२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर काठमाडौं आए । आज सरकार बन्छ छैन, भोलि बन्छ छैन । नयाँ सडकको पिपलबोटमुनि घण्टौं गफगाफ गरेर फर्कनु सांसदहरूको नित्यकर्मजस्तै बनिसक्यो ।
राजा महेन्द्र न संसद् आव्हान गर्छन, न सरकार गठनका लागि आमन्त्रण । बीपी र सुवर्णशमशेरबीच प्रधानमन्त्री बन्नेमा होडले कांग्रेसको आन्तरिक राजनीति तातेको थियो । राजा महेन्द्र भित्री रुपमा आफ्नो बालसखा समेत रहेका सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउन चाहन्थे । यो रहस्य बुझेकी बीपी पत्नी सुशीलाले सुवर्णशमशेरलाई बाटो छोड्न आग्रह गर्दै पतिको अडानविरुद्ध घरमै सत्याग्रह गरिन् । बीपी टसमस भएनन् ।
सुवर्णशमशेरले दिएको चन्दाले पार्टी चलेको थियो । चुनाव गराउन उनैले लाखौं खर्चिएका थिए । सुवर्णशमशेरका छोराहरू खुलेआम भन्थे–‘हाम्रो पैसाबाट पार्टी चलाउने, चुनाव जित्ने अनि प्रधानमन्त्री त्यो बाहुन हुने ?’
राजासंग भेटेर बीपीले सरकार गठन नगर्नुको कारण सोध्दै भने– ‘सरकारको रुचि सुवर्णशमशेर हो भने उनलाई नै प्रधानमन्त्री बनाइयोस् । तर, ढिलो गर्नु भएन ।’ बीपीलाई ढाडस दिँदै राजा भन्छन्– ‘सुवर्णसंग मैले काम गरिसकेँ, ती लोसा छन । तपाईं युवा हुनुहुन्छ । मलाई देशको विकासमा योगदान दिने इच्छा छ । हामी मिले अगाडि बढ्न सक्छौं ।’
बीपीकालीन कांग्रेसप्रति अहिलेका कांग्रेसीहरु गौरव गर्छन् । तर, कांग्रेसमा आन्तरिक किचलो त्यो पार्टीको पुस्तौनी गहना बन्दै आएको छ । झण्डै सातदशक अघि नै सुवर्णशमशेरले पार्टीमा राजासँगको सहकार्यलाई बटमलाइन बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।
राणाको प्रस्तावप्रति अनुदार बन्दै आएका बीपीले आफू भारतमा असुरक्षित महसूस गरेसँगै राष्ट्रिय मेलमिलापको नाममा अन्ततः त्यही नीति अख्तियार गरे । १६ वर्षपछि स्थिति ‘चुचे ढुंगो उही टुंगो’को अवस्थामा पुग्यो ।
चुनावमा पैसाको अभाव सुलह गर्न बीपीले सुवर्णलाई २०१४ मा लेखेको पत्रमा भनिएको छ–‘देशभरिमा केन्द्रलाई वार्षिक एक सय रुपैयाँभन्दा बढी चन्दा दिन सक्ने हजार जना मानिस भेटिए भने केन्द्रको काम बढ्ने थियो र आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने थियो । कृपया तपाईंहरूले आ-आफ्नो जिल्लामा रहेका त्यस्ता व्यक्तिहरूको सूची तयार पारेर चन्दा दिने व्यक्तिहरूबाट एकमुस्ट चन्दा लिने व्यवस्था मिलाउनु होला ।’
मातृका, बीपी, गिरिजाप्रसाद कोइराला एउटै ताउलोमा भात खाएर हुर्किएका दाजुभाइ मुलुकको कार्यकारी तहमा पुगेको गौरवमय इतिहास छ । अर्कातिर तिनै मातृका र बीपीको सम्बन्ध अत्यन्त निकृष्ट तहमा पुगेको देखिन्छ ।
एउटा कालखण्डमा मातृका भाइलाई भौतिक आक्रमण गर्नसम्म पछि पर्दैनन् । ०१५ सालको चुनावमा बीपीलाई हराउन कति सक्रिय थिए भने एउटा पारिवारिक घट्ना स्मरणीय छ ।
बहिनी इन्दिरा दाजु बीपी जिताउन सक्रिय थिइन । मातृकाकी आमालाई सबैले हजुरीआमा भनेर सम्बोधन गर्थे । तिनै हजुरीले इन्दिरालाई भनिछन्– ‘भोट हाल्न जाँदा मलाई पनिसँगै लिएर जाऊ है ।’ इन्दिराले त्यसै गरिन् । फर्किंदा सोधिन– सान्दाइलाई भोट दिनुभयो हैन ? हजुरीले भनिन– मैले त घैलामा अवधराणलाई हालेँ । आमाको भनाइबाट रुष्ट इन्दिरा धिक्कार्दै घर फर्किइन ।
साम, दाम, दण्ड, भेदको दाउपेच त्यो समयमा पनि थियो । समाजको मनोविज्ञान, राजनीतिको आयतन, शिक्षाको प्रभाव, अर्थोपार्जनका स्रोत साँघुरो भएका कारण दलाली ठूलो आयतनमा नभए पनि भ्रष्टाचारको गन्ध बाक्लै आउँथे ।
प्रधानमन्त्री भएका बखत दाजुको पीए बसेका तारिणीप्रसाद कोइरालामाथि पैसा लिएर पुलिस भर्ना गरेको आक्षेप त्यही बेला लागेको हो । तर, आचरणमा सचेत बीपीले आरोप लाग्नासाथ भाइलाई पदबाट हटाए ।
०७ सालको क्रान्तिपछि प्रधानमन्त्री बन्न ठिक्क परेका बीपीलाई भारतीय राजदूत सीपीएन सिन्हामार्फत हस्तक्षेप गर्न लगाई नेहरुले मातृकालाई कार्यकारीको हटसिट दिलाए ।
मातृकाले पार्टी सभापति र प्रधानमन्त्री दुवै पद ओगटेपछि कार्यकर्तामाझ अत्यन्त लोकप्रिय रहेका बीपी रन्थनिए । दाजुभाइको खटपट भारतीय समाजवादी नेता जयप्रकाशनारायणले भारत बोलाएर समाधान गराइदिए ।
उनकै आग्रहमा बीपी सभापति बनाइए । कांग्रेसको विगत, वर्तमान र आगत त्यति सुखद छैन । शक्तिको दाउपेच महाभारत बिर्साउने खालको छ । यद्यपि अघिल्लो पुस्ताका नेताहरूको सम्मानलाई उनीहरूले नित्य धर्म बनाए ।
प्रवासमा जाने बीपीको नीतिमा असहमति जनाएका कृष्णप्रसाद भट्टराई स्वदेशमै बसे। रोचक के छ भने बीपीले कार्यवाहकको जिम्मेवारी उनैलाई छोडेर यो धर्तीबाट बिदा भए ।
अहिले त्यो ट्रयाक खलबलिएर आफ्नो आरती गाउनेलाई अख्तियारी दिने संस्कार विकास भएको छ । कांग्रेसमा त्यो धर्म धर्मराउन थालेको छ । सत्ताको तरमारा खेलकुदमा कम्युनिस्टहरूसँग उठ्बस बढाउँदा कांग्रेसीहरुले विरोधी सिध्याउने रणनीति सिके ।
शेरबहादुर देउवा राजनीतिको उत्तरार्द्धमा नराम्ररी बदनाम भए । जेन-जी आन्दोलनले थिलथिल्याएको शरीर लिएर नाफाको जिन्दगी बाँचेका उनी आफ्नो भाइछोराको उत्तेजना व्यवस्थापन गर्न नसक्दा पार्टीको एउटा टुक्रोको मुखियामा खुम्चिन बाध्य भएका छन् ।
अर्को पुस्ताको सपना साकार पार्ने भन्दा पनि पेटी ठेकेदारको रुपमा पार्टीलाई अघि बढाउन खोज्दा आठ दशकको उमेरमा दोस्रो पटक पार्टी फुटाएको कलंक ब्यहोर्नु परेको छ ।
फर्सीले चुलेसी, चुलेसी हाने पनि सत्यानास फर्सीकै हो। टुक्रिएको ऐनामा शेरबहादुरको अब कस्तो आकृति देखिने हो, त्यो हेर्न बाँकी छ ।
सत्ताको बिलोमा कांग्रेसको सत्यानास गर्ने अपजसको बढी हिस्सा देउवाकै भागमा पर्छ । नैतिकता र सिद्धान्तका सबै धर्म पोलेर सत्ताको भागबन्डामा आएको शिकार पार्टीका भजनमण्डली माझ बाँडेर आफ्नो राजनीतिक यात्रा निष्कंटक बनाउने देउवा शैली खोटो मोहर बनेको सत्य घुच्चुकमाथि त्यसरी प्रहार हुँदा पनि उनले आत्मसात गर्न सकेनन् ।
एमाले–माओवादीसंगको सहकार्यले कांग्रेस कार्यकर्तामा सकस परेकै हो । माओवादी युद्धताका आँखामा हालिएको तेजाबको असह्य पीडा खाएर पनि कांग्रेस नछोडेकाहरुका लागि हँसिया हथौडामा भोट हाल्नुपर्ने बाध्यता ‘मर्नुभन्दा बहुलाउनु निको’ जस्तै थियो ।
आजभन्दा ७५ वर्षअघि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा बीपी दिक्दार हुँदै भन्थे– ‘बैठक बसेको छैन तर यहाँ छलफल विषयमा मोहनशमशेरलाई सबै थाहा भइसकेको हुन्छ । हिजै मलाई तपाईंहरूको बैठकमा यी यी विषयमा कुरा हुने रहेछ भनेर सुनाउँदै थिए ।’
०१५ सालको निर्वाचनमा कांग्रेस एक्लैले दुई तिहाइ ल्यायो । तर, त्यो बेलाका बौद्धिक चेत भएका नेताहरू टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, रंगनाथ शर्मा, बेदानन्द झा, रणधीर सुब्बा चुनाव हारे । प्रज्ञा, चेतना, सिर्जना भएका नेताहरू जिताउन जनताको विवेकले काम गर्दैन भन्ने यो उदाहरण हो ।
देशको केस्रा केस्रा बुझेका असली विद्वान हर्क गुरुङलाई जनताले भोटको राजनीतिमा नपत्याउँदा त्यो बौद्धिकता देश विकासमा उपयोग हुन पाएन ।
देश बनाउने कलेज पढेको प्रमाणपत्रले नभएर असल नियतले हो । विक्रम संवत १९९० मा गएको भुइँचालोपछि खडेरी पर्यो । किसानले बालीनाली लगाउन नपाएपछि मोहनशमशेरले राज्यसँग रहेको दमकलमार्फत खेतखेतमा पानी पुर्याएर रोपाइँको व्यवस्था मिलाए ।
सम्झनुस् त सार्वभौम जनतामा रहेको गणतान्त्रिक व्यवस्थामा मुलुकका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका खरानी बनाइँदा सरकारी दमकल छोपेर राखिए । यसरी हेर्दा मुलुकले देश बनाउने क्षमतावान इन्जिनियरिङ कला नभएको नेता नपाएकै हो ।
देउवाहरूले यही तोरीलाहुरे प्रवृत्तिमा मलजल गर्दा उनीहरूको घर खरानी बनाउँदा गुहार सुन्ने कोही भएन ।













प्रतिक्रिया