीच यसै पर्यटककै विषयमा विवाद भएको देखिन्छ । वसन्तपुर पनि मानिसहरुको बाक्लो जावतजावत हुने, ठूलो भिड लाग्ने ठाउँ हो । तर कसैले पनि वृद्धलाई जोगाउने प्रयास गरेको देखिएन ।
त्यसमाथि भिडियो खिच्ने व्यक्ति पनि घटना भइरहँदा रोक्ने कुनै प्रयास गरेको देखिन्न ।
केही दिन अगाडी दैलेखमा पनि एक युवकलाई मानिसहरुको भीडले लेखेटी–लेखेटी छुरा प्रहार गरेको छ । मुक्का र लात्तीबाट सुरु भएको लडाँइमा एक युवकले छुरा निकालेका छन् ।
त्यस भीडबाट एउटा आवाज आउँछ- ‘हान्दे त्यसलाई हान्दे’ । झगडा रोक्नेभन्दा बढी मानिसहरु भिडियो खिच्नमै केन्द्रित छन् । सामाजिक सञ्जालमा हालेर भाइरल बनाउन सबैलाई उत्कृष्ट भिडियो चाहिएको छ ।
माथिका यी प्रतिनिधि घटनाले हाम्रो समाजको कुरुपता झल्काउँछ । समाजशास्त्रीहरु यस्ता घटनाले नेपाली समाजबाट मानवीय संवेदना हराउँदै गएको प्रतित हुने बताउँछन् । समाजबाट आपसी भाइचाराको अस्तित्व मेटिँदै गएको टिप्पणी हुने गरेको छ ।
पहिले एउटाले गल्ती गर्दा अर्कोले सम्झाउने हुन्थ्यो । छिमेकीको दुखमा साथ दिने चलन थियो । मानिसहरु एक आपसमा झगडा गरे अरुले मिलाउने प्रयास गर्थे ।
तर, आजकाल समय फेरिएको छ । डिजिटल संस्कृति हावी हुँदै जाँदा सहयोग र सह अस्तित्वको भाव नष्ट हुँदै गएको देखिन्छ । मनमुटाव मिलाउन नभइ झगडालाई उग्र बनाएर भिडियो खिच्ने चलन सुरु भएको देखिन्छ । सामाजिक सञ्जालमा हिंसात्मक घटना देखाएर लाइक र भ्युजमा मानिसहरु रमाइरहेका छन् ।
भ्युजको लागि सामाजिक जिम्मेवारी बिर्सिएको समाज
कानूनविद् एवं समाजशास्त्री सविता प्रसाईं पछिल्लो समय मानिसहरुले सामाजिक जिम्मेवारी बिर्सिँदै गएको बताउँछिन् । खबरहबसँगको कुराकानीमा उनले भनिन्, ‘पहिले समुदायमा ‘हामी’ भन्ने भावना बलियो थियो । तर, अहिले ‘म र मेरो’ केन्द्रित सोच बढ्दै गएको छ । यस्तो भावनाले अरूको पीडाप्रति उदासीनता पैदा गर्छ ।’
‘आजकाल धेरैजसो मानिस मोबाइल निकालेर भिडियो खिच्नतिर लाग्छन् । फेसबुक, टिकटक र यूटुबजस्ता प्लेटफर्महरूले भ्युज, लाइक र शेयर लाई प्राथमिकता दिएका कारण मानिसलाई वास्तविक सहानुभूतिभन्दा कन्टेन्ट बनाउने मानसिकतामा धकेल्दैछ ।’ उनी भन्छिन्, ‘झगडा, दुर्घटनाजस्ता संवेदनशील घटनाहरूलाई पनि मानिसहरूले भाइरल कन्टेन्टका रूपमा हेर्न थालेका छन् । यो अत्यन्त दुखःद कुरा हो ।’
त्यसैगरी, बारम्बार हिंसा वा झगडाका भिडियोहरू हेर्दा मानिसहरू पनि विस्तारै त्यसैप्रति अभ्यस्त हुने प्रसाईंको बुझाइ छ । उनी भन्छिन्, ‘वास्तविक घटनामा पनि भावनात्मक प्रतिक्रिया कम देखिन्छ। यस्तै प्रवृत्ति रह्यो भने समाज अमानवीय र उदासीन बन्दै जाने जोखिम हुन्छ । मानिसको सहयोग र सहअस्तित्व कमजोर हुँदै जाँदा समाज दर्शकको रुपमा परिणत हुँदै जान्छ । जसले अरुको पीडा र समस्या हेर्छ तर सहयोगको लागि पाइला अघि बढाउँदैन ।’
यसको लागि चेतनाकै विकास गर्नु आवश्यक रहेको उनको भनाइ छ । तर, चेतनाको विकास व्यक्ति, परिवार, समाज वा राज्य कस्को जिम्मेवारी हो ? र कसरी गर्ने भन्नेतिर कसैको ध्यान नगएको उनले बताइन् ।
‘प्रविधि आफैँ खराब होइन । तर यसको प्रयोगले हाम्रो चरित्र देखाउँछ। समाजलाई सही दिशामा लैजान प्रत्येक व्यक्तिको सानो–सानो जिम्मेवार कदम महत्वपूर्ण हुन्छ । विद्यालय र परिवारमा नैतिक शिक्षाको अपरिहार्यता छ । साथै, मानवीयता पनि सिक्ने र सिकाउने विषय भएकाले पुस्तान्तरण गर्नुपर्छ ।’ प्रसाईंले भनिन् ।













प्रतिक्रिया