सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै « Khabarhub

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम क्षेत्रमा आज धुमधामका साथ बिसु पर्व मनाइँदैछ । नयाँ वर्षको सुरुवातसँगै वैशाख १ गते मनाइने बिसु पर्व केवल चाड मात्र नभई पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ ।

रोजगारी, अध्ययन वा अन्य कारणले देशविदेशमा रहेकाहरू यो पर्व मनाउनका लागि घर फर्कने परम्पराले गाउँघरमा विशेष रौनक थपेको छ । ‘वर्ष दिनकी एकै बिसु : बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ ।

वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ ।

बिसु पर्वका अवसरमा नयाँ लुगा लगाउने, आफन्त र परिवारसँग भेला भएर मिठोमसिनो परिकार खाने तथा वर्षभरिका सुखदुःख साटासाट गर्ने चलन रहिआएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका पूर्वअध्यक्ष हरिप्रसाद जोशीले बताए । उनका अनुसार यस पर्वका अवसरमा घरघरमा मासु, मालपुवा, खीर, लाउन (पुरी), बटुक, माणालगायत मौलिक परिकारहरू तयार पारिन्छन् ।

यी परिकार केवल खानाका रूपमा सीमित नभई पुस्तौँदेखिको परम्परा र सामूहिक जीवनशैलीको प्रतीकका रूपमा रहेको जोशीले बताए । उनका अनुसार बिसु पर्वको अर्को महत्वपूर्ण पक्ष बिहानै अनिवार्य स्नान गर्ने हो । ‘बिहान ब्रह्ममुहूर्तमा नुहाएपछि रोगव्याध हट्ने र शरीर शुद्ध हुने जनविश्वास रहिआएको छ’, उनले भने, ‘ननुहाए ‘विष लाग्ने’ भन्ने मान्यता पनि प्रचलित छ ।’

स्नानपछि देवदर्शन गर्ने, मान्यजनबाट टीका ग्रहण गर्ने र परिवारसँग बसेर मिठामसिना परिकार खाने चलनले धार्मिक आस्था र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने जोशीको भनाइ छ । उनका अनुसार बिसु पर्वमा बिहानैदेखि महिलाहरू घरायसी परिकार तयार पार्न व्यस्त हुन्छन् । स्नानपछि देवदर्शन गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर टिकाटालो गर्ने, मिलेर मौलिक परिकार खाने र भलाकुसारी गर्ने परम्पराले सामाजिक एकता र आत्मीयता बढाउने उनले विश्वास व्यक्त गरे ।

शुक्लाफाँटा नगरपालिका–११ का शङ्करदत्त जोशीका अनुसार पहिले पर्वमा सिस्नु लगाउने चलन निकै उत्साहका साथ मनाइन्थ्यो । ‘सिस्नो लगाउन आएका देवर देखेर भाउजु लुक्ने गर्दथे । लुकेको ठाउँ पत्ता लगाएर सिस्नो लगाइन्थ्यो’, उनले भने, ‘भाउजुले पनि यसलाई सहज रूपमा स्वीकार्थे । लुकेर देवरलाई खोज्न लगाउने र सिस्नो लगाउनेसम्मका रमाइला दृश्य हुन्थे ।’ पछिल्लो समय यस्तो रौनक विस्तारै हराउँदै गएको उनको भनाइ छ ।

ज्योतिषीय दृष्टिले बिसु पर्वलाई ‘अकाट्य’ वा ‘अपुच्छय’ दिनका रूपमा लिइन्छ । स्थानीय दामोदर जोशीका अनुसार यसदिन विवाह, व्रतबन्ध, गृहप्रवेशलगायत शुभकार्यका लागि साइत हेर्नु वा ज्योतिषलाई सोध्नु आवश्यक पर्दैन । ‘आज सिधै गरिएका कार्य पनि शुभफलदायी हुने विश्वास छ’, उनले भने ।

बिसुलाई वर्षभरिका चाडपर्वहरूको समापन र नयाँ वर्षको स्वागत गर्ने दिनका रूपमा लिने गरिएको जोशीले बताए । ‘यसदिन पुराना दुःख, असफलता र थकानलाई बिदाइ गर्दै नयाँ उर्जा र आशासहित जीवनलाई अगाडि बढाउने सांस्कृतिक सन्देश दिइन्छ । यही कारण बिसु सुदूरपश्चिमको मौलिक पहिचान बोकेको महत्वपूर्ण पर्वका रूपमा स्थापित भएको छ’, उनले भने ।

आधुनिक जीवनशैली, बसाइँसराइ र व्यस्तताका कारण केही परम्परागत अभ्यासहरू ओझेलमा पर्दै गएकामा जोशीले चिन्ता व्यक्त गरे । विशेषगरी देवरभाउजुबीचको सिस्नो लगाउने चलन, सामूहिक भेटघाट र लामो समयसम्म चल्ने भलाकुसारी अहिले घट्दै गएको उनले बताए ।

परिवर्तनका बीच पनि बिसु पर्वको मूल सार भने अझै जीवित रहेको उनले बताए । उनका अनुसार परिवारप्रतिको माया, आफन्तबीचको सम्बन्ध, सामाजिक सहकार्य र सांस्कृतिक निरन्तरताको भावना यस पर्वमा अझ मजबुत रूपमा देखिन्छ ।

सुदूरपश्चिममा मनाइने बिसु पर्वले समयसँगै रूप परिवर्तन गरे पनि यसको आत्मा भने उस्तै सशक्त र जीवन्त रहँदै आएको जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ६ : ३६ बजे

गहुँको उत्पादन लागत बढ्यो, समर्थन मूल्यले लागत उठेन

कञ्चनपुर– सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानले असहति जनाएका छन्

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

चितवन– अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको

सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो

सिरहा– सिरहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा आज नयाँ

प्रियंकाको ‘न्युड सिन’ भन्दै गत वर्ष चर्चामा आएको सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक

काठमाडौं – गत वर्ष टिजर सार्वजनिक भएपछि नायिका प्रियंका कार्कीले

मिथिला क्षेत्रमा ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी– विक्रम सवत् परम्पराअनुसार आजदेखि नयाँ वर्ष २०८३ को प्रारम्भ