जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व तिललाई केवल एक सामान्य गेडागुडी नभई ‘सुपर फुड’ वा ‘म्याजिक फुड’ पनि हो ।
विशेष गरी जाडोयाममा र माघे संक्रान्तिका बेला नेपाली भान्सामा तिलको लड्डु वा अचार खाने परम्परा छ। हाम्रा पुर्खाहरूले चलाएको यो चलन वैज्ञानिक दृष्टिकोणले समेत निकै बुद्धिमानीपूर्ण रहेको पुष्टि हुन्छ ।
जाडोमा जोर्नी दुख्ने, बाथ रोग बल्झिने र रोग प्रतिरोधात्मक क्षमता कम हुने समस्यालाई तिलले प्राकृतिक रूपमै समाधान गर्न मद्दत गर्छ ।
तिल सेवनका १० वटा चमत्कारी फाइदा
– फाइबरको भण्डार
तिलमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । फाइबरले पाचन प्रणालीलाई तन्दुरुस्त राख्न मात्र नभई मुटु रोग, उच्च रक्तचाप, कोलेस्ट्रोल र आन्द्राको क्यान्सरको जोखिमलाई समेत कम गर्न मद्दत गर्छ ।
– कोलेस्ट्रोल र ट्राइग्लिसराइड नियन्त्रण
यसमा पाइने ‘लिग्नेन्स’ र ‘फाइटोस्टेरोल’ जस्ता तत्त्वहरूले रगतमा रहेको खराब बोसो र ट्राइग्लिसराइड घटाउन मद्दत गर्छन्, जसले मुटुलाई स्वस्थ राख्छ ।
– प्रोटिनको उत्कृष्ट स्रोत
शाकाहारी भोजन गर्नेहरूका लागि तिल प्रोटिन र आवश्यक एमिनो एसिडको भरपर्दो स्रोत हो । यसले शरीरलाई आवश्यक ऊर्जा र मांसपेशी निर्माणमा सघाउँछ ।
– रक्तचाप र मुटुको सुरक्षा
तिलमा म्याग्नेसियम र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ। यसले रक्तनलीलाई कडा हुनबाट जोगाउँछ, सुन्निने समस्या कम गर्छ र रक्तचापलाई सन्तुलित राख्न मद्दत गर्छ ।
– हाडजोर्नीका लागि वरदान
जाडोमा जोर्नी र हड्डी दुख्ने समस्या धेरैलाई हुन्छ । तिलमा क्याल्सियम, म्याग्नेसियम, म्यागजिन र जिंकजस्ता खनिजहरू प्रशस्त हुन्छन्, जसले हड्डी र जोर्नीलाई बलियो बनाउँछ ।
– इन्फ्लामेसन कम गर्छ
शरीरभित्र हुने विभिन्न सुन्निने प्रक्रिया (इन्फ्लामेसन) ले मुटु रोगदेखि क्यान्सरसम्म निम्त्याउन सक्छ। तिलको नियमित सेवनले यस्तो इन्फ्लामेसन कम गर्छ र बाथ रोगीलाई विशेष फाइदा पुर्याउँछ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
जाडोमा रुघाखोकी र संक्रमणको डर हुन्छ। तिलमा पाइने जिंक, सेलेनियम, कपर, भिटामिन बी ९६ र भिटामिन ई ले शरीरको इम्युनिटी पावर (रोगसँग लड्ने क्षमता)बढाउँछ ।
– भिटामिन बी को स्रोत
यसमा भिटामिन बी १, बी.३ र बी ६ पाइन्छ । शरीरको मेटाबोलिजम (पाचन प्रक्रिया) र मुखमा आउने घाउखटिरा नियन्त्रण गर्न यी भिटामिनहरू आवश्यक हुन्छन् ।
– रगतको कमी हुन दिँदैन
रक्तकोष निर्माणका लागि आवश्यक आइरन, कपर र भिटामिन बी९६ तिलमा पाइन्छ। यसले शरीरमा रगतको कमी (एनिमिया) हुनबाट जोगाउँछ र हेमोग्लोबिन बढाउँछ ।
– रजोनिवृत्तिमा सहजता
महिलाहरूमा उमेर बढ्दै जाँदा महिनावारी सुक्ने बेला देखिने शारीरिक र मानसिक समस्याहरूलाई सन्तुलनमा राख्न तिलमा पाइने प्लान्ट हर्मोनले मद्दत गर्छ ।
तिल कसरी खाने ?
तिललाई राम्रोसँग पखाल्ने र सुकाउने ।
तावामा हल्का रातो हुने गरी भुट्ने ।
यसलाई पिसेर धुलो बनाउने ।
स्वादअनुसार नुन, खुर्सानी राख्ने र कागती निचोरेर अचार वा छोपको रूपमा नियमित खाने । कागती मिसाउँदा यसको स्वाद र गुण दुवै बढ्छ ।
तिल खानु रोग लाग्न नदिन र शरीरलाई स्वस्थ राख्नका लागि महत्त्वपूर्ण रहेको छ । तर, रोग लागिसकेपछि यसैले मात्र पूर्ण निको नहुने हुँदा यसलाई जीवनशैलीको अभिन्न अङ्ग बनाउन सकिन्छ ।













प्रतिक्रिया