काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाणित भए सम्बन्धित सदस्यलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका हुन् ।
उनले त्यस्तो गतिविधिमा संलग्न भएको प्रमाण भेटिए सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारवाही गरिने स्पष्ट पारे । पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको उनको भनाइ थियो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक निर्वाचनको तयारीमा जुट्नसमेत आग्रह गरे ।
बैठकमा एमाले सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना हुने भेलाको तयारीबारे छलफल हुने जानकारी दिए ।
बैठक आइतबारसम्म सञ्चालन हुने एमालेले जनाएको छ ।














प्रतिक्रिया