गगन थापालाई मीन विश्वकर्माको कटाक्ष : छुस्स–छुस्स भेटेर मात्र कसरी एकता हुन्छ ? « Khabarhub

गगन थापालाई मीन विश्वकर्माको कटाक्ष : छुस्स–छुस्स भेटेर मात्र कसरी एकता हुन्छ ?



अदालतले वैशाख ६ गते नेपाली कांग्रेसको वैधानिकता विवादमा फैसला गरिदियो । सोसँगै कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालिरहेका पूर्णबहादुर खड्का पछि हटे । सोसँगै उनले पार्टी एकताको जिम्मा विशेष महाधिवेशनबाट आएका सभापति गगनकुमार थापा नेतृत्वमै छाडिदिए ।

त्यसयता कार्यवाहक सभापतिको हैसियत दाबी गर्न छाडेका उनले समानान्तर गतिविधिलाई निरन्तरता दिइरहेका छन् । यतिबेला दुबै समुह बेग्ला–बेग्लै प्रदेश भेलामा जुटेका छन् ।

पार्टी एकताका लागि थापा पक्ष हालसम्म २ पटकमात्रै खड्कासँग वार्तामा बसेका छन् । यसैबीच सो वार्तामा दुबै पक्षबीच के कस्ता विषयमा कुराकानी भयो ? समानान्तर गतिविधिबाट शक्ति जाँचिरहेका दुबै पक्षमा एकताको सम्भावना कति ? खड्का समुह एकताका लागि के चाहन्छ ? लगायतका प्रश्नसहित इतर समुहका नेता मीन विश्वकर्मासँग गरिएको कुराकानीको सम्पादित अशः

एकताका लागि हालसम्म कति पटक बैठक बस्नुभयो ?

वर्तमान सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माबीच एक डेढ घण्टा संवाद भयो । त्यो भन्दा अगाडि नै चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको प्रदेश स्तरीय भेलाको मिति तोकिसकेको थियो ।

सो अनुसार भेला बैठक, छलफल गर्ने भन्ने थियो । सोहीअनुसार भेला समारोह भइरहेको छ । यसले १५ औँ महाधिवेशनलाई कसरी एकताको महाधिवेशन बनाउन सकिन्छ, र पार्टीलाई आन्तरिक र बाह्य चुनौतीबाट कसरी बाहिर निकाल्न सकिन्छ र आगामी दिनमा नेपालको लोकतन्त्र, पार्टीको एकता, संगठन सुदृढीकरण सँगसँगै समसामयिक विषयमा पनि छलफल भइरहेको छ । यसले पार्टी एकतालाई असहज बनाउने भन्दा पनि सहज र बलियो बनाउँछ भन्ने नै सबैको बुझाइ छ । 

बैशाख ६ र १९ गरी हालसम्म अदालतबाट मान्यता पाएका कांग्रेस सभापति गगनकुमार थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच २ पटक मात्रै भेट भएको छ । 

 भेटमा के कस्ता विषयमा छलफल भयो ?

पहिलो भेटमा ‘आइस ब्रेक’ भयो । जस्तै, बोलचाल भेटघाट केही पनि थिएन, त्यो भयो । अदालतले उहाँहरूको कार्यसमितिलाई वैधानिकता दिएपछि हामी ६ वैशाखमा बैठक बसेर अदालतले बदनियतपूर्ण ढङ्गबाट निर्णय गर्‍यो, अब हामी कसरी जाने सल्लाह गरेपछि हामीले बैठक गर्‍याैँ ।

त्यहाँबाट भेला, बैठकमा छलफल पार्टी एकताको बाटो खुला राख्ने र पन्ध्रौँ महाधिवेशनका लागि शक्ति निर्माण पनि गर्ने भन्ने भइसकेपछि उहाँहरूसँग सोहीदिन पहिलो भेट भयो ।

भेटघाटमा सभापति गगनजीले म ‘त्यत्तिकै भेट्न मात्रै आएको हुँ पूर्ण दाइ, अब म विश्वदाइसँग सल्लाह गरेर भोलि पर्सि नै आइहाल्नेछु भनेर फर्किनुभएको थियो । त्यसपछि १३ दिनपछि १९ वैशाखमा बल्ल उहाँ पुग्नु भयो । त्यसपछि पनि म २० गते आउँछु भनेर जानुभएको थियो रे, अहिलेसम्म भेट भएको जानकारीमा आएको छैन ।

१९ गतेको कुराकानीमा उहाँहरुले ‘हामी पनि पार्टी एकताको पक्षमा छौँ तपाईँहरूको माग पनि त्यस्तो असामान्य, अप्रत्याशित छैन । सल्लाह गर्न सकिन्छ दाइ मिलाएर जाउँला । हामी पनि तपाईहरुले भनेकै जस्तैमा छौँ । तर, सातै प्रदेशमा मेरो पनि कार्यक्रम छ । त्यसो हुनाले भोलि नै आउँछु भोलि आउन नसकेमा अलिक पछाडि हुन्छ’ भन्नुभएको थियो रे । भोलिपल्ट २० गतेनै भेट गर्न भने सक्नुभएन । यदि सो दिन उहाँहरूले गरेको कुरामा अडिनु भयो भने, एकता सकारात्मक छ । 

 तपाईँहरूले ३१ वैशाख गतेसम्म १५ औँ अधिवेशनको मिति तोक्नुभएको थियो । महाधिवेशन पनि गर्नुभएन, नयाँ मिति पनि तय भएको सुनिएको छैन । अबको तयारी के ?

१४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले तय गरेको १५ औँ महाधिवेशनको कार्यतालिका सर्वोच्चको वैधानिकता फैसलापछि स्वतः बदर भयो । राजनीति भनेको कानुनी विषय मात्रै पनि होइन, यो सामाजिक विषय पनि हो । व्यक्तिगत स्वाभिमान र स्वतन्त्रताको विषय हो । 

प्राविधिक रुपमा गगनजी पार्टी नेतृत्वमा पुगेपनि पार्टीको ठूलो पंक्ति बाहिर नै छ । यो पंक्तिलाई पार्टी एकतामा नपुर्‍याएसम्म, सबैलाई नसमेटेसम्म पार्टी निर्माण हुँदैन । पार्टी शक्तिशाली बन्दैन । त्यसैले पार्टीलाई शक्तिशाली र गगन थापालाई साझा सभापति बनाउन के गर्नुपर्छ भन्ने कुरामा पार्टीमा सबैले भावनात्मक, सांगठानिक र विधानसम्मवत ढङ्गले एक ठाउँमा उभिनुपर्छ । पन्ध्रौँ महाधिवेशन नेपाली कांग्रेसको एउटै महाधिवेशन बनाउनकै लागि यो वार्ता भेला छलफल चलिराखेको हो । 

एकताका लागि तपाईँहरूको मुख्य बुँदा के हुन ?

त्यसमा चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सबै केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई अहिलेको विधान र पस्थितिअनुसार समायोजन गर्नुपर्छ । उहाँले १९ जनालाई समेटेको भन्ने लिस्टमा भने त्यसमा पुनःविचार गर्नुपर्छ । त्यसपछि १५ औँ महाधिवेशनका लागि आवश्यक पर्ने क्रियाशील सदस्यता, व्यवस्थापन समिति, अनुशासन समिति, निर्वाचन समिति लगायत समितिहरूमा पनि सम्मानजनक सहभागिता र संख्या समायोजन गराउन सके मिलेर गइहाल्छ भन्ने एउटा अनुमान हो । 

त्यो पनि वार्ता छलफल हुँदै जाँदा तलमाथि हुनसक्छ । यी विषयमा वर्तमान महामन्त्री गुरुराज घिमिरेले राखेका प्रस्तावमध्ये धेरै कुराहरू स्वीकारयोग्य छन । तर, केही प्रस्ताव जस्तै कमिटी भंग गर्ने, मर्ज गर्ने भन्ने जस्ता विषय अप्ठ्यारा हुन । अन्य विषय त सबै सजिलै छन भन्ने उहाँको पनि धारणा रहेको बुझिन्छ । 

यसैबीचमा उहाँहरूले भातृ संगठन विघटन अन्य समिति हेरफेर गर्नुभएको छ । नयाँ समितिमा तपाईँहरूको समूहलाई पनि सामेल गराइएको छ । यसमा पनि यहाँहरुको असन्तुष्टि देखियो, किन ?

उहाँहरुले गरेका केही निर्णय उल्टो भएका छन । पहिले पार्टी एकताको विषय टुङ्ग्याएर एकताको आवाजसहित भ्रातृ संस्था र शुभेच्छुक संस्थाको सुधारसहित उहाँहरूले भनेजस्तो जरा तहमा जानुपर्ने थियो । तर ग्रासरुटमा पुगेर आफूहरूको हैसियत बुझेर मात्रै एकता गर्न खोजेको जस्तो देखिँदा हामीलाई अलिकति चित्त बुझेको छैन । उल्टो भइरहेको छ। 

हामी बिना विशेष महाधिवेशनबाट आएको कार्यसमितिले सुरु गरेको सदस्यता अद्यावधि र जरा अभियानमा हाम्रो सहमति छैन भन्नेमा त पटक–पटक विज्ञप्ति नै जारी गरेर असन्तुष्टि जनाएका छौँ । जरा अभियानमा हाम्रो स्वतस्फूर्त सहभागिता छैन । हामीबाट जानुभएका केही पदमा रहनुभएका साथीहरूले उहाँहरूको परिपत्र मान्नुपर्ने भएकाले त्यो गर्नुहोला । त्यो भन्दा बाह्य भूमिकामा रहेका साथीहरुको स्वतस्फूर्त भावनात्मक सहभागिता छैन । 

पार्टी एकता बिना एकलौटी ढंगले गरेको निर्णयमा हाम्रो सहमति छैन । पार्टी जहाँ जुन सहमतिबाट विवाद भयो, त्यहीँबाट विवाद निरुपण गरेर जाउँ भनेको अवस्थामा उहाँहरु सदस्यता अद्यावधिक, जरा अभियान, भातृ संस्था विघटन जस्ता एकलौटी निर्णय गरिराख्नु भएको छ । त्यसले एकताको सम्भावनालाई कमजोर बनाउँछ । एकतर्फ एकता भनिरहने, १५ दिन २२ दिनमा छुस्स–छुस्स भेट गर्ने, अर्कातर्फ आफ्नो गतिविधि नबदल्ने, बन्द नगर्ने यसरी एकता सम्भव हुन्छ र ?

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ११ : ०४ बजे

आफैँले बनाएको नियमावलीलाई लत्याउँदै संसद्‍मा विपक्षीको विरोध

काठमाडौँ– संसद्‍मा विपक्षी दलहरूले नियममा नै नभएको विषयलाई लिएर सदनमा

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले सार्वजनिक गरेको नीति

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : सांसद राई

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री सदनमा उपस्थित

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सदनमा

सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पतालहरूलाई आफ्नो