डिजिटल अभियानको परिणामले संस्थापन कांग्रेस मख्ख, भेलामार्फत दबाब बढाउँदै इतर समूह « Khabarhub

डिजिटल अभियानको परिणामले संस्थापन कांग्रेस मख्ख, भेलामार्फत दबाब बढाउँदै इतर समूह



कांग्रेसले नयाँ वर्ष २०८३ सुरु भएसँगै ‘एक महिने जरामा जाउँअभियान’ सुरु गर्‍याे । अभियानको मुख्य उद्देश्य जरा तहसँग छलफलमा जुट्दै क्रियाशील सदस्यता डिजिटल्ली अद्यावधिक गर्ने थियो । जसको औपचारिक सुरुवात पार्टी सभापति गगनकुमार थापाले वैशाख १ मा गरे । उनले काठमाडौँ महानगरपालिका–३० को वडा इकाई कार्यालयमा उपस्थित भएर आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गरेका थिए ।

२१ फागुनमा भएको निर्वाचनबाट विक्षिप्त बनेको कांग्रेसले पार्टीलाई प्रविधिमुखी बनाउँदै भुईँ तहसम्मको अवस्थामा केन्द्रको सहज पहुँचका लागि पनि उक्त अभियान सुरु गरेको थियो ।

एक महिनाको समयावधि तोकिएकोमा प्राविधिक जटिलता देखाउँदै जेठ २१ र २८ गते राति १२ बजेसम्म गरी दुई पटक म्याद थपियो । एक महिनाको समयावधि तोकिएकोमा उक्त अभियान पुरा १ महिना २८ दिनसम्म चल्यो । जसबाट ८० प्रतिशत बढी सदस्यले डिजिटल्ली सदस्यता अद्यावधिक गराएको पार्टीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘बिहीबार राति १२ बजेसम्ममा वडा सभापतिमार्फत ५ लाख ३८ हजार ६२२ जनाले ‘एनसी आईडी’ (कांग्रेस परिचयपत्र) प्राप्त गरेका छन् । १ लाख ४९ हजार ३०९ जनाले वडा सभापतिमार्फत अद्यावधिकका लागि फारम पेश गरेको र सदस्यता अद्यावधिक कार्यको प्रक्रियामा रहेको छ,’ कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा उल्लेख तथ्यांकअनुसार ७ लाख ८२ हजार २०९ जना पार्टी सदस्यहरू सदस्यता अद्यावधिकका लागि योग्य थिए । जसमा अद्यावधिकको प्रक्रिया पुरा गरेका र प्रकृयामा रहेका गरी जम्मा ६ लाख ८७ हजार ९३१ जना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिक हुने देखिएको छ ।

यस्तै, इन्टरनेटको पहुँच बाहिर रहेका जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिको अद्यावधिक थप व्यवस्थित बनाउँदै नयाँ सदस्यता वितरण भने खुला रहेको विज्ञप्तिमा उल्लेख छ ।

संस्थापन पक्ष के भन्छन् ?
१४औँ महाधिवेशनमा कांग्रेसको सदस्यता ८ लाख ५२ हजार ७११ थियो । यस्तै, १५ औँ महाधिवेशनका लागि भने सदस्यता नवीकरणको जिम्मा तत्कालीन महामन्त्री गगनकुमार थापाकै काँधमा थियो । क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक समेत रहेका उनले गत असारसम्म ८ लाख ७० हजार जनाको तथ्यांक शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा बुझाएका थिए ।

पार्टीले प्रति सदस्यले २ जना बराबर मत थप्ने आंकलन राख्ने गर्छ । जसअनुसार २६ लाख १० हजार मत पार्टीले प्राप्त गर्नुपर्ने हो । तर, पार्टीले गत निर्वाचनमा सोअनुरुप मत प्राप्त गर्न सकेन । २०७९ को निर्वाचनमा प्राप्त २७ लाख बराबर समानुपातिक मत पाएकोमा पार्टी १७ लाख ५९ हजार १७२ मा खुम्चियो ।

निर्वाचनको मुखमै विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन, त्यसैमाथि असन्तुष्ट पक्षको निष्कृयता, जेन–जी आन्दोलनपछिको बदलिँदो अवस्था, देशैभर नयाँ र पुराना पार्टीबीचको कडा चुनावी प्रतिस्पर्धाले कांग्रेसका सदस्यले समेत वैकल्पिक पार्टीमा मत हालेको नतिजामा प्रष्ट देखियो । परिणाममा कांग्रेस ८९ सीटबाट ३८ सीटमा सिमित भयो ।

तर, सदस्यता संख्यामा खासै अन्तर नहुनुले निर्वाचनको बदलिँदो अवस्थामा पार्टीले नोक्सानी भोग्नुपरेको पार्टीका प्रवक्ता देवराज चालिसेले बताए ।

‘अदृश्य रुपमा कतिपय साथीले यसपटक पार्टी हैन मत परिवर्तन गरे । हाम्रा केही कमीकमजोरीसँगै निरासाका विषय र पार्टी परिवर्तनको सन्देश समयमै तल्लो तहसम्म पु¥याउँदै कांग्रेसमा विश्वास जागृत गर्न नसक्दा त्यो परिस्थिति निर्माण भयो,’ उनले स्वीकार गर्दै भने– पछिल्लो समय पार्टीले अख्तियार गरेको नीति कार्यक्रमले पार्टीप्रति विश्वास जागृत भएको छ ।

सोही भरोसालाई पूँजीकृत गरी शक्तिशाली पार्टी निर्माण गरेर आगामी निर्वाचनमा होमिने उनले बताए । उक्त अभियानमा नसमेटिएका पंक्तिलाई सहभागी गराउनेबारे खबरहबले प्रश्न गर्दा उनले केन्द्रदेखि तल्लोतहसम्मका लागि समान अवसर हुने प्रष्ट पारे ।

‘नेतादेखि कार्यकर्ता सबै पार्टीको समान लक्ष्यका समान यात्री भएकाले सबै सदस्यले एउटै पद्धति र प्रकृयाबाट भाग लिनुपर्ने हुन्छ । त्यसमा विशेषाधिकार र अवस्था कसैका लागि हुँदैन,’ उनले प्रष्ट पारे ।
कतिपय नेताहरुले अद्यावधिक नगरेको हकमा पार्टीले जे निर्णय गर्छ सबैका लागि त्यो स्वीकार्य हुने उनको भनाई छ ।

यस्तै, महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले यसलाई कांग्रेसको डिजिटल रूपान्तरणको महत्वपूर्ण उपलब्धिका रुपमा व्याख्या गरे । ‘क्रियाशील सदस्यता अद्यावधिकको काम राम्रो भयो, विभिन्न राजनैतिक अवरोधबीच छोटो समयमा ८० प्रतिशत बढीको पूरा भयो ।’ यसले संगठनात्मक संरचना बलियो बनाउने, तथ्यांक व्यवथापन र भविष्यका गतिविधिलाई थप प्रभावकारी बनाउने उनले विश्वास व्यक्त गरे ।

असन्तुष्ट पक्षको आगामी योजना के ?
गत पुसमा भएको विशेष महाधिवेशनपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता डा. शेखर कोइराला लगायत ठूलो संख्यामा रहेका १४औँ कार्यसमितिका सदस्य, नेता तथा कार्यकर्ता डिजिटल अद्यावधिक अभियान भन्दा बाहेक छन् ।

निर्वाचन आयोग र सर्वोच्च अदालतले कांग्रेसको विवाद टुङ्ग्याए पनि उनीहरु एकै कार्यसमितिमा जोडिन सकेका छैनन् । निर्वतमान कार्यवाहक सभापति खड्काले पार्टीका सभापति गगन थापाले विगत ३१ दिनदेखि आफूसँग भेट नगरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । उता नेता डा. कोइरालाले पनि संस्थापन पक्षसँग हालसम्म प्रत्यक्ष ‘टेबुलटक’ नभएको स्पष्ट पारिसकेका छन् ।

यसबीच सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा उनीहरुबीच विभिन्न बुँदामा सहमतिको प्रयास भएको विषय भने चर्चामा थियो । जसलाई इतरसमुहका नेतृत्वले दिएको अभिव्यक्तिले असत्य प्रमाणित गरिसकेको छ । सो बारे इतर नेता मीन विश्वकर्मा भन्छन्, ‘हामी कसैले पनि डिजिटल अद्यावधिक गरेका छैनौँ । संस्थापनले साझा वार्ता अगाडी बढाउनुपर्नेमा खासै पहल नगरेको विषय निर्वतमान कार्यवाहक सभापति र वरिष्ठ नेता शेखर दाइको कुराले स्पष्ट पारिसकेको छ,’ उनले थपे, ‘प्रत्क्षय संवाद भएको छैन । सामुहिक धारणा बनाउने भन्नेमा उहाँहरु कुराकानीमा जुट्नुभएको छैन वा चाहना नै राख्नुभएको छैन, ।’ यतिबेला आफू कोशी प्रदेशको प्रदेशस्तरीय भेला व्यवस्थापनमा जुटेको उनले सुनाए । ‘हामीले कोशीमा भेला गर्दैछौँ अहिले म त्यसकै तयारीमा जुटेको छु,’ उनले भने ।

संस्थापन र इतर दुबै समुहले निर्वाचनको नतिजा र आगामी रणनीति निर्माणार्थ प्रदेश भेला गर्दै आएको छ । यद्यपी उक्त भेलालाई दुई पक्षबीचको शक्ति संघर्षका रुपमा समेत लिइएको छ । सोहीअन्तर्गत सुदुरपश्चिम, बाग्मती, कर्णाली, गण्डकी भेला सकिसकेको इतर समुह यतिबेला कोशीमा जुटेको हो ।
इतर समुहका अर्का नेता तथा निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले संस्थापन पक्षले एकतामुखी कुरा नै नगरेकाले समस्या भएको बताए ।

‘अनौपचारिक रुपमा भएको कुराकानीमा पनि उहाँहरु मिल्ने गरी आउनुभएको छैन । लामोसमय पार्टीमा पसिना बगाएका नेतामा अपमानको अनुभूति छ समेटिएको छैन,’ सामुहिक रुपमा एकता गर्ने भएमात्रै आफू सहमत हुने उनले धारणा व्यक्त गरे ।

सोहीबारे निवर्तमान पार्टी प्रवक्ता समेत रहेका नेता प्रकाशशरण महतले बिहिबार आफ्नै निवास बाँसबारीमा पत्रकार सम्मेलन गर्दै बृहत्तर एकतामा संस्थापन पक्षले ध्यान नदिए पार्टी पुनः स्थापित गर्ने अभियान पुरा नहुने बताए ।

‘विशेष र महाधिवेशन पक्षबीच मनोवैज्ञानिक खाडल अहिले पनि विद्यमान छ । यसले गर्दा पार्टी अझ कमजोर हुन सक्ने अवस्थामा पुगेको छ । अहिलेको चुनौतीपूर्ण अवस्थामा बृहत्तर एकता भएन भने नेपाली जनतामाझ हामी फेरि पुनः स्थापित हुने अभियान कमजोर हुन्छ,’ त्यसका लागि सभापति थापाले गम्भीर पहल गर्न जरुरी रहेकोमा उनले ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  १० : ३७ बजे

निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका काम प्रभावित

कञ्चनपुर– पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण

बाँदर आतङ्कका कारण खाद्यबालीको विकल्प रोज्दै किसान

बागलुङ– बागलुङका किसानले बाँदर आतङ्कका कारण परम्परागत खेती गर्न छाडेका

छोरी जन्मिए प्रोत्साहन भत्ता !

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु) जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

कास्की– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमा दुई हजार