म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकको मुख्य चुनौती बनेको छ । उत्तरी म्याग्दीका रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम चीन र भारतलाई जोड्ने सडक पनि हाे ।
कालीगण्डकी नदीको तिरबाट भगवतीको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो जाने जोखिम बढेपछि बीचमा पर्ने सडकमा यातायात सञ्चालन गर्न जोखिम बन्दै गएको स्थानीय बताउछन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सिरुबारी पहिरोले बर्खायाममा बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या हुँदै आएको बताए ।
“सामान्य वर्षा हुने बित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे हुँदा जोखिम मोलेर सवारीसाधन वारपार गराउनुपर्ने अवस्था छ”, उनले भने, “सवारीसाधन गुडिरहेको र यात्रु हिडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने, चोटपटक लाग्ने, क्षति पुग्ने गरेकाले सावधानी अपनाएर यातायात सञ्चालन गर्नुपर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ ।”
अध्यक्ष पुनले सिरुबारी पहिरो नियन्त्रण र यातायात व्यवस्थापनका लागि दुई वटा विकल्प अघि सारिएको बताए । सिरुबारीबाट अन्नपूर्ण गाउँपालिकातर्फ दुई वटा बेलिब्रिज जडान गरेर अस्थायी रूपमा यातायात सञ्चालन गर्न सकिने बताउँदै उहाँले दीर्घकालीन समाधानका लागि पहिरो नियन्त्रणको आयोजना सञ्चालन गर्नुपर्ने उनले उल्लेख गरे ।
“सडकको तल कालीगण्डकी नदी छ भने करिब ८०० मिटरमाथि २०० मिटर चौडाइका पहिरो छन् । पाखो पहिरोमा परिणत भएको छ । माझखर्कको बस्तीमा पनि जोखिम बढाएको छ । कोरला नाका हुँदै आवतजावत गर्ने मालबाहक कन्टेनरले पनि यही सडक प्रयोग गर्छन्”, अध्यक्ष पुनले भने ।
मुस्ताङ जानेआउने यात्रुबाहक बस र अन्य सवारीसाधनको सिरुबारी पहिरो क्षेत्रमा जाम हुँदा आवागमनमा थप सास्ती हुने गरेको उनको भनाइ छ । गाडी फस्ने र साँघुरो भएकाले जाम हुने समस्या छ । साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिँदैन । उनका अनुसार वर्खायाम सुरु भएयता यस वर्ष बेनी(जोमसोम सडकअन्तर्गत सबैभन्दा बढी सिरुबारीमा अवरुद्ध भएको छ ।
बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयका प्रमुख तेजस्वी शर्माले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । पछिल्ला तीन वर्षका वर्खायामभरि पहिरो पन्छाउँदै यातायात सञ्चालन गर्दै आइएको जनाउँदै उनले दुई हप्ताअघि सिरुबारीमा खसेको पहिरोले सडक विभागको एउटा डोजरमा क्षति पुगेको बताए।
आयोजना कार्यालयले गत हिउँदा सिरुबारी पहिरोको अस्थायी रोकथामका लागि ‘बेन्चिङ’ (भीररसडक निर्माण गर्दा पहिरो नजाओस् र डिल नभासियोस् भनेर माटोलाई सिँढी आकारमा काट्ने) विधि अपनाएको थियो । यसपालि ‘बेन्चिङ’ गरेकोभन्दा फरक ठाउँ खोल्सा क्षेत्रमा पहिरो गएको छ । असार अन्तिम साता मुस्ताङबाट फर्कने क्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिरुबारी पहिरो अवलोकन गर्दै चालु आर्थिक वर्षभित्र रोकथामको काम सुरु गर्न बजेटको व्यवस्थापन गरिने प्रतिबद्धता जनाएका थिए।
यही साउन २ गते गृह जिल्ला आएका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले पनि अन्तरदेशीय व्यापारिक मार्गमा पर्ने सिरुबारी पहिरोको दीर्घकालीन समाधानका लागि सरकारले काम अघि बढाइसकेको बताए ।
आयोजना प्रमुख शर्माले भूगर्वविद्हरूको टोलीबाट पहिरोको अनुसन्धान गरी रोकथामको आयोजना सञ्चालन गरिने बताए। गलेश्वर, चमेरे, महभिर, भीरकाटे, बैसरी, गुइठेभिर, लामभिक्ता, लाटाखोला क्षेत्रमा पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने गत आर्थिक वर्षमा सम्झौता भएका आयोजनाको निर्माण बर्खायाममा पनि निरन्तरता दिइएको बेनी(जोमसोम(कोरला सडक आयोजनाका सूचना अधिकारी जेमकुमार बैठाले जानकारी दिए।












प्रतिक्रिया