काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीचको विवाद थप चर्किएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी नेताहरूले १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नै कांग्रेसको वैधानिक सभापति भएको दाबी गर्दै १५औँ महाधिवेशन पनि उनकै नेतृत्वमा गर्नुपर्ने धारणा राखेका छन्।
भेलामा बोल्ने अधिकांश नेताहरूले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै त्यसबाट बनेको कार्यसमितिलाई १५औँ महाधिवेशन गर्ने अधिकार नभएको दाबी गरे। उनीहरूले नियमित र विशेष महाधिवेशनबाट बनेका दुवै संरचनालाई समायोजन गरेर पार्टी एकता कायम गर्नुपर्ने बताएका छन्।
कांग्रेस नेता विमलेन्द्र निधिले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मात्रै १५औँ महाधिवेशन गर्ने अधिकार रहेको दाबी गरे।
‘१४औँबाट जो सभापति बनेको छ, जो कार्यसमिति बनेको छ, त्यसलाई मात्र १५औँ महाधिवेशन गर्ने अधिकार छ। फर्केर जाँदा त्यही सन्देश लिएर जानुहोस्,’ निधिले भने।
उनले विशेष महाधिवेशनलाई ‘अराजक, अवैध, धोकाधडी र कब्जा गरेर भएको’ भन्दै त्यसबाट बनेको कार्यसमिति र पदाधिकारीलाई १५औँ महाधिवेशन गर्ने अधिकार नभएको जिकिर गरे।
नेविसंघका निवर्तमान सभापति दुजाङ शेर्पाले गगन थापा र विश्वप्रकाश शर्मामाथि गरिएको कारबाही फिर्ता लिएर देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सुनिश्चित गर्नुपर्ने माग गरे।
‘आदरणीय नेताहरू गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही फिर्ता गरौँ। १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सुनिश्चित गरौँ,’ शेर्पाले भने।
उनले देउवा नेपाल फर्किँदा विमानस्थलमा पुगेर स्वागत गर्न गगन थापा चुकेको भन्दै राजनीतिक संस्कारमाथि समेत प्रश्न उठाए। कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता नै कमजोर हुने भन्दै उनले पार्टीभित्र बृहत्तर एकतामा जोड दिए।
‘देउवा फर्किएसँगै कांग्रेस एकताबद्ध हुन्छ’
कांग्रेस नेता रमेश लेखकले शेरबहादुर देउवा हङकङबाट स्वदेश फर्किएसँगै पार्टी पुनः एकताबद्ध हुने विश्वास व्यक्त गरे।
इतर पक्षको भेलालाई सम्बोधन गर्दै लेखकले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्य गर्न शीर्ष नेतृत्वको उपस्थिति आवश्यक रहेको बताए।
उनले विशेष महाधिवेशनले कांग्रेसलाई एकताको बाटोमा लैजानुको सट्टा विग्रह र विभाजनतर्फ धकेलेको टिप्पणी गरे।
‘विशेष महाधिवेशन हुनुअघि नै नेताहरूलाई एक ठाउँमा ल्याउन अथक प्रयत्न भएका थिए, तर दुर्भाग्यवश हामीले त्यसको सकारात्मक परिणाम दिन सकेनौँ। विशेष महाधिवेशन रोक्न नसक्नुमा कहीँ न कहीँ धोका र कहीँ कमजोरी अवश्य भयो,’ लेखकले भने।
विशेष महाधिवेशनबाट सिर्जित जटिलताले पार्टीलाई विभाजनको संघारमा पुर्याएको भन्दै उनले अबको निकास दुवै पक्षको अस्तित्व स्वीकार गरेर अघि बढ्नु रहेको बताए।
१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको समितिलाई समायोजन गरेर अघि बढे मात्रै कांग्रेसभित्रको विवाद समाधान हुने उनको भनाइ थियो।
‘१४औँको कार्यसमिति पुनर्स्थापित नभएसम्म एकता सम्भव छैन’
कांग्रेस नेता एनपी साउदले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पुनर्स्थापित नगरेसम्म पार्टीभित्र वास्तविक एकता सम्भव नहुने बताए।
पार्टीको आन्तरिक विवाद अदालतसम्म पुगेको उल्लेख गर्दै उनले वैधानिक अस्तित्वको निर्क्यौल नभएसम्म वार्ता र सहमति औपचारिकतामा सीमित हुने दाबी गरे।
गगनमाथि मोहन बस्नेतको कडा प्रहार
कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सभापति गगन थापाको नेतृत्व क्षमतामाथि नै प्रश्न उठाए।
उनले थापाको नेतृत्वका कारण देशको ठूलो र बलियो पार्टी कांग्रेस कमजोर बनेको आरोप लगाए।
‘बुढापाकाले भन्नुहुन्थ्यो, बोकाले दाइँ हुने भए गोरु किन चाहिन्थ्यो? अहिले कांग्रेसमा त्यस्तै भएको छ,’ बस्नेतले भने, ‘शेरबहादुर देउवाको नेतृत्वमा सबैतिर बहुमत र राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति रहेको कांग्रेस अहिले गगनको नेतृत्वमा सानो साइजमा खुम्चिएको छ। आज पार्टी चल्न सकेको छैन, भष्म खरानी भएको छ।’
उनले गगन थापाले विगतमा ५५ वर्ष पुगेपछि राजनीति छाड्ने बताएको प्रसंग निकाल्दै अहिले ५२ वर्ष पुगिसकेको भन्दै प्रश्न उठाए।
‘के अब आगामी चुनावमा गगन थापा उम्मेदवार नहुने हो?’ बस्नेतले प्रश्न गरे।
थापाले राजनीति छाड्न तयार भए आफू पनि आगामी चुनावमा उम्मेदवारी नदिने उनले घोषणा गरे।
मुलुकको जटिल राजनीतिक परिस्थितिलाई निकास दिन र आन्तरिक कलहमा फसेको कांग्रेसलाई पुनः एकताबद्ध बनाउन देउवाको नेतृत्व आवश्यक रहेको बस्नेतको दाबी थियो।
‘हामी लास र दास होइनौँ’
कांग्रेस नेता जितजंग बस्नेतले आफूहरू पार्टीभित्र कुनै नेताको ‘लास र दास’ नभएको टिप्पणी गरे।
‘हामी लास र दास पनि होइनौँ। हामी गगन थापाजस्तो लास र गगन थापाजस्तो दास पनि होइनौँ। हामी पार्टी एकता गर्न चाहन्छौँ,’ उनले भने।
पार्टी एकता गर्दा कांग्रेसले आफ्नो लोकतान्त्रिक समाजवादको मूल विचार छाड्न नहुने उनको भनाइ थियो।
‘पार्टी एकता विधि र विधानमा हुन्छ। लोकतान्त्रिक समाजवाद छाडेर पार्टी एकता हुन सक्दैन,’ बस्नेतले भने।











प्रतिक्रिया