काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको कुटपिट तथा साङ्घातिक आक्रमणमा संलग्न दोषीहरूलाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै विभिन्न निकायमा ज्ञापनपत्र बुझाइएको छ । साउन २८ गते सोमबार वितरण केन्द्रका कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, मेचीनगर नगरपालिकाको कार्यालय, वितरण तथा ग्राहक सेवा निर्देशनालय काठमाडौँ र कोशी प्रदेशीय कार्यालय विराटनगरलाई सम्बोधन गर्दै दोषीमाथि कारबाही नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
ज्ञापनपत्रमा उल्लेख भए अनुसार साउन २८ गते बिहान करिब ११:३० बजे धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारी सोमराज उप्रेती आफ्नो फाँटमा ग्राहकहरूलाई सेवा दिइरहेका थिए । सोही क्रममा शेखर ओली नाम गरेका व्यक्तिले श्रीकृष्ण मगरको विद्युत चुहावट सम्बन्धी फाइल लिएर चुहावट नियन्त्रण फाँटमा आई धम्की दिँदै कार्यरत कर्मचारी उप्रेतीमाथि मुक्का प्रहार गरेका थिए । आक्रमणबाट उप्रेतीको आँखा तथा टाउकोमा गम्भीर चोट लागेको थियो ।
घटनापछि सोही विषयमा छलफलका लागि इलाका प्रहरी कार्यालय धुलाबारी जाँदै गर्दा प्रहरी कार्यालयकै गेटमा मेचीनगर–११ बस्ने शम्भू राजवंशी लगायत अन्य १४/१५ जनाको समूहले पीडित उप्रेती तथा कार्यालयका अन्य कर्मचारीहरूमाथि पुनः साङ्घातिक हमला गरेको ज्ञापनपत्रमा उल्लेख छ । समूहको कुटपिटबाट उप्रेतीको टाउको, आँखा, छाती र गर्दनमा गहिरो चोट लागेको छ । शारीरिक तथा मानसिक रूपमा गम्भीर घाइते भएका उप्रेतीको हाल बी.एन्ड.सी. अस्पताल बिर्तामोड, झापामा भर्ना गरी उपचार भइरहेको छ ।
कर्मचारीहरूले कुटपिटमा संलग्न सम्पूर्ण व्यक्तिहरूको तत्काल पहिचान गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । दोषीलाई पक्राउ गरी कारबाही नगरिए साउन २९ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापामा पुनः ज्ञापनपत्र बुझाउने, साउन ३० र ३१ गते कालो पट्टी बाँधेर कार्यालयको काम गर्ने तथा भदौ १ र २ गते बिहानदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ ।
माग सम्बोधन नभएमा दैनिक अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरू समेत काम गर्न असमर्थ हुने र झापा क्षेत्रमा ब्ल्याक आउट गर्नेसम्मको स्थिति सिर्जना हुन सक्ने चेतावनी दिइएको छ । यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति वितरण केन्द्रका कार्यालय प्रमुख तथा सम्बन्धित निकायहरू नै जिम्मेवार हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।













प्रतिक्रिया