‘गगनलाई अस्वीकार गरेर कांग्रेस अघि बढ्दैन, देउवा पक्षले इगो त्यागोस्’ « Khabarhub

‘गगनलाई अस्वीकार गरेर कांग्रेस अघि बढ्दैन, देउवा पक्षले इगो त्यागोस्’

कांग्रेस एकताका लागि दुवै पक्षले त्याग गर्नुपर्नेमा जोड


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापति गगन थापालाई साथ दिने बताएकी छन्। शुक्रबार सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।

उनले कांग्रेसविरुद्ध विगतदेखि नै षड्यन्त्र हुँदै आएको दाबी गर्दै अहिले पनि पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको बताइन्। त्यसलाई चिर्न सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने उनको भनाइ थियो।

‘गिरिजाबाबुको पालादेखि नै कांग्रेसविरुद्ध षड्यन्त्र हुँदै आएको छ। आज पनि नेपाली कांग्रेसलाई कमजोर बनाउने खेल भइरहेको छ। कांग्रेसमाथि षड्यन्त्र भइ नै रहेको छ,’ उनले भनिन्, ‘त्यसकारण पनि हामीले सतर्क हुनु आवश्यक छ। त्यस खेल र षड्यन्त्रलाई चिर्न हामी एकजुट हुनुपर्छ।’

कोइरालाले पार्टीको एकता महाधिवेशन गरेर विवाद समाधान गर्नुपर्ने बताइन्। एकता कायम गर्न दुवै पक्षले केही कुरा त्यागेर लेनदेनको भावनाबाट अघि बढ्नुपर्ने उनको भनाइ छ।

गगन थापाको नेतृत्वप्रति आफू विश्वस्त रहेको बताउँदै कोइरालाले युवा नेतृत्वले पार्टी सम्हाल्न सक्छ कि सक्दैन भन्ने आफ्नो पुरानो चिन्ता हटेको बताइन्।

‘बाहिरबाट हेर्दा म अहिले सभापति गगन थापाको प्रशंसक हुँ। उहाँले यति राम्रोसँग कांग्रेसलाई हाँकेर लैजानुहुन्छ भन्ने मलाई लागेको थिएन,’ उनले भनिन्, ‘तर अब मलाई गगन थापामाथि पूरा विश्वास छ। यो पार्टीलाई हाँकेर लैजाने तागत उहाँमा रहेछ।’

उनले महामन्त्री विश्वप्रकाश शर्मासहितका पदाधिकारीले पनि थापालाई पार्टी अघि बढाउन सहयोग गरिरहेको बताइन्। सर्वोच्च अदालतको पछिल्लो आदेशतर्फ संकेत गर्दै उनले कांग्रेसभित्र अहिले केही ‘भत्याङभुतुङ’ अवस्था देखिएको टिप्पणी गरिन्।

कोइरालाले आफूहरू पाका भए पनि गगन थापाको नेतृत्वप्रति ढुक्क रहेको बताइन्। स्थानीय र प्रदेश निर्वाचन नजिकिँदै गएको भन्दै पार्टीको सदस्यता विस्तार तथा संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

‘एउटा पक्षले सबै छाड्ने र अर्को पक्षले इगो राखेर जाने कुरा सहन सकिँदैन,’ उनले भनिन्।

पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पनि अहंकार र जिद्दी छाडेर सभापति थापालाई स्वीकार गर्दै अघि बढ्नुपर्ने कोइरालाले बताइन्। देउवाले पनि पार्टी एकताका लागि आफूले धेरै कुरा छाडेको र थापा पनि लचिलो भएको उनको भनाइ थियो।

‘देउवाजी हङकङबाट आउनुभएको छ। उहाँले राष्ट्रका लागि आफूमा जिम्मेवारी छ भन्नुभएको छ। म पार्टीलाई पनि एकताबद्ध बनाउँछु भन्नुभएको छ। उहाँले पनि धेरै कुरा छोड्नुभएको छ। यतातिर नेपाली कांग्रेसका सभापति थापा पनि लचिलो हुनुभएको छ,’ उनले भनिन्।

पार्टीभित्र पदका लागि संघर्ष गर्नेभन्दा नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्नेमा उनले जोड दिइन्। आफ्नो पुस्ताका नेताहरूले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने कोइरालाको भनाइ छ।

‘अहिले हामी पदका लागि नलडौँ। यो पदलाई बिर्सिएर हामीले युवाहरूलाई नेतृत्वमा बढाउनुपर्छ। हाम्रो उमेरका पाका कांग्रेसीहरू अब अभिभावक भएर बस्नुपर्छ,’ उनले भनिन्।

कांग्रेसले आगामी दिनमा पुनः शक्तिमा फर्किन सक्ने विश्वास व्यक्त गर्दै कोइरालाले पार्टीमा युवाहरूको आकर्षण बढिरहेको बताइन्। पाँच वर्षपछि कांग्रेसले थप उचाइ हासिल गर्दै बहुमत ल्याउन सक्ने उनको दाबी छ।

‘हामी फेरि शक्तिमा फर्किन्छौँ। बहुमत ल्याउन सक्छौँ,’ उनले भनिन्।

पार्टी एकताका लागि दुवै पक्षले त्याग र सम्झौता गर्नुपर्ने भन्दै कोइरालाले आफू यही सन्देश दिन केन्द्रीय कार्यसमिति बैठकमा आएको बताइन्। उनले नयाँ पुस्ताले कांग्रेसलाई अघि बढाउने विश्वाससमेत व्यक्त गरिन्।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १ : ४७ बजे

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

सिन्धुपाल्चोक– तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।