उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित « Khabarhub

उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इलाम- इलामको माङसेबुङ गाउँपालिका–२ का किसान करनवीर लिम्बूले पाँच वर्षअघि व्यावसायिक एभोकाडो खेती सुरु गरेका थिए । ‘योङहाङ कृषि तथा पशुपालन फार्म’ दर्ता गरी एभोकाडो खेती सुरु गरेका लिम्बूले अन्नबाली उत्पादन हुने २० रोपनी क्षेत्रफलमा २०० वटा एभोकाडो रोपे । सुरुमा बिरुवा किन्न, खाडल निर्माण, मल तथा सिँचाइ व्यवस्थापनमा राम्रै खर्च गरे । एभोकाडोको बिरुवा पनि राम्ररी नै हुर्कियो ।

गत वर्षदेखि फुल्न थालेका एभोकाडोका बोटमा यस वर्ष फल पनि राम्रोसँग लाग्न थालेको थियो तर फल लागिरहेका एभोकाडोका बोटहरु एकाएक सुक्न र मर्न थालेपछि लिम्बू चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने ‘सिजन’मा नै बोटहरु मर्न थालेपछि उनी चिन्तित बनेका हुन् । एभोकाडोको बोटमा फल लाग्न थालेसँगै पात पहेँलिने, हाँगा सुक्ने र पूरै बोट मर्ने समस्या देखिएको लिम्बूले बताए ।

राम्रो आम्दानीको अपेक्षा गरेका उनको एभोकाडो बगानमा एकाएक रोग देखापरेको हो । उनले बारीमा लगाएका अधिकांश बोट मर्न थालेका छन् । सुरुका वर्षहरुमा बोट राम्रोसँग हुर्किए पनि उत्पादन दिने बेलामा बोट मर्न थालेपछि आफू चिन्तित भएको उनले बताए । उनले २०७८ सालमा धनकुटाको पाख्रिबासबाट प्रतिगोटा रु २०० का दरले एभोकाडोको बिरुवा खरिद गरेर रोपेका थिए ।

“विसं २०७८ धनकुटाको पाख्रिबासबाट प्रतिगोटा रु २०० का दरले २०० वटा एभोकाडोको बिरुवा ल्याएर खेतीयोग्य बारीमा रोपेको थिएँ,” उनले भने, “यो वर्षदेखि मज्जाले फल समेत लाग्न थालेको थियो तर एकाएक बोटहरु मर्न थालेपछि चिन्तित बनाएको छ ।”

लटरम्म फल लागेको एभोकाडोका दाना खस्नाका साथै बोटहरु नै मर्ने समस्या देखिएको उनको भनाइ छ । अन्नबाली उत्पादन हुने जमिनमा व्यावसायिक रुपमा एभोकाडो खेती सुरु गरेका लिम्बूलाई बोट मर्दा लाखौँको क्षति हुने चिन्ता छ । उनका अनुसार सुरुमा तल्लो भागमा पात पहेँलिने, हाँगा कमजोर हुँदै जाने र पूरै बोट सुक्ने समस्या देखिएको छ ।

“बिरुवा राम्रोसँग हुर्किएर यो वर्षदेखि फल पनि लाग्न थालेको थियो,” उनले भने, “एकपछि अर्को बोटको पात पहेँलिँदै बोटहरुसमेत मर्न थालेका छन् । सुरुमा गरेको लगानी रकम कसरी उठाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।” एभोकाडो खेतीका लागि बिरुवा खरिददेखि जग्गा तयारी र मल व्यवस्थापनसम्म ठूलो लगानी भएको उनले बताए ।

पाँच वर्षसम्म हुर्काएर उत्पादन दिन थालेका बोट मर्न थालेपछि लाखौँको क्षति भएको उनको भनाइ छ । यतिबेला इलाममा प्रतिकिलो रु १०० देखि रु १५० सम्ममा बोटबाटै एभोकाडो बिक्री भइरहेको छ । राम्रो बजार मूल्य पाइने र एकपटक बगान स्थापना गरेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले इलामका किसानले अन्य परम्परागत खेती छाडेर एभोकाडो खेती लगाउन थालेका छन् ।

एभोकाडोमा भिटामिन र खनिजतत्व पर्याप्त मात्रामा पाइने विज्ञहरुको भनाइ छ । विज्ञहरुका भनाइअनुसार एउटा एभोकाडोमा ६४ क्यालोरी पाइन्छ । यसमा पाँच ग्राम चिल्लो, तीन/चार ग्राम कार्बोहाइड्रेट, एक ग्रामभन्दा कम चिनी र तीन ग्राम फाइवर हुने गरेको छ । एभोकाडोमा भिटामिन ‘सी, ई, के, बी’ पाइन्छ ।

साथै राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पाइने भएकाले एभोकाडो पूर्ण रुपमा स्वस्थ्यवद्र्धक मानिन्छ । यसको खेती समुद्री सतहबाट दुई हजार ५०० मिटर उचाइसम्म खेती गर्न सकिन्छ । बिरुवा रोपेको चार/पाँच वर्षदेखि उत्पादन दिने भएकाले समथर भूभागसँगै पाखोबारी तथा कान्लामा एभोकाडो रोपेर किसान नियमित आम्दानीको स्रोत बनाउन थालेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  १२ : ०१ बजे

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा