गार्डिओला गए, सिटी कमजोर भएन : म्यानचेस्टर डर्बीमा युनाइटेड फेरि निरीह « Khabarhub

गार्डिओला गए, सिटी कमजोर भएन : म्यानचेस्टर डर्बीमा युनाइटेड फेरि निरीह


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्यानचेस्टर- म्यानचेस्टर सिटीमा १० वर्ष बसेपछि प्रशिक्षक पेप गार्डियोला गए सिजन बाहिरिए। तर उनी गए पनि म्यानचेस्टरको फुटबलमा शक्तिको सन्तुलन फेरिएको छैन। आइतबार ओल्ड ट्राफोर्डमा सिटीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै सहरमा आफ्नो दबदबा कायमै रहेको स्पष्ट संकेत दिएको छ।

नयाँ प्रशिक्षक एन्जो मारेस्काको रणनीतिले माइकल क्यारिकलाई माथ दिँदा सिटीले १० खेलाडीमा सीमित भएर पनि कठिन जित निकाल्यो। यो जितसँगै सिटी लिगको शीर्षस्थानमा रहेको आर्सनलसँग गोलअन्तरका आधारमा दोस्रो स्थानमा पुगेको छ । सिटीले नयाँ सिजनमा आफ्नो शतप्रतिशत सुरुआत कायमै राखेको छ।

युनाइटेडका समर्थकहरूलाई यसपटक परिस्थितिले आफूहरूको पक्षमा मोडिन थालेको विश्वास गर्ने आधार थियो। जनवरीको मध्यमा अन्तरिम प्रशिक्षकका रूपमा क्यारिक आएपछि सिजनको अन्त्यसम्म प्रिमियर लिगमा सबैभन्दा धेरै अंक बटुलेको टोली युनाइटेड थियो। त्यसक्रममा उसले ओल्ड ट्राफोर्डमै सिटीलाई २-० ले हराएको थियो।

क्यारिकको टोलीले अन्ततः दोस्रो स्थानको सिटीभन्दा सात अंक मात्रै पछाडि रहेर सिजन सकाएको थियो। त्यसमाथि गार्डिओलाले सिटीमा १० वर्ष लामो उपाधिले भरिएको कार्यकाल अन्त्य गर्ने घोषणा गरे। सिटीले रोड्री, बर्नार्डो सिल्भा र जोन स्टोन्सजस्ता प्रिय खेलाडीलाई समेत बिदाइ गरेपछि २०२६/२७ सिजनमा पहिलोपटक युनाइटेडले आफ्ना छिमेकीलाई उछिन्ने आशा गरेको थियो।

तर नयाँ सिजन सुरु भएको चार खेलमै म्यानचेस्टर फेरि पुरानै अवस्थामा फर्किएको देखिएको छ। सहर अझै स्पष्ट रूपमा निलो छ।

सिटीको शानदार प्रदर्शन

फिल फोडेनले पहिलो हाफको मध्यतिर ब्रुनो फर्नान्डेजमाथि लात्ती हानेपछि रातो कार्ड पाए। घटनामा सम्पर्क निकै कम थियो तर फर्नान्डेजको नाटकीय प्रतिक्रिया भने आलोचनायोग्य थियो। तर फोडेनले आफूलाई नियन्त्रण गर्न नसकेको मूल्य चुकाउनुपर्‍यो, त्यसपछि सिटी ६७ मिनेट १० खेलाडीमा सीमित भयो।

त्यसपछि पनि सिटीको सामूहिक दृढता झन् बढ्यो। मारेस्काले टोलीको संरचना परिवर्तन गर्दै साँघुरो ४-४-१ बनाए। यसले मैदानको मध्यभागमा युनाइटेडका लागि ठाउँ बन्द गरिदियो । घरेलु टोलीलाई प्याट्रिक डोर्गु तथा डिओगो डालोटमार्फत बाहिरबाट आक्रमण गर्न बाध्य बनायो।

युनाइटेडसँग बलको स्वामित्व बढी भए पनि उसको खेल अनुमान गर्न सकिने खालको थियो। सिटीले आफ्ना विङ्ग क्षेत्र त्यागेर पेनाल्टी क्षेत्रभित्र खेलाडीको संख्या बढायो र आएका क्रसहरू सहजै रोक्यो।

दोस्रो हाफमा मारेस्काले रयान चेर्कीको स्थानमा इलिमान एनडियाएलाई मैदानमा उतारे। पूर्वएभर्टन खेलाडीले लगातार दौडिएर सिटीको रक्षापंक्ति अझ बलियो बनाए भने एर्लिङ हालान्डसँग मिलेर आक्रमणमा पनि खतरा थपे।

अन्ततः ६०औँ मिनेटमा सिटीले गोल गर्‍यो। जोस्को ग्वार्डिओलको क्रसमा हालान्डले पछाडिको पोस्टतर्फ पुगेर गोल गर्दै सिटीलाई अग्रता दिलाए।

भार विवादले युनाइटेडको निराशा थप्यो

हालान्डको गोल सुरुमा अफसाइड भन्दै रद्द गरिएको थियो। तर भीएआरले हस्तक्षेप गर्दै मुख्य रेफ्री माइकल ओलिभरलाई गोल कायम गर्न सिफारिस गरे।

भीएआरले हालान्ड अफसाइड नभएको देखायो। तर गोल हुनुअघि एनजो फर्नान्डेज अन्तिम डिफेन्डरभन्दा धेरै अगाडि थिए। उनले बल छोएनन्, तर लिसान्ड्रो मार्टिनेजको बल हेर्ने बाटो अवरुद्ध गरिदिँदा उनको क्लियरेन्समा असर पारेको देखिएको थियो।

युनाइटेडका प्रशिक्षक क्यारिकले निर्णयलाई ‘स्तब्ध पार्ने’ बताए । उता मार्टिनेजले यसलाई ‘अन्याय’ भने । पूर्वसिटी डिफेन्डर माइक रिचर्ड्सले समेत स्काई स्पोर्ट्सको स्टुडियोमा रेफ्रीको निर्णय गलत भएको स्वीकार गरे।

खेल सकिएको केही घण्टामै प्रिमियर लिगको रेफरिङ निकाय प्रो रेफले पनि उक्त गोलसम्बन्धी निर्णयमा ‘निर्णयको त्रुटि’ भएको स्वीकार गर्‍यो। तर भीएआर विवादले युनाइटेडको कमजोर प्रदर्शनलाई भने ढाक्न सकेन।

१० खेलाडीविरुद्ध पनि युनाइटेड निरीह

खेलको सुरुआती २३ मिनेट सावधानीपूर्ण थियो। तर फोडेनको रातो कार्डपछि युनाइटेडले थप ऊर्जा पाउनुपर्ने थियो। उल्टै उसले बललाई बारम्बार छेउ र पछाडि पास गर्‍यो, अन्धाधुन्ध पेनाल्टी क्षेत्रमा बल पठायो र टाढाबाट अनुमानका भरमा प्रहार गरिरह्यो।

कोबे माइनुले प्रहार गरेको बल पोस्टमा लाग्यो भने मार्कस रासफोर्डको फ्रिकिक पनि काठमा ठोक्कियो। तर संख्यात्मक फाइदा हुँदाहुँदै युनाइटेडले लक्ष्यमा जम्मा दुई प्रहार गर्न सक्यो।

दोस्रो प्रहार इन्जुरी समयमा आएको थियो । त्यो नै खेल बराबरी गर्ने उसको सबैभन्दा राम्रो अवसर बन्यो। फर्नान्डेजले अन्ततः सही र ठाडो पास दिँदै ब्रायन एम्बुमोलाई गोलको अवसर बनाए। तर क्यामरुनी खेलाडीको प्रहार सिटीका गोलरक्षक जियानलुइजी डोनारुम्माले बचाउँदै कर्नरमा पठाइदिए।

युनाइटेडको खेल कठोर, दिशाहीन र पहिचानविहीन देखियो। पछिल्लो १३ वर्षमा यस्तै टिप्पणी कति पटक सुनिइसकिएको छ भन्ने प्रश्न उठ्छ।

त्यसको ठीक विपरीत सिटीका प्रत्येक खेलाडीले मैदानमा आफूलाई पूर्ण रूपमा खटाए। बल गुमाएपछि तत्काल दबाब सिर्जना गर्ने र आवश्यक पर्दा संघर्ष गर्ने उनीहरूको क्षमता स्पष्ट देखियो।

‘हामीले योजना परिवर्तन गर्नुपर्‍यो, तर एन्जोले हाम्रा फरक क्षमताअनुसार खेल्ने योजना दिए,’ हालान्डले भने, ‘म व्यक्तिगत रूपमा अवसरको प्रतीक्षा गरेर त्यसलाई उपयोग गर्न तयार हुनुपर्छ। हाम्रो टोलीमा लडाकु खेलाडीको कमी छैन। हाम्रो मिडफिल्ड हेर्नुस्, उनीहरू संघर्ष गर्न मन पराउँछन्।’

हालान्डले १० खेलाडीमा सीमित भएर पनि ओल्ड ट्राफोर्डमा बल नियन्त्रणमा राख्दै खेल जित्नु टोलीको ‘व्यक्तित्व’ भएको बताए।

युनाइटेडसँग भने त्यस्तो व्यक्तित्व र संघर्ष गर्ने मानसिकता पर्याप्त देखिएन। यही कारण दुई क्लबबीचको खाडल अझै निकै ठूलो रहेको देखिएको छ।

सिटीले मारेस्कालाई साथ दियो, युनाइटेडले सकेन

गार्डिओलाको विरासतसँग नजिक पुग्न मारेस्कासामु ठूलो चुनौती छ। तर सिटीमा उनको सुरुआत भने उत्कृष्ट भएको छ। सबै प्रतियोगिता गरी सिटीले पाँच खेलमा पाँच जित निकालेको छ । ठूला उपाधिका लागि आवश्यक सामूहिक दृढता अझै कायम रहेको देखाएको छ।

मारेस्काले समर ट्रान्सफर विन्डोमा क्लबको बलियो समर्थन पनि पाए। सिटीले नयाँ खेलाडी खरिदमा कीर्तिमानी ४५६ मिलियन पाउन्ड खर्च गर्‍यो। एनजो फर्नान्डेज, एनडियाए, इलियट एन्डरसन र अयुब बुआद्दी प्रमुख नयाँ अनुहार बने।

मारेस्कालाई सफल हुने अधिकतम सम्भावना दिन सिटीले टोलीलाई आक्रामक रूपमा बलियो बनायो। युनाइटेड भने त्यसको ठीक उल्टो देखियो। सर जिम र्‍याट्क्लिफ र आईएनईओएसले आवश्यक लगानी नगर्दा टोली सिटीभन्दा चार खेलमै आठ अंक पछाडि परिसकेको छ।

युनाइटेडले युरी टिलेमान्स, कार्लोस बालेबा र आन्द्रे सान्तोसलाई मिडफिल्ड बलियो बनाउन ल्यायो। तर क्यारिकलाई कम्तीमा दुई डिफेन्डर र बेन्जामिन सेस्कोलाई चुनौती दिने एक स्ट्राइकरको पनि आवश्यकता थियो।

आईएनईओएसको सतर्क ट्रान्सफर रणनीतिको मूल्य क्यारिकले चुकाइरहेका छन् । उनी लामो समयसम्म प्रशिक्षक रहिरहने सम्भावना कम देखिन्छ। र्‍याट्क्लिफ नेतृत्वको व्यवस्थापनअन्तर्गत युनाइटेड मैदानबाहिर पनि अस्तव्यस्त देखिएको छ।

गलत निर्णय र असफलताको यही चक्र कम्तीमा अर्को वर्षसम्म जारी रहने देखिन्छ। म्यानचेस्टरमा अब नयाँ शक्तिसंघर्ष सुरु हुने संकेत छैन। सिटी अझै पनि धेरै टाढाको अन्तरले सहरको शीर्ष टोली हो।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  २ : ५९ बजे

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई

भोटेकोशी बाढीको २० दिनपछि बालेनले भेटे स्थानीय तहका जनप्रतिनिधि

ठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत भदौ १०

‘कान्स’मा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’ले पनि तान्न सकेन घरेलु दर्शक

काठमाडौं – कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन