धर्तीको वैकुण्ठ : दामोदर कुण्ड « Khabarhub

यात्रा वर्णन

धर्तीको वैकुण्ठ : दामोदर कुण्ड

कष्टकर यात्राभित्रको स्वर्गीय अनुभूति



एउटा भनाइ छ, ‘हरेक तीर्थ बारबार दामोदर कुण्ड एकबार ।’ अर्थात् धार्मिक मान्यता अनुसार हिन्दु धर्मावलम्बीले जीवनमा एकपटक दामोदर कुण्डमा डुबुल्की लगाउनै पर्नेछ । त्यसैले पनि धार्मिक एवं पौराणिक मान्यताअनुसार हिन्दुहरूको महान् तीर्थका रुपमा दामोदर कुण्ड प्रसिद्ध छ ।

अहिले मानिसहरू देश छोडेर विदेश घुम्न जान्छन् । पृथ्वी छोडेर अन्तरिक्षको यात्रामा निस्कन्छन् । तर आफ्नै देशका रमणीय धार्मिक प्राकृतिक स्थानमा उनीहरु पुग्न सकेका छैनन् । नेपालीका सन्दर्भमा मुस्ताङमा अवस्थित दामोदर कुण्ड एउटा गतिलो उदाहरण हो । जुन आन्तरिक एवं बाह्य पर्यटनका दृष्टिले राष्ट्रिय अर्थतन्त्रमा निकै ठूलो मेरुदण्ड बन्न सक्छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनमा राष्ट्रिय नीति ठोस बन्न सकेमा यो क्षेत्रले नयाँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान बनाउन सक्नेछ । तर दुर्भाग्य आजसम्म दामोदर कुण्डका सन्दर्भमा राज्यले आवश्यक सूचना सङ्कलनसम्म गरेको देखिएन । त्यस क्षेत्रको व्यवस्थापन, पूर्वाधार विकास तथा प्रचारप्रसारमा त राज्यको लगानी शून्य नै छ ।

राज्यको दृष्टिकोण पर्न नसकेको देशका विभिन्न रमणीय धार्मिक तथा पर्यटकीयस्थल भ्रमणका क्रममा यसपटक यो पङ्तिकार दामोदर कुण्डको भौगोलिक, प्राकृतिक एवं सांस्कृतिक महत्वको सूक्ष्म अनुभूतिका लागि दामोदर कुण्ड पुगेको छ । यात्रा प्रकृति, सांस्कृतिक, धार्मिक वा सृष्टिको हुन्छ । अनि यात्रामा समतल भूमि, पहाड, हिमाल तथा खोँचहरु सबैको आ–आफ्नै लय हुन्छ । यही यात्राको गतिशीलतामा यसपटक दामोदर कुण्ड अर्को साक्षी बनेको छ । लाग्छ यस्तो यात्रा न पहिले जुरेको थियो न भविष्यमा जुर्ला ! अर्थात अन्नपूर्ण, धौलागिरि, नीलगिरि, भृकुटी र दामोदर हिमालले घेरिएको दामोदर कुण्ड पुग्न जति कठिन छ यस उपत्यकामा पुगेपछि  देवता बस्ने स्थान अर्थात धर्तीको स्वर्गमै पुगेको अनुभूति हुन्छ ।

दामोदर हिमाल पवित्र शालिग्रामको पर्वत हो । यात्राका क्रममा घिर्मी ठाँटीको ओरालो सुरु भएपछि बाटोमा जताततै शालिग्राम अर्थात ‘शालग्राम’ कुल्चिनै पर्छ । भौगोलिक कठिनाइ, यातायातको असुविधा, घोडेटो बाटोको समेत दुरावस्था भएर पनि जीविकामुखी कृषिकर्ममा रमाइरहेका दुर्गम घारा र याराका स्थानीयको सत्कार यो यात्राको मुख्य उर्जा हो ।

दुर्गम भूगोलमा जिउनुपर्ने जीवनको बाध्यात्मक आरोह अवरोहले उमेर छंदै चाउरिएका ५५ वर्षीय पेमा दाइ । भेडा च्याङग्रा पालनसँगै यस पटकको यात्रामा दुई वटा घोडा सहित हाम्रो यात्राको सारथी बनेर जोडिएका छन् ।

घिर्मी ठाँटीबाट सुरु हुने उकालो, ओह्रालो अथवा अनकन्टार अक्करे भिरको यात्रा पेमाहरुका लागि जीवन भोगाइको जिवन्त चित्र बनेको छ । जसले दामोदर कुण्डसम्मको यात्रा सफल बनाउन जीवनमा कैयौँपल्ट बगर तथा ओडारको बास भोगेका छन् । हामीलाई पेमाहरुको भोगाई अनौठो अनुभूति लाग्छ तर राज्यको नजर पुग्न नसकेको हिमाली जनजीवनमा यो नै खुसीको अनुभूति हो ।

विगतका घटना सम्झिंदै बाटोमा पेमाले अनेकौँ आशंका जन्माइ दिए । किनकी दुई दिन पहिले मात्र भर्चा खोला अर्थात ४ हजार ९९० मिटर उचाईमा अवस्थित घिर्मी ठाँटीको धर्मशाला नजिकैको भूत खोलाले एक जना तिर्थयात्रीको जीवन लुछेको थियो ।  त्यो पनि कुण्ड पुगेर फर्किने क्रममा । यात्राका क्रममा घोडाकै गतिमा लम्किरहेका पेमाले सम्झाई रहे, ‘गतिलो गाइड र इमानदार घोडा परेन भने ख्यालख्यालमै ज्यान जान्छ ।’

उच्च हिमाली भूगोलमा कठिन यात्रा गर्नुपर्ने भएकाले धेरै घोडचढीले पानीको साटो रौसी (रक्सि) खाएर यात्रा तय गर्छन् । यो सबैभन्दा ठूलो जोखिम हो । भूत खोलाको बगरमा थकाई मार्न बसेका पेमाको ओठमुख सुकेर खङ्ग्रङ्ग भएको प्रष्टै देखिन्छ । पेमाले साथीहरूसँग झोलामा बोकेको बाक्लो हिमाली भुङ्ग्रे रोटी भूत खोलाको चिसो पानीमा मिलाएर खान्छन् । नाकै ठोक्किने उकालो देखाउँदै पेमा थप्छन् ‘अब यहाँबाट उकालो यात्रा सुरु हुँदैछ । दामोदर कुण्ड पुग्ने सबैभन्दा कठिन अनि डरलाग्दो उकालो ।’

घटघट हिउँ खोलाको चिसो पानी पिएर पेमा घोडालाई बाटो देखाउँदै अघि लाग्छन् । ‘बाटो प्रष्ट छैन । घोडाले आफैँ जतन गरेर लैजान्छ । घोडा चढेपछि तल–माथि कतै नहेर्नुहोला है । कहाली लाग्छ । सिधा अगाडि मात्रै हेर्नु । उकालोमा सकेसम्म ज्यान अगाडि ढल्काउनुपर्छ । नत्र सन्तुलन नमिलेर खसिन्छ ।’ पेमा हामीलाई सम्झाई रहेका छन् ।

जीवनकै कठिन र भयपूर्ण यात्रा यही घिर्मी ठाँटीको उकालोबाट सुरु भएजस्तो लाग्छ । हिन्दु तथा बौद्धमार्गीहरूको अत्यधिक आस्थाको केन्द्र दामोदर कुण्डसम्म पुग्ने तीर्थाटनमा भेडा र घोडा पालेर गुजारा चलाइरहेका पेमाहरुले यात्राका क्रममा हाम्रो शहरिया चेतना उलटपुलट पारिरहन्छन् । पाइला पाइलामा आर्थिक असमानताको सुइरोले चसक्क घोचिदिन्छ । पेमाहरुको जीवन अनि प्राकृति सुन्दरताप्रति राज्यको अवहेलना व्यङ्ग्यात्मक लाग्छ । ‘यो यारा गाउँ माथिको दूरावस्था र समस्याबारे आजसम्म कसैले केही बोलेको छैन । न बाटो गतिलो छ, न टेलिफोनले काम गर्छ, न बास बस्ने ठाउँ छ, न कुनै सरकारी कार्यालय देखिन्छ । तर यो नेपाल नै हो सर । बेलाबेलामा तीर्थ गर्न आउने तपाईंहरू जस्ताले हामीलाई माया गरेका छन् रपो हामी यहाँ टिकेका छौँ । तर अब हामी पछिको पुस्ता यहाँ टिक्न मुस्किल छ ।’ पसिनाको धारो पुछ्दै पेमाले सिंहदरवारको व्यवहारमाथि व्यङ्ग्य गरे । हामीले अघिल्लो दिन मात्र यही यात्राका क्रममा गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिका सभापति सुधीर कुमार पौडेललाई सार्वजनिक बिदाको दिन सरकारी गाडीमा मुस्ताङको छोसेरमा भेटेका थियौँ । तर पर्वतको महाशिला क्षेत्रको पूर्वाधार विकासको अवलोकनका लागि भन्दै सरकारी गाडीमा पोखराबाट निस्केका पौडेलहरु सपरिवार कोरला नाकासम्म पुगेर फर्किए तर अन्तिम गाउँ यारामा उक्लिएनन् । किनकी यारा जाने बाटो निकै चुनौतीपूर्ण र कष्टकर छ । नेता पौडेल मात्र हैन यो क्षेत्रमा आजसम्म नीति निमार्णतहमा पुगेका कसैले पनि पाइलो टेकेका छैनन् ।

धार्मिक एवम् पौराणिक सन्दर्भको चर्चा गर्ने क्रममा दामोदर कुण्डको महिमा बेग्लै छ । यात्राका क्रममा उकालो चढ्दै र ओरालो झर्दै पेमाहरुले धार्मिक आस्थाको केन्द्र एवम् पुराणमा वर्णित चक्रकुण्ड क्षेत्रको धार्मिक एवम् पुरातात्विक महत्व प्रस्ट पार्दै गए ।

​​​​​​​दामोदरकुण्डको पौराणिक महत्व
पवित्र कालीगण्डकी नदीको उद्गमस्थल एवं दामोदर हिमालबाट उत्पत्ति भएको दामोदरकुण्ड भौगोलिक विकटताका हिसाबले नेपालको सबैभन्दा कठिन भूगोलमा अवस्थित छ । दामोदर हिमालबाट उत्पन्न भएको जलबाट बनेको यो कुण्ड सनातन हिन्दु धर्मावलम्बीका लागि प्रसिद्ध तीर्थस्थल हो । जुन मुक्तिनाथ क्षेत्रदेखि करिब १२ किलोमिटर उत्तर, मुस्ताङ जिल्लामा पर्छ ।

शालिग्राम क्षेत्रकोसमेत प्रसिद्धि पाएको दामोदरकुण्डको पौराणिक महत्व बेग्लै छ । कुण्डसम्मको यात्राका लागि समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्ला दुई कठिन भञ्ज्याङ पार गर्नुपर्छ । झण्डै १३ घण्टाको यात्राका क्रममा बाटोमा खाने बस्ने व्यवस्था कतै छैन । उकालो, ओरालो र भीरको बाटो हिँड्दा जताततै लेक लाग्ने जोखिम उच्च रहन्छ । यात्राका क्रममा खाना, तातो पानी, औषधी र न्यानो कपडा आवश्यक पर्छ ।

हाम्रो यात्राका संयोजक थिए– ओखलढुंगाका अर्जुन तामाङ । यसअघि धेरैपटक दामोदरकुण्ड जाने तीर्थालुको सफल सहयात्री बनेर चिनिएका तामाङ मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमदेखि कागबेनी, छुसाङ, लोमानथाङ्, कोरला, चैले, समर बेना, स्याङ्बोचे, तामागाउँ, घिर्मी, चराङ धी, यारा, घारा, ट्रेलहेड, लुरी गुम्बा, नौजुनको लेक, घिर्मीठाँटी, भूतखोला, दामोदर पास, नौ जुनको लेक हुँदै ओरालो झरेर दामोदर खोलामा पुग्दासम्म यस भूगोलका निम्ति परिचित नाम झैँ लाग्छ । दामोदर खोला पार गरेपछि केही उकालो, तेर्सो र ओरालो हिँड्नुपर्छ । त्यसपछि ४ हजार ८९० मिटर उचाइमा रहेको दामोदरकुण्डको धर्मशालामा पुगिन्छ ।

कठिन यात्राका क्रममा स्थानीय यारा र घाराका श्रमजीवीहरुसँग चिरपरिचित अर्जुन तामाङ हामीलाई सम्झाई रहेका छन् । ‘घिर्मी ठाँटीको धर्मशाला पनि बन्द रहेछ, यसपटक माथि दामोदर कुण्डको धर्मशाला पनि खुलेको छैन, अक्सिजनको कमीले समस्या आउन सक्छ । पानी प्रशस्तै पिउनुहोला ।’

तामाङले धर्मशाला नखुलेको अवस्थामा दामोदर कुण्डमा तीर्थयात्रीले झेल्नुपर्ने समस्याबारे मानसिक रुपमा तयार पारिरहेका थिए । उकालो र तेर्सो बाटोमा घोडा, भिरालो बाटोमा पैदल हिँड्दै मुस्किलले झण्डै १३ घण्टाको यात्रापछि दामोदरकुण्ड पुग्दा बास बस्नका लागि यारा, गारा, सुर्खाङ, धी, टाङ्गे र धेका स्थानीयले जसोतसो दुई ठाउँमा धर्मशाला बनाएको भेटियो ।  यस बाहेक न कतै मानव वस्ति न कतै बनस्पती । एक लाख ४८ हजार ४५ रुपैयाँ लागतमा स्थानीयले चन्दा उठाएर बनाएको धर्मशालाकै भरमा दामोदर कुण्डमा रात काट्नुको विकल्प थिएन । नौ जुनको भञ्ज्याङ कटेपछि न फोनको टावरले समात्छ, न कतै राज्य नै भेटिन्छ । लेक लागेमा अथवा दुर्घटना भइहालेमा सम्पर्कका लागि सञ्चारको कुनै उपलव्धता नै छैन ।

अर्जुन तामाङ, दामोदर कुण्ड यात्राका लागि परिचित पथप्रदर्शक रहेछन् । उनी तीन वर्षदेखि बस्याक ला जस्तो कठिन अक्करे भीर तथा खोँच छिचोल्दै उत्तर, पूर्व र दक्षिण तीन दिशामा रहेका बाक्ला हिमचुचुराले घेरिएको दामोदरकुण्ड पुग्ने नियमित पथप्रदर्शक हुन् ।

‘यात्राको सबैभन्दा अग्लो भाग यही बस्याक ला हो । बस्याकको लेक अर्थात दामोदर पास ५ हजार ४५० मिटरको उचाइमा पर्छ ।’ घोडाबाट ओर्लिने बित्तिकै उनले सम्झाए, ‘यहाँ धेरै समय नबस्नुहोला है । चिसो सिरोटोले लेक लाग्छ । छिटोछिटो तल झरिहाल्नुपर्छ ।’ यो पास पार गरेर अगाडि बढ्नु यात्राका क्रममा सबैभन्दा चुनौतीपूर्ण मानिन्छ ।

‘जेठ १४ गते रूपन्देहीका लिलाधर चौधरी यहीँबाट फर्किंदै गर्ला लेक लागेर तल भूत खोलामा पुगेपछि बिते ।’ तामाङले आङ सिरिङ्ग हुने घटना सुनाए । जो बिते उनी ४५ वर्षका मात्र थिए । यहाँ मोटर बाटो छैन । मानव बस्ती छैन । प्रहरी प्रशासन छैन । यिनै घोडावाला दाइहरुको भर हो । बाँचे प्रभुलाई मरे गंगाजीलाई ।

अन्नपूर्ण, धौलागिरि, नीलगिरि, भृकुटी र दामोदर हिमालले घेरिएको दामोदर कुण्ड रहेको उपत्यकालाई देवता बस्ने स्थान अर्थात् बैकुण्ठ भनिन्छ । घिर्मी–ठाँटीको ओरालो सुरु भएपछि बाटोमा जताततै शालिग्राम भेटिन्छ । शालिग्राम नेपालमा मात्रै पाइन्छ र यो धर्तीको स्वर्ग, अर्थात् पवित्र शालिग्रामको पर्वत कालीगण्डकी क्षेत्रमा मात्र पाइन्छ । त्यसैले दामोदर हिमालको आसपासको क्षेत्रलाई भगवान् विष्णुको घर अर्थात् वैकुण्ठ भनिएको हो । जहाँ बोन्पो, बौद्ध तथा गुरु पद्मसम्भवले तपस्या गरेका थिए ।

शालिग्रामभित्रको फोसिल
शालिग्राम पर्वतलाई वैज्ञानिकहरूले सम्पूर्ण जीव आत्मा र जगतको पहिलो उद्गमस्थल मानेका छन् ।  उनीहरूको दावी छ, शालिग्राम शिलाभित्रको फोसिल विश्वको पहिलो जीवको फोसिल हो । वैज्ञानिक तथ्य केलाउने हो भने, झण्डै २० करोड वर्षअघि जुरासिक युगमा नेपालको हिमालय क्षेत्रमा टेथिस सागर थियो । टेथिस सागरमा जन्मेका जलचरहरूको अवशेष नै शालिग्राम हो । त्यसैले दामोदर कुण्डलाई विश्वको पहिलो प्राणी उत्पत्ति भएको क्षेत्रका रुपमा पनि लिइन्छ । जहाँ पहिलो प्राणीको अवशेषका रुपमा जताततै शालिग्राम मात्र देख्न पाइन्छ । हिन्दु धर्मग्रन्थहरूले भने यो भूमिलाई आत्मा तथा परमात्माको उद्गमस्थल मानेको छ । कालो रङको एमोनोइड जीवाश्मा अर्थात शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रुपमा पुजिन्छ । जुन मनमोहक दामोदर हिमालको काखमा अवस्थित दामोदरकुण्ड क्षेत्रमा मात्रै भेटाइन्छ । यहीँबाट सुरु हुन्छ कालीगण्डकीको स्वर्गीय यात्रा ।

साँझ अथवा बिहानको सूर्योदय पहिले दामोदरकुण्डमा गोलो आकारको चक्र देख्न सकिन्छ । जुन भगवान विष्णुको अस्त्र हो । वराह पुराणमा लेखिएको छ, दामोदर कुण्ड तथा दामोदर हिमाल क्षेत्रमा शिव, ब्रह्मा, विष्णु, देवता, ऋषि, यक्ष बास बस्ने गरेका छन् । अर्थात यो कैलाश पर्वत नजिक रहेको सम्पूर्ण देवताको भव्य बासस्थान हो । हिन्दु–बोन–बौद्ध धर्मावलम्बीको एकीकृत पवित्र तीर्थस्थल हो ।

दामोदरकुण्डको उत्पत्ति
श्रीमद्भागवत पुराणअनुसार, सत्ययुगमा सुन्दर लक्ष्मीतीर्थ भनिने गङ्गा नदीको किनारमा दुई युवा मस्त मदिरा पिएर नग्न रम्भा उर्वशी जस्ता युवतीसहित रमाइरहेका थिए । वातावरण पूर्ण मदमस्त थियो । अकस्मात् ‘नारायण नारायण’ भन्दै नारदमुनि स्नान गर्न आइपुग्नु भयो । नारीहरूले हतार हतार आफ्नो वस्त्र समेटेर ऋषिको सत्कार गर्न भ्याए तर पुरुषहरू भने मदिरामा मस्त थिए, होसमा आउन सकेनन् । ती दुई व्यक्ति विश्व ब्रह्माण्डकै धनी कुबेरका दुई पुत्र नलकुवर र मणिग्रीब थिए । तिनलाई नारदको श्राप पर्‍याे र ती दुई युवा वृक्ष भए । दाम+उदर= दामोदर । दाम्लोले पेटमा बाँधिएका भगवान् बालकृष्णकै अर्को नाम हो । त्रेतायुगमा यशोधाले श्रीकृष्णलाई ओखलमा बाँधिदिनुभएको थियो । उक्त दुई रुखमा उक्त ओखल अड्कियो । अड्किएको ओखल तान्दा ती दुई रूख ढले । त्यस स्थानबाट दुई युवा निस्किए । उनीहरूको श्राप मोचन भयो । उक्त डोरीलाई झिकेर फुत्त फालिदिनुभयो । त्यो डोरी पुगेको स्थान नै दामोदर कुण्ड हो । यसरी उक्त डोरीले गर्दा मुक्ति मिलेको हुनाले अर्थात् श्राप मोचन भएको हुनाले दामोदर कुण्डमा पुगेर स्नान गर्नाले मुक्ति प्राप्त हुन्छ । श्राप मोचन हुन्छ । जीवनमा दुःख मोचन गरेर सुखशान्ति प्राप्तिका लागि स्वर्गजस्तो पवित्र धार्मिकस्थल दामोदर कुण्डको यात्रा गर्नैपर्छ । बाटोमा यात्राका क्रममा याराका पेमाहरुले यस्तै प्रसङ्ग सुनाउँदै लगे ।

अग्ला पहाड ठाडै चढ्नुपर्ने भिरालो हिमाली भूगोलमा चिप्लीनु पर्ने भएकाले  यो यात्रा उच्च वा निम्न रक्तचाप तथा श्वासप्रश्वासको समस्या भएका जोकोहीलाई असम्भवप्रायः छ ।

घिर्मी ठाँटीबाट ठाडै उकालो चढेर ५ हजार २०० मिटर उचाइको लेक पार गर्नुपर्छ । सो लेक पार गरेपछि सिधै ओरालो झरेर तल बासखोला पुगिन्छ । यसलाई भूतखोला पनि भनिन्छ । भूतखोलाबाट ठाडै गेग्रान उकालो उक्लँदै ५ हजार ७०० मिटर अग्लो दामोदर पास पार गर्नुपर्छ । हावामा अक्सिजनको मात्रा साह्रै कमी हुने हुनाले यहाँ यात्रा गर्न साह्रै कठिन हुन्छ । सिधै मुटु नै सिरिङ्ग हुने ओरालो झरेर दामोदर खोलामा पुगेपछि पनि उही उकालो, तेर्सो र ओरालोले छाड्दैन । ४ हजार ८९० मिटर उचाईमा रहेको दामोदर कुण्डको धर्मशाला पुगेपछि अक्सिजनको कमीले धेरै तीर्थयात्री विरामी पर्छन् । जहाँ धर्मशालामा बास बसेपछि १५ वा २० मिनेटको हिँडाइमा दामोदर कुण्डको गन्तव्यमा पुगिन्छ । जहाँ दामोदर कुण्डसहित तीनवटा कुण्ड रहेका छन् । स्थानीयका अनुसार मूल कुण्डलाई सुनकुण्ड वा चक्रकुण्ड भनिन्छ भने बाँकी दुईलाई क्रमशः दुधकुण्ड र तामाकुण्ड भनिन्छ । कठिन यात्रापछि दामोदरकुण्डको दर्शन सकेर सवेरै यात्रा तय नगरे यारा अथवा आसपासको मानव वस्ति भेट्टाउन मुश्किल पर्छ । दामोदरकुण्डबाट यारा झर्ने क्रममा कुण्डसम्म पुग्दा जहाँ घोडा चढियो त्यहाँ पैदल र जहाँ पैदल हिँडियो त्यहाँ घोडाको सहारा लिनुपर्ने भएकाले कुण्ड पुग्दा अथवा फर्किंदा उस्तै उस्तै उर्जा र सर्तकता आवाश्यक पर्छ ।

दामोदर कुण्डबाट बगेर आएको जल काग नदीका रूपमा मुक्तिनाथबाट आएकी गण्डकी नदीसँग मिल्ने भएकाले सो मिलनविन्दुलाई कागबेनी भनिएको हो । जहाँ दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशभरबाट धार्मिक तिर्थालु हिमाली जिल्ला मुस्ताङ पुग्ने गरेका छन् । मुक्तिनाथ क्षेत्रबाट बहने मुक्ति गण्डकी र दामोदरकुण्ड धार्मिकस्थलबाट बहने कालिगण्डकी नदीको संगमस्थल कागबेनीधामको विषयमा हिन्दु शास्त्रमा फरक वर्णन पाइन्छ । परापूर्वकालमा काग भुसण्डे ऋषिले मनाङको तिलिचोमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूको नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाम पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदिका लागि प्रसिद्ध बन्न गयो भनिन्छ ।

यस्तै हंस तीर्थको रुपमा लिइने कागबेनीमा परापूर्व कालमा कागबेनी धाम आसपास ठूलो सरोवर थियो । त्यही सरोवरमा एकदिन दुईवटा कागहरू कुण्डमा खसेर मरे । कुण्डमा खसेर मरेका दुई वटा कागहरू तत्काल चामत्कारिक रूपमा हंसको रूपमा हाँस भई प्रकट भएकाले कागबेनीधामलाई हंस तीर्थ समेत भन्ने गरिएको पनि भनिन्छ । यसरी भगवानको दैवी शक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध, पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किम्वदन्ती रहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ९ : २७ बजे

डिजिटल अभियानको परिणामले संस्थापन कांग्रेस मख्ख, भेलामार्फत दबाब बढाउँदै इतर समूह

कांग्रेसले नयाँ वर्ष २०८३ सुरु भएसँगै ‘एक महिने जरामा जाउँअभियान’

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौँ– प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–११ का सेफ सन्तोष साहलाई बैंकिङ

धर्तीको वैकुण्ठ : दामोदर कुण्ड

एउटा भनाइ छ, ‘हरेक तीर्थ बारबार दामोदर कुण्ड एकबार ।’

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ