भक्तपुरको थिमिमा बिस्केट जात्राको रौनक « Khabarhub

भक्तपुरको थिमिमा बिस्केट जात्राको रौनक


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।

परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । भेलुखेलस्थित ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।

५५ हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरे शत्रु नास हुने सहकाल आउने जनविश्वास रहेको छ । चैत मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ । यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ ।

आजै भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नास भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवं संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताए ।

किम्वदन्तीअनुसार सिकारीले मारेको भङ्गेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको उनले जानकारी दिए । यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्नेको बिहान ४ बजेदेखि नै भीड लागेको छ ।

प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाहरुले शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यस मन्दिरमा बिहान ५ बजेदेखि नै तीनवटा खटसहितको खट जात्रा समेत गरिएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुन मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।

यता सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन् । धिमे बाजाका साथ खटलाई गुप्तेश्वर महादेव मनिदर परिसरमा विधिपूर्वक पूजा गरी सुरु भएको खट जात्रा सिरुटारदेखि बालकोटसम्मको टोल टोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको स्थानीय भाइकृष्ण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी दधिकोटको चित्रपुरस्थित छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रा गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । लामबद्ध भक्तजनले पूजा गरेर खट यात्रा गरि जात्रा मनाएका छन् ।

चैत मसान्तको दिन साँझबाट सुरु गरी रातभर सञ्चालन हुने चान्हेसिया अर्थात् रात्रिको जात्रा आज बिहान थिमिमा सम्पन्न भएको छ । मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रामा हिजो साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरि बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो ।

चान्हेसिया जात्रामा सर्वप्रथम दिगुटोलस्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ ।

जात्रामा थिमिको अधिकांश घरघरबाट चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शङ्खधर चोक हुँदै क्वाछेंस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो ।

त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पु¥याएर पाँच पटक परिक्रमा गराएपछि सोही स्थानमा आ–आफ्नो आसनमा खटहरुलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । यो जात्रा हिजो साँझ सुरु भई आज बिहान ४ बजे सम्पन्न भएको थियो ।

त्यस्तै मध्यपुरथिमिका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवं सिद्धिकाली जात्रा आज थिमिमा सम्पन्न गरेका छन् । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमासमेत परिक्रमा गराइएको थियो ।

बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितका देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको छ ।

त्यस्तै सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमिको हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पु¥याइ स्वङ्गापुखुको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको छ ।

त्यसैगरी विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायत अन्य देवगणलाई सिन्दूर चढाइ आआफ्नो स्थानमा विराजमान गराएपछि आजको जात्रा विसर्जन गरिने परम्परा रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १० : ५५ बजे

किसान परिचयपत्र वितरण गर्दै वैदेशिक रोजगारबाट फर्किएकालाई कृषिमा आकर्षण गरिने

काठमाडौं- सरकारले किसान परिचयपत्र दिने भएको छ । सरकारले सहुलियतमा

आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने सरकारको घोषणा

काठमाडौं- नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने

एनआरएन चिकित्सकको दर्ता खारेज गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता

साइबर सुरक्षा र डिजिटल अपराधलाई न्यूनीकरण गर्न विशेष इकाई गठन गरिने

काठमाडौं- सरकारले साईबर सुरक्षा डिजिटल अपराधलाई न्यूनीकरण गर्न विशेष इकाई

सरकारी क्लाउड पूर्वाधार विकास गरिने

काठमाडौं– सरकारले सरकारी क्लाउड पूर्वाधार विकास गर्ने नीति लिएको छ