काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन उद्धार, सरसफाइ, राहत व्यवस्थापन तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ ।
बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती, सडक तथा पुलमा ठूलो क्षति पुगेको छ । नागरिकका घरमा थुप्रिएको ढुङ्गा, माटो, बालुवा तथा भवनका भग्नावशेष हटाउँदै प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन नेपाल प्रहरी सीमित स्रोतसाधनका बाबजुद निरन्तर खटिरहेको जनाएको छ ।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा ढुङ्गा माटो हटाउने, घरका भग्नावशेष सफा गर्ने तथा विद्यालय, स्वास्थ्य संस्थालगायत सार्वजनिक महत्वका भवनको सरसफाइ गरी पुनः सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखेको छ । स्थानीय तह, स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायसँगको सहकार्यमा प्रहरीले आवश्यक काम गरिरहेको जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बाढी प्रभावित क्षेत्रका नागरिकको जीवनयापन सहज बनाउन प्रहरी थप क्रियाशील भएर लागेको बताए । “पीडितहरूको घर सफा गर्ने, भग्नावशेषमा भेटिएका नागरिकका धनमाल सम्बन्धित धनीलाई बुझाउने तथा विद्यालय र स्वास्थ्य संस्थामा जम्मा भएका ढुङ्गा माटो हटाउन नेपाल प्रहरी अहोरात्र खटिरहेको छ”, उनले भने ।
प्रवक्ता काफ्लेले विपद्का कारण सिर्जित मनोवैज्ञानिक त्रासलाई मध्यनजर गर्दै नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन प्रहरी प्रयासरत रहेको उल्लेख गरे । भोटेकोशी बाढीले भौतिक तथा मानवीय क्षतिसँगै प्रभावित क्षेत्रका बासिन्दामा मनोवैज्ञानिक त्राससमेत सृजना गरेको छ । विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामा परेको मानसिक असरलाई ध्यानमा राख्दै प्रहरीले मनोपरामर्श सेवासमेत प्रवाह गरिरहेको छ ।
घरपरिवार तथा सम्पत्ति गुमाएका पीडितमा उत्पन्न हुनसक्ने मानसिक तनावलाई ध्यानमा राखेर उनीहरूको दैनिक जीवनयापन सहजीकरण गर्ने कार्यलाई प्रहरीले प्राथमिकता दिएको हो ।
विभिन्न जिल्लाका होल्डिङ सेन्टरलगायतका स्थानमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुनसक्ने दुव्र्यवहार र हिंसाका घटनाप्रति प्रहरी थप संवेदनशील भएर लागेको छ । उद्धार गरिएका व्यक्तिलाई राहत वितरण गर्दा स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी व्यवस्थित र पारदर्शी रूपमा काम भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार बाढी प्रभावित जिल्लामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत हालसम्म १९६ वटा कार्यक्रम सञ्चालन गरी ४७ हजार ७७४ जना लाभान्वित भएका छन् । यस्तै, विपद्पश्चात्का विभिन्न व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउन प्रहरीले ‘टिमुरे टु त्रिवेणी’ अपरेसन सञ्चालनमा ल्याएको छ ।












प्रतिक्रिया