ललितपुर- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू अब कुनै पदको अपेक्षामा नरहेको बताउँदै पार्टी र देशका लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको देउवा समूहअन्तर्गत ललितपुरमा आयोजित १५औँ नियमित जिल्ला अधिवेशनको आज महालक्ष्मीस्थानमा उद्घाटन गर्दै उनले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो भएको बताए।
कांग्रेस जनताको त्याग र बलिदानबाट स्थापित पार्टी भएकाले कसैले पनि आफ्नो स्वार्थअनुसार नियन्त्रण गर्न नसक्ने उनको भनाइ थियो । पार्टीको ऐतिहासिक विरासत र योगदानको सम्मान गर्दै सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
पार्टीभित्र देखिएका विवाद तथा विशेष महाधिवेशनसम्बन्धी विषय विधि, विधान र न्यायिक प्रक्रियामार्फत समाधान गर्नुपर्ने पूर्वसभापति देउवाले बताए।
कार्यक्रममा कांग्रेस नेता मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेत, बागमती प्रदेशका पूर्वमन्त्री उर्मिला केसी नेपाल र निवर्तमान क्षेत्रीय सभापति महेश्वर थापाले पार्टीभित्रको एकता कायम राख्दै नियमित महाधिवेशन गर्नुपर्ने र सक्षम नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए ।














प्रतिक्रिया