अदालतले वैशाख ६ गते नेपाली कांग्रेसको वैधानिकता विवादमा फैसला गरिदियो । सोसँगै कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालिरहेका पूर्णबहादुर खड्का पछि हटे । सोसँगै उनले पार्टी एकताको जिम्मा विशेष महाधिवेशनबाट आएका सभापति गगनकुमार थापा नेतृत्वमै छाडिदिए ।
त्यसयता कार्यवाहक सभापतिको हैसियत दाबी गर्न छाडेका उनले समानान्तर गतिविधिलाई निरन्तरता दिइरहेका छन् । यतिबेला दुबै समुह बेग्ला–बेग्लै प्रदेश भेलामा जुटेका छन् ।
पार्टी एकताका लागि थापा पक्ष हालसम्म २ पटकमात्रै खड्कासँग वार्तामा बसेका छन् । यसैबीच सो वार्तामा दुबै पक्षबीच के कस्ता विषयमा कुराकानी भयो ? समानान्तर गतिविधिबाट शक्ति जाँचिरहेका दुबै पक्षमा एकताको सम्भावना कति ? खड्का समुह एकताका लागि के चाहन्छ ? लगायतका प्रश्नसहित इतर समुहका नेता मीन विश्वकर्मासँग गरिएको कुराकानीको सम्पादित अशः
एकताका लागि हालसम्म कति पटक बैठक बस्नुभयो ?
वर्तमान सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माबीच एक डेढ घण्टा संवाद भयो । त्यो भन्दा अगाडि नै चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको प्रदेश स्तरीय भेलाको मिति तोकिसकेको थियो ।
सो अनुसार भेला बैठक, छलफल गर्ने भन्ने थियो । सोहीअनुसार भेला समारोह भइरहेको छ । यसले १५ औँ महाधिवेशनलाई कसरी एकताको महाधिवेशन बनाउन सकिन्छ, र पार्टीलाई आन्तरिक र बाह्य चुनौतीबाट कसरी बाहिर निकाल्न सकिन्छ र आगामी दिनमा नेपालको लोकतन्त्र, पार्टीको एकता, संगठन सुदृढीकरण सँगसँगै समसामयिक विषयमा पनि छलफल भइरहेको छ । यसले पार्टी एकतालाई असहज बनाउने भन्दा पनि सहज र बलियो बनाउँछ भन्ने नै सबैको बुझाइ छ ।
बैशाख ६ र १९ गरी हालसम्म अदालतबाट मान्यता पाएका कांग्रेस सभापति गगनकुमार थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच २ पटक मात्रै भेट भएको छ ।
भेटमा के कस्ता विषयमा छलफल भयो ?
पहिलो भेटमा ‘आइस ब्रेक’ भयो । जस्तै, बोलचाल भेटघाट केही पनि थिएन, त्यो भयो । अदालतले उहाँहरूको कार्यसमितिलाई वैधानिकता दिएपछि हामी ६ वैशाखमा बैठक बसेर अदालतले बदनियतपूर्ण ढङ्गबाट निर्णय गर्यो, अब हामी कसरी जाने सल्लाह गरेपछि हामीले बैठक गर्याैँ ।
त्यहाँबाट भेला, बैठकमा छलफल पार्टी एकताको बाटो खुला राख्ने र पन्ध्रौँ महाधिवेशनका लागि शक्ति निर्माण पनि गर्ने भन्ने भइसकेपछि उहाँहरूसँग सोहीदिन पहिलो भेट भयो ।
भेटघाटमा सभापति गगनजीले म ‘त्यत्तिकै भेट्न मात्रै आएको हुँ पूर्ण दाइ, अब म विश्वदाइसँग सल्लाह गरेर भोलि पर्सि नै आइहाल्नेछु भनेर फर्किनुभएको थियो । त्यसपछि १३ दिनपछि १९ वैशाखमा बल्ल उहाँ पुग्नु भयो । त्यसपछि पनि म २० गते आउँछु भनेर जानुभएको थियो रे, अहिलेसम्म भेट भएको जानकारीमा आएको छैन ।
१९ गतेको कुराकानीमा उहाँहरुले ‘हामी पनि पार्टी एकताको पक्षमा छौँ तपाईँहरूको माग पनि त्यस्तो असामान्य, अप्रत्याशित छैन । सल्लाह गर्न सकिन्छ दाइ मिलाएर जाउँला । हामी पनि तपाईहरुले भनेकै जस्तैमा छौँ । तर, सातै प्रदेशमा मेरो पनि कार्यक्रम छ । त्यसो हुनाले भोलि नै आउँछु भोलि आउन नसकेमा अलिक पछाडि हुन्छ’ भन्नुभएको थियो रे । भोलिपल्ट २० गतेनै भेट गर्न भने सक्नुभएन । यदि सो दिन उहाँहरूले गरेको कुरामा अडिनु भयो भने, एकता सकारात्मक छ ।
तपाईँहरूले ३१ वैशाख गतेसम्म १५ औँ अधिवेशनको मिति तोक्नुभएको थियो । महाधिवेशन पनि गर्नुभएन, नयाँ मिति पनि तय भएको सुनिएको छैन । अबको तयारी के ?
१४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले तय गरेको १५ औँ महाधिवेशनको कार्यतालिका सर्वोच्चको वैधानिकता फैसलापछि स्वतः बदर भयो । राजनीति भनेको कानुनी विषय मात्रै पनि होइन, यो सामाजिक विषय पनि हो । व्यक्तिगत स्वाभिमान र स्वतन्त्रताको विषय हो ।
प्राविधिक रुपमा गगनजी पार्टी नेतृत्वमा पुगेपनि पार्टीको ठूलो पंक्ति बाहिर नै छ । यो पंक्तिलाई पार्टी एकतामा नपुर्याएसम्म, सबैलाई नसमेटेसम्म पार्टी निर्माण हुँदैन । पार्टी शक्तिशाली बन्दैन । त्यसैले पार्टीलाई शक्तिशाली र गगन थापालाई साझा सभापति बनाउन के गर्नुपर्छ भन्ने कुरामा पार्टीमा सबैले भावनात्मक, सांगठानिक र विधानसम्मवत ढङ्गले एक ठाउँमा उभिनुपर्छ । पन्ध्रौँ महाधिवेशन नेपाली कांग्रेसको एउटै महाधिवेशन बनाउनकै लागि यो वार्ता भेला छलफल चलिराखेको हो ।
एकताका लागि तपाईँहरूको मुख्य बुँदा के हुन ?
त्यसमा चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सबै केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई अहिलेको विधान र पस्थितिअनुसार समायोजन गर्नुपर्छ । उहाँले १९ जनालाई समेटेको भन्ने लिस्टमा भने त्यसमा पुनःविचार गर्नुपर्छ । त्यसपछि १५ औँ महाधिवेशनका लागि आवश्यक पर्ने क्रियाशील सदस्यता, व्यवस्थापन समिति, अनुशासन समिति, निर्वाचन समिति लगायत समितिहरूमा पनि सम्मानजनक सहभागिता र संख्या समायोजन गराउन सके मिलेर गइहाल्छ भन्ने एउटा अनुमान हो ।
त्यो पनि वार्ता छलफल हुँदै जाँदा तलमाथि हुनसक्छ । यी विषयमा वर्तमान महामन्त्री गुरुराज घिमिरेले राखेका प्रस्तावमध्ये धेरै कुराहरू स्वीकारयोग्य छन । तर, केही प्रस्ताव जस्तै कमिटी भंग गर्ने, मर्ज गर्ने भन्ने जस्ता विषय अप्ठ्यारा हुन । अन्य विषय त सबै सजिलै छन भन्ने उहाँको पनि धारणा रहेको बुझिन्छ ।
यसैबीचमा उहाँहरूले भातृ संगठन विघटन अन्य समिति हेरफेर गर्नुभएको छ । नयाँ समितिमा तपाईँहरूको समूहलाई पनि सामेल गराइएको छ । यसमा पनि यहाँहरुको असन्तुष्टि देखियो, किन ?
उहाँहरुले गरेका केही निर्णय उल्टो भएका छन । पहिले पार्टी एकताको विषय टुङ्ग्याएर एकताको आवाजसहित भ्रातृ संस्था र शुभेच्छुक संस्थाको सुधारसहित उहाँहरूले भनेजस्तो जरा तहमा जानुपर्ने थियो । तर ग्रासरुटमा पुगेर आफूहरूको हैसियत बुझेर मात्रै एकता गर्न खोजेको जस्तो देखिँदा हामीलाई अलिकति चित्त बुझेको छैन । उल्टो भइरहेको छ।
हामी बिना विशेष महाधिवेशनबाट आएको कार्यसमितिले सुरु गरेको सदस्यता अद्यावधि र जरा अभियानमा हाम्रो सहमति छैन भन्नेमा त पटक–पटक विज्ञप्ति नै जारी गरेर असन्तुष्टि जनाएका छौँ । जरा अभियानमा हाम्रो स्वतस्फूर्त सहभागिता छैन । हामीबाट जानुभएका केही पदमा रहनुभएका साथीहरूले उहाँहरूको परिपत्र मान्नुपर्ने भएकाले त्यो गर्नुहोला । त्यो भन्दा बाह्य भूमिकामा रहेका साथीहरुको स्वतस्फूर्त भावनात्मक सहभागिता छैन ।
पार्टी एकता बिना एकलौटी ढंगले गरेको निर्णयमा हाम्रो सहमति छैन । पार्टी जहाँ जुन सहमतिबाट विवाद भयो, त्यहीँबाट विवाद निरुपण गरेर जाउँ भनेको अवस्थामा उहाँहरु सदस्यता अद्यावधिक, जरा अभियान, भातृ संस्था विघटन जस्ता एकलौटी निर्णय गरिराख्नु भएको छ । त्यसले एकताको सम्भावनालाई कमजोर बनाउँछ । एकतर्फ एकता भनिरहने, १५ दिन २२ दिनमा छुस्स–छुस्स भेट गर्ने, अर्कातर्फ आफ्नो गतिविधि नबदल्ने, बन्द नगर्ने यसरी एकता सम्भव हुन्छ र ?














प्रतिक्रिया