इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध अधिकारप्रति आफ्नो देशको पूर्ण समर्थन रहेको बताएका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार इस्लामाबादमा ‘मक्का रक्षा गठबन्धन’का पहिलो महासचिव नौमान महमुदसँगको भेटमा सरिफले साउदी अरबको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षाका लागि पाकिस्तान प्रतिबद्ध रहेको बताएका हुन्।
भेटका क्रममा सरिफले महमुदलाई नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै ‘मक्का संयुक्त रक्षा सम्झौता’लाई क्षेत्रीय शान्ति, एकता र स्थिरताका लागि ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका थिए।
प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा सम्झौताअन्तर्गत साउदी अरबको सार्वभौमिकता र सुरक्षाको रक्षा गर्न पाकिस्तान दृढतापूर्वक प्रतिबद्ध रहेको उल्लेख छ।
भेटमा महासचिव महमुदले सम्झौताको ढाँचाभित्र सदस्य राष्ट्रहरूबीच रक्षा तथा रणनीतिक सहयोग अभिवृद्धि गर्न भइरहेका प्रयासबारे प्रधानमन्त्री सरिफलाई जानकारी गराएका थिए।
यसैबीच, यमनको हुथी समूह र साउदी नेतृत्वको गठबन्धनबीच पछिल्ला दिनमा एकअर्काविरुद्ध आक्रमण जारी रहेको समाचारमा उल्लेख छ। अक्टोबर १० मा साउदी राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको र ३०९ जना घाइते भएको जनाइएको छ।
साउदी अरब, टर्की र पाकिस्तानले गत अगस्टमा ‘मक्का संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमणका रूपमा लिइनेछ। यसले तीन देशबीच सामूहिक सुरक्षा र रक्षा सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।














प्रतिक्रिया