भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने « Khabarhub

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ। सरकारले तीन वर्षभित्र स्थायी आवास निर्माण गरी प्रभावित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।

नेपाल वातावरण पत्रकार समूहले मंगलबार आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ विषयक कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट, गोरखा र धादिङका परिवारका लागि स्थायी बसोबासको व्यवस्था गर्नुअघि अस्थायी आवास निर्माण गरिनेछ।

सरकारले बाढीपीडित परिवारलाई पाँच महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि दुई हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइनेछ। प्रभावित परिवारलाई आगामी तीन महिनाका लागि प्रतिपरिवार ४५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको उप्रेतीले बताए।

कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक सञ्जय उप्रेतीले पुनःस्थापनाका क्रममा विपद् जोखिम र इन्जिनियरिङ पक्षसँगै सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षलाई पनि ध्यान दिनुपर्ने बताए।

बाढीबाट प्रभावित स्थानीयले भने अझै मानसिक त्रास र अनिश्चिततामा जीवन बिताउनुपरेको गुनासो गरेका छन्। टिमुरेकी स्थानीय छेदिन डोल्माले बाढीपछिको मानसिक त्रासबाट आफूहरू मुक्त हुन नसकेको बताइन्। स्थानीय नामग्याल घलेले आफूहरू पूर्ण रूपमा विस्थापित भएको र अब कहाँ जाने भन्ने टुङ्गो नलागेको बताए।

टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक फूर्वु दोर्जेका अनुसार बाढीमा विद्यालयका १० विद्यार्थी बेपत्ता भएका छन्। विद्यालय भवनसमेत पूर्ण रूपमा नष्ट भएकाले आगामी दिनमा पठनपाठन सञ्चालन र शैक्षिक वातावरण निर्माणबारे अन्योल रहेको उनले बताए।

रसुवाका पत्रकार निराजन पौडेलले बाढीमा आफ्ना आमाबुवासहित परिवारका पाँच सदस्य गुमाएको र बाढी आएको ५० दिन बितिसक्दा पनि राहत नपाएको गुनासो गरे।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ७ : ५० बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक