काठमाडौं -इरानले संयुक्त राज्य अमेरिकासँग हुने कुनै पनि अन्तिम आणविक सम्झौतामा पूर्वसहमतिका सर्तहरू पूर्ण रूपमा कार्यान्वयन नभएसम्म हस्ताक्षर नगर्ने चेतावनी दिएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले अन्तरिम सम्झौताका प्रावधानहरू कार्यान्वयन नभएसम्म आणविक वार्तालाई अन्तिम निष्कर्षमा नपुर्याइने स्पष्ट पारे।
इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) सँगको अन्तर्वार्तामा विदेशमन्त्री अराघचीले प्रारम्भिक सम्झौता भएपछि संयुक्त राज्य अमेरिकालाई आफ्ना प्रतिबद्धता पूरा गर्न ६० दिनको समय दिइने बताए। उनका अनुसार सहमति तथा समझदारीका बुँदाहरू कार्यान्वयन भएपछि मात्र अन्तिम सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बन्नेछ।
अराघचीले कुनै पनि सम्झौताबारे निर्णय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्भित्र सामूहिक रूपमा गरिने र स्वीकृतिपछि मात्र हस्ताक्षर प्रक्रिया अघि बढाइने जानकारी दिए।
उनले अमेरिकी पक्षले विगतमा सम्झौताका दायित्वहरू पूर्ण रूपमा पालना गर्न नसकेको आरोप लगाउँदै इरानले कार्यान्वयनका क्रममा विभिन्न चुनौतीहरूको अपेक्षा गरेको बताए।
अमेरिकी राजनीतिज्ञहरूबाट प्रतिबद्धता उल्लङ्घन हुने जोखिम रहेको उल्लेख गर्दै उनले सम्झौतामा अवरोध सिर्जना भए वा प्रतिबद्धता पूरा नभए अन्तिम सम्झौतामा हस्ताक्षर नगरिने दोहोर्याए।
विदेशमन्त्री अराघचीले इरानको सुरक्षा सुनिश्चित गर्न देशले बाह्य शक्ति वा अन्तर्राष्ट्रिय गठबन्धनमा निर्भर नहुने पनि बताए। उनले इरानले आफ्ना जनता, सशस्त्र सेना र राष्ट्रिय क्षमताको आधारमा सुरक्षा रणनीति अघि बढाउने धारणा व्यक्त गरे।












प्रतिक्रिया