काठमाडौं- नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले छुट्टाछुट्टै रूपमा प्रस्तुत भएका दुई प्रतिवेदनलाई एकीकृत गरी एउटै प्रतिवेदन तयार गर्ने जिम्मा तीन शीर्ष नेताहरूलाई दिएको छ।
कार्यदलको शनिबारदेखि सोमबार दिउँसोसम्म काभ्रेपलाञ्चोकको बल्थली रिसोर्टमा बसेको बैठकले संयोजक एवम् उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल रहेको तीन सदस्यीय सम्पादन टोली गठन गरेर काठमाडौं फर्किएको हो ।
एमाले सचिव राजन भट्टराईका अनुसार बैठकमा उठेका विषयहरू समेटेर दुवै प्रतिवेदनलाई एकीकृत गरी अन्तिम मस्यौदा तयार गर्न टोलीलाई जिम्मेवारी दिइएको छ। त्यसपछि कार्यदलको बैठक आगामी १ गतेसम्मका लागि स्थगित भएको छ।
तर, कार्यदलभित्र दुई प्रतिवेदनलाई लिएर एमालेमा ठूलो मतभेद चर्किएको छ। महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा पार्टीको पछिल्लो विधान अधिवेशनबाट हटाइएको ७० वर्षे उमेर हद र मुख्य कार्यकारी पदमा बढीमा दुई कार्यकालको व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरिएको छ। ६५ पृष्ठ लामो प्रतिवेदनमा एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा रहन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ।
उता कार्यदल संयोजक बादलले भने आफ्नो छुट्टै प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्न नहुनेलगायत विषय समेटेका छन्। उनले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थाको समेत बचाउ गरेका छन्। उनी अहिले ओलीलाई एमालेको सत्तामा टिकाउने कोसिसमा सचिव महेश बस्नेत जस्तै खटिएका छन् । त्यहीकारण उनले महासचिव पोखरेलको प्रतिवेदनलाई अस्वीकार कोसिस गरेका थिए । तर पार्टी सचिवालयमा ओली जस्तै कार्यदलमा पनि बादल अल्पमतमा परे।
दुई प्रतिवेदनमध्ये महासचिव पोखरेलको प्रतिवेदनमा कार्यदलका बहुसंख्यक सदस्यको समर्थन देखिएपछि एमालेभित्र विवाद बढेको हो। उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङलगायत प्रभावशाली नेताहरू पोखरेलको प्रस्तावको पक्षमा उभिएका छन्। यसका कारण अध्यक्ष ओली पनि दबाबमा छन् । उनलाई नेतृत्व छाड्न निरन्तर दबाब छ । तर उनी पार्टी बैठक पनि टार्दै एमालेको सत्तामा टिकिरहेका छन्।
पार्टी बैठक पनि टार्दै आएका उनले सोमबार कार्यदलको बैठक चलिरहेका बेला कार्यदल संयोजक बादललाई फोन गरेर विशेष महाधिवेशन तथा प्रतिनिधि परिषद्को विषयमा सहमति नगर्न निर्देशन दिएको खुलेको छ।
ओलीले विशेष महाधिवेशन स्वीकार गर्नुपर्ने अवस्था आए बैठक नै छाडेर हिँड्नेसम्मको निर्देशन बादललाई दिएको खुलेको छ। ‘विशेष महाधिवेशन र प्रतिनिधि परिषद्मा सहमति नगर्नू । गर्नुपर्ने अवस्था आए बैठक क्यान्सिल गरेर हिँड्नू,’ ओलीले बादललाई भनेका थिए ।
महासचिव पोखरेलको प्रतिवेदनमा विशेष महाधिवेशनको विषय समेटिएपछि ओली पक्षलाई तनाव भएको छ। सचिवालय र केन्द्रीय कमिटीमै बहुमत जुटाउन गाह्रो देखेको ओली पक्षले विशेष महाधिवेशनमा जाँदा कमजोर भएर थप पकड गुमाउने निष्कर्ष निकालेको छ।
गत शुक्रबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको कार्यदल बैठकमा संयोजक बादलले अलग अलग प्रतिवेदन पेश गरेका थिए । महासचिव पोखरेलको तर्फबाट तयार गरिएको प्रतिवेदन पनि बादलले पेश गरेका थिए । अर्को संशोधित प्रतिवेदन ओलीको इच्छाअनुसार बादलले पेश गरेका थिए।
तर दुई प्रतिवेदनको विवाद नसुल्झिएपछि नेताहरू काभ्रेको बल्थली रिसोर्ट पुगेका थिए । तर त्यहाँ पनि सहमति हुन सकेन। अब दुई अलग प्रतिवेदनलाई एकै बनाउन तीन नेतालाई जिम्मेवारी दिइएको हो । उपाध्यक्ष बादलकै प्रस्तावअनुसार तीन नेतालाई जिम्मेवारी दिने काम भएको छ।
एमालेको गत गत जेठ १० गते बसेको सचिवालय बैठकले फागुन २१ मा व्यहोरोको अकल्पनीय धक्काबाट उठ्दै पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एक बनाउन शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना बनाउन कार्यदल गठन गरेको थियो।
कार्यदलमा उपाध्यक्ष बादल संयोजक छन् । उता पछिल्लो समय ओलीसँग टाढिएका महासचिव पोखरेलसहित १५ जना सदस्य छन् । महासचिव पोखरेललाई ओलीले कार्यदलका सदस्य-सचिवको भूमिका दिएका थिए ।












प्रतिक्रिया