जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै « Khabarhub

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मनाङ– विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने जडीबुटी’ रुपमा लिइन्थ्यो ।

वैशाख–असार पहिलो सातासम्म हजारौँ मानिस उच्च हिमाली क्षेत्रमा पुग्ने र केही हप्ता खर्कमा पुगेर यार्सागुम्बा संकलन गरी वर्षभरि घर खर्च चलाउने माध्यमको रुपमा पहिचान गरिएको थियो ।

तर, पछिल्ला वर्षका तथ्यांकले यार्सागुम्बाबाट हुने आम्दानी लगातार घट्दो क्रममा हुँदा हजारौँ हिमाली नागरिकको आयआर्जन र जीविकोपार्जनमा प्रत्यक्ष असर पर्न थालेको छ ।

विकट क्षेत्र मनाङ औषधीय कच्चापदार्थको उत्पादनको केन्द्र हो । औषधीय जडिबुटी उत्पादनमा आत्मनिर्भर मानिन्छ । आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको औषधीय जडिबुटी केही वर्षयता घट्दो क्रममा छ । 

मुख्य आयस्रोतमा प्रभाव पर्दा यहाँका स्थानीयमा चिन्तामा छन् । पहिले प्रशस्त पाइने हिमाली क्षेत्रमा अहिले यार्सागुम्बा दुर्लभ बन्दै गएको स्थानीयवासी बताउँछन् । तापक्रम बढ्दै जाँदा हिमाली भूभागको चिसोपन घटेको छ, जसले यार्सागुम्बाको वृद्धि र विकासमा प्रत्यक्ष असर पुर्‍याएको छ । करिब पाँच वर्षको तथ्यांकका आधारमा वार्षिक रुपमा यार्सागुम्बा उत्पादन तथा संकलन कार्य घटेको पाइएको अन्नपूर्ण संरक्षण क्षेत्र एकाई (एक्याप) कार्यालय मनाङले जनाएको छ । 

विगतको तुलनामा यार्सागुम्बाको उत्पादन घटेको एक्यापको तथ्यांकले प्रष्ट पारेको छ । एक्यापका अनुसार आर्थिक वर्ष २०७७-७८ मा ४० दशमलव पाँच किलोग्राम संकलन गरिएको छ भने यार्सागुम्बा बिक्रीबाट १२ लाख १५ हजार राजश्व संकलन भएको छ । 

यार्सा संकलनकले मूल्य अभिवृद्धि कर (भ्याट) एक लाख ५७ हजार ९५० तिरेका छन् । पालिकालाई १० प्रतिशतका दरले छ लाख सात हजार ५०० पालिकालाई दस्तुर बुझाउनुपर्ने प्रावधान छ भने १० प्रतिशतकै दरले चार लाख पाँच हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएएमए)लाई दस्तुर बुझाउने गरिएको छ । 

आव २०७८-७९ मा १०७ दशमलव ०५२ किलो बिक्री गरी ३२ लाख ६१ हजार ८४० राजश्व संकलन भएको छ । यस आवमा मात्रै तीन लाख ६७ हजार ६६१ भ्याट तिरेको छ । पालिका र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई १० लाख ७० हजार ५२० दस्तुर बुझाएको छ । आव २०७९-८० मा ८२ दशमलव दुई किलोग्राम यार्सागुम्बा बिक्री गर्दा २५ लाख ४८ हजार २०० राजश्व संकलन भएको एक्यापले जनाएको छ । 

एक्यापका अनुसार पालिका र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई यार्सा संकलनवापत आठ लाख ३४ हजार ५०० दस्तुर बुझाइएको छ । यस आवबाट दोहोरो भ्याट तिर्नुपर्ने बाध्यतालाई ध्यान दिँदै भ्याट बुझाउनुपर्ने प्रावधान हटाइएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । 

आव २०८०-८१ मा ७२ दशमलव ५४२ किलोग्राम यार्सागुम्बा बिक्रीबाट २२ लाख ४८ हजार ९०२ आम्दानी भएको छ । पालिका र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई सात लाख २५ हजार ४५० दस्तुरवापतको रकम बुझाइएको छ ।

आव २०८१-८२ मा ५१ दशमलव ८६३ किलोग्राम यार्सा बिक्रीबाट १५ लाख ९८ हजार ३६० आम्दानी भएको छ । पालिकालाई रु।पाँच लाख २४ हजार ९०० र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई पाँच लाख १९ हजार ९०० दस्तुर तिरेको छ । आव २०८२÷८३ फागुनसम्ममा ४७ दशमलव आठ किलो यार्सा बिक्रीबाट १४ लाख ८१ हजार ८०० राजश्व संकलन भएको छ । पालिका र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई चार लाख ७८ हजार दस्तुर बुझाएको छ । 

आव २०७७-७८ देखि २०८२-०८३ (फागुनसम्म) को तथ्यांक अनुसार यार्सागुम्बा संकलन र बिक्रीबाट प्राप्त राजस्वमा उल्लेखनीय गिरावट आएको छ । आव २०७८-७९ मा सबैभन्दा धेरै १०७.०५२ किलो यार्सागुम्बा संकलन हुँदा ३२ लाख ६१ हजार ८४० राजस्व संकलन भएको थियो । 

तर, त्यसपछि प्रत्येक वर्ष यार्सा संकलन मात्रा र आम्दानी दुवै घट्दै गएको देखिन्छ । आव २०८२-०८३ को फागुनसम्म आइपुग्दा संकलनको मात्रा ४७ दशमलव आठ किलोमा झरेको छ भने राजस्व १४ लाख ८१ हजार ८०० सीमित भएको छ । तथ्यांकका अनुसार पाँच वर्षमा कुल ४०१.९५७ किलो यार्सागुम्बाबाट एक करोड २३ लाख ५४ हजार १०२ राजस्व संकलन भएको छ ।

राजस्वमा गिरावट

यार्सागुम्बाबाट स्थानीय तह र संरक्षण क्षेत्रले दस्तुरमार्फत राजश्व उठाउने गरेका छन् । पाँच वर्षको तथ्याङ्कअनुसार रोयल्टी र दस्तुरबाट प्राप्त रकम पनि घट्दो क्रममा छ । 

आव २०७८-७९ मा मात्रै ग्रामीण पालिका तथा संरक्षण व्यवस्थापन समितिले १०–१० लाख रुपैयाँभन्दा बढी दस्तुर संकलन गरेका छन् । तर, अहिले त्यो रकम आधाभन्दा कम भएको छ । यसले स्थानीय सरकारको विकास बजेटमा समेत असर पारेको छ । हिमाली क्षेत्रका धेरै पालिकाले सडक, शिक्षा र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न यार्सागुम्बा राजश्वमा निर्भर छ । 

यार्सागुम्बाबाट जीविकोपार्जन

हिमाली क्षेत्रका स्थानीयले यार्सागुम्बा संकलनलाई मौसमी आयको रुपमा लिन्छन् । यहाँको प्रमुख मौसमी आम्दानीको स्रोत यार्सागुम्बा हो । यहाँका स्थानीयवासीले यार्सागुम्बा संकलन र बिक्री जीविकोपार्जनको स्रोतको रुपमा उपयोग गर्दै आएका छन् । विशेष गरी मनाङलगायत डोल्पा, मुगु, मुस्ताङ, रुकुम पूर्व, गोर्खा र म्याग्दीका उच्च भेगका परिवारले यार्सागुम्बा बिक्री गरी जीविकोपार्जनका लागि आयस्रोतको रुपमा प्रयोग गर्दछन् ।

यस क्षेत्रका मानिसले शिक्षा, स्वास्थ्य र दैनिकी चलाउन यसबाट आएको आम्दानीबाट खर्च चलाउँदै आएका छन् । तर, उत्पादन घटेसँगै स्थानीयको आर्थिक अवस्था प्रभावित हुन थालेको छ । पहिले एक सिजनमा लाखौँ आम्दानी गर्ने परिवार अहिले ऋण लिएर दैनिक खर्च धान्न बाध्य भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । 

यार्सागुम्बा संरक्षणका लागि वातावरण संरक्षण, दिगो संकलन प्रणाली र जलवायु परिवर्तन न्यूनीकरणका उपाय तत्काल लागू गर्न आवश्यक छ । प्राकृतिक सम्पदाको संरक्षण भए मात्र हिमाली जनजीवन र अर्थतन्त्र सुरक्षित रहन सक्छ ।

जलवायु परिवर्तनको असर

असामान्य तापक्रम वृद्धि, हिमपातमा कमी, वर्षाको अनियमितता तथा वातावरणीय सन्तुलन बिग्रिनुले यार्सागुम्बा उम्रिने प्राकृतिक चक्र प्रभावित भएको हो । स्थानीय यार्सा संकलकका अनुसार हिमाली क्षेत्रमा हिउँ कम पर्नु, तापक्रम बढ्नु र चरन क्षेत्र सुक्दै जाँदा यार्सागुम्बा उत्पादनमा असर परेको छ । पहिला केही घण्टामै दर्जनौँ यार्सा भेटिन्थ्यो भने अहिले दिनभर खोज्दा पनि मुस्किलले तीन-चार वटा मात्रै भेटिने गरेको स्थानीय राज गुरुङ बताउँछन्। 

‘पहिला जस्तो यार्सा खोज्न सजिलो छैन । पहिला प्रसस्त भेटिन्थे । अहिले घण्टौँ पछि १÷२ वटा मात्रै पाइन्छ’, उनी भन्छन्, ‘हिउँ नै पर्दैन अनि पानीको कमीले होला नि यस्तो भएको । अर्को वर्ष बढ्ला भन्यो झन् कम पो भेटिन्छ ।’

यार्सागुम्बा उत्पादन घट्नुका कारण विज्ञहरूले जलवायु परिवर्तनलाई मुख्य कारण मानिरहेका छन् । यार्सागुम्बा चिसो र आद्र वातावरणमा उम्रने भएकाले तापक्रम वृद्धिले यसको प्राकृतिक चक्र प्रभावित भएको एक्यापका प्रमुख भुजेलले बताए। 

संरक्षणमा चुनौती

विशेषज्ञका अनुसार अनियन्त्रित संकलन, अत्यधिक भीड र चरिचरन व्यवस्थापनको अभावले पनि यार्सागुम्बा संकटमा परेका छन् । संकलन क्षेत्र व्यवस्थापन, निश्चित कोटा प्रणाली र वातावरण संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा लागू नगरे भविष्यमा यार्सागुम्बा दुर्लभ हुनसक्ने चेतावनी दिइसकेका छन् । यस क्षेत्रमा भिरमा गएर यार्सागुम्बा संकलन गर्न संकलनकर्ता भेटिन मुस्किल भएको स्थानीय बताउँछन् ।

मनाङमा यार्सागुम्बा संकलनका लागि स्थानीयका कमी भएसँगै डोल्पा, गोर्खा, धादिङलगायतका क्षेत्रबाट संकलनकर्ता आउने गरेका छन् भने हाल कम हुँदै गएको स्थानीयको भनाइ छ । 

हिमाली भेगका बासिन्दाका लागि यार्सागुम्बा केबल जडीबुटी होइन, जीवन धान्ने आधार हो । तर, घट्दो उत्पादन र आम्दानीले अब यसको आधार कमजोर बन्दै गएको देखिन्छ । यार्सागुम्बा उत्पादन घट्दा हिमाली समुदायको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । धेरै परिवारको मुख्य आम्दानीको स्रोत नै प्रभावित भएकाले वैकल्पिक रोजगारीको आवश्यकता बढेको छ ।
 

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  १२ : ३७ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ