सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’ « Khabarhub

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’



काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर निन्द्रा पर्दैन । नेपाली समाजमा अझै पनि भनिन्छ- छोरा पाएपछि बूढेसकालको साहारा हुन्छन् । तर, वृद्ध उमेरकी उनका तीन छोरा भएर पनि आफूसँग साथमा छैनन् । उनको जेठा र माइला छोरा ज्यामी काम गर्छन् । उनीहरुको क्रमशः दुई छोरा र एक छोरी छन् ।

कान्छा भने भर्खर कक्षा १० मा अध्ययनरत छन् । तीन छोरा बुहारी र तीन नातिनातिनी, जहाँ बाबुआमाले काम गर्छन् त्यहीँ बस्ने गर्दै आएका छन् । पश्चिम एशियामा चर्किदो द्वन्द्वसँगै बजारको भाउ उच्च बन्दा उनीहरुले दिनभरी ज्याला मजदुरी गरेको पैसाले थेग्न सक्ने छैन । साँझविहान छाक टार्न सकस छ ।

उनीहरुको गरिबीको यो बज्रमाथि अझ सरकारले भार थोपरिदिएको छ । १३ वैशाखमा १९ सय बढी सुरक्षाकर्मी तैनाथ गरेर सरकारले मनोहरा खोला छेउका सुकुम्वासी वस्तीमा डोजर चलायो । वस्तीसँगै मन्दिर र विद्यालय समेत सरकारको निसानामा परे । सोही दिन झण्डै ४० वर्षदेखि छहारी लिँदै आएको बिमलाको घर डोजरले छिन्नभिन्न पारिदिएपछि उनीहरुको दैनिकी थप जटिल बनेको हो ।

त्यही दिनको परिणाम स्वरुप उनको परिवार छिन्नभिन्न छ । विवाह व्रतबन्ध लगायत भोज पार्टीमा भाडा माझेर गर्जो टार्दै आएकी बिमला यतिबेला सरकारले सुकुम्वासीका लागि खडा गरेको होल्डिङ सेल्टर इचङ्गु अपार्टमेन्टमा आश्रित छन् । उनका छोराबुहारी र नातिनातिनी जहाँ ज्याला मजदुरी गर्छन् सोही साहुको शरणमा बसेका छन् ।

सेल्टरमा दैनिक चार पहर मिठोमसिनो खान पाए पनि उनको मन अशान्त छ । ‘सरकारले मनोहराबाट यहाँ ल्याएर राखेको छ । खाना त राम्रै पाएका छौँ । बिहान चिया, खाना, खाजा अनि रातको खाना दिनुहुन्छ । मोही पनिर, च्याउ राम्रो खान पाएका छौँ तर परिवार सँगै छैनौँ ।

भेट्न जाउँ भने बस्ने ठाउँ छैन् । बाटो पनि कता हो कता, गाडी भाडा छैन्,’छोराछोरीलाई देख्न समेत नपाएकी बिमलाले परिवारसँग टाढा बस्नुपर्दाको छटपटी सुनाइन् । सरकारले विस्थापित परिवारलाई घर भाडाबापत रकम दिनेभनेपछि उनमा छोराछोरीसँग सँगै बस्न पाउनेमा आशा जागेको थियो । तर, कागजपत्र नमिल्दा उनीलाई समस्या भएको छ ।

विमला महर्जन

‘सरकारले भाडा दिने भनेको मेरो त आको छैन् । त्यो भाको भए कतै कोठा खोजेर सबै बस्ने भनेको नागरिकता पानीमा डुबेर बिग्रेको छ । बनाउन कहाँ जाने था छैन्,’ उनले अन्योल हुँदै भनिन् । नागरिकता टोली आएको क्रममा मनोहरा वस्तीबाटै बनाएको उनी बताउँछिन् ।

‘बुढो नेवार म अर्कै जातको भएर मलाई छोराछोरी पाएपछि छोड्यो । ४० वर्ष जस्तो भैसक्यो । उसले अर्कै बिहे गरेको छ । कहाँ छ था छैन्,’ उनले थपिन्, ‘नागरिकता त टोली आउँदा त्यहीँ बनाएको जस्तो लाग्छ । अहिले यहाँ काम छैन् पैसा पनि छैन कहाँ कसरी जाने त्यो बनाउनुपर्छ अनि मात्रै सरकारले पैसा दिन्छ भनेको छ ।’

यस्तै, सोही अपार्टमेन्टमा मनोहरा वस्तीबाटै गएकी मुना खनालको कथा पनि दयनीय छ । १९ गते दिउँसो उनले २३ वर्षे जीवनकाल बिताएको छानो गुमाउनुपरेको थियो । ३ छोराछोरी हुर्काएको त्यो ठाउँ रातिसम्म छाडेर जाने आट गर्न नसकेकी उनलाई सोहीरात असिनापानीले नमाज्जाले कुटेको उनी सुनाउँछिन् ।

‘टहरो भत्काइदिएपछि कहाँ जाने मेसै भएन । सामान रुघेर बस्दा बस्दै रात पर्‍यो । ९ बजेतिर त असिना पानी पर्‍यो । ओत लाग्ने ठाउँ थिएन । त्यहीँ बेला उमेश बस्नेत भन्ने पत्रकार भाइले समाचारका लागि फोन गरे । मैले मेरो अवस्था हेर्न यहीँ आउ भने उनी आउँदासम्म म ढलिसकेकी रहेछु । कपडा सबै भिजेको रैछ । त्यहीँ पत्रकार भाईले एम्बुलेन्स बोलाएर वीर अस्पताल लगेछन्,’ उनले थपिन्, ‘दुबै मृर्गौला फेल, सुगर, प्रेसर, मुटुको जाली फेर्नुपर्नेगरी अवस्थाकी म उनकै भरमा बाँचे ।’

मुना खनाल

अस्पतालबाट डिस्चार्ज भएपछि गंगबु गेष्ट हाउस हुँदै सरकारले आफू र श्रीमानलाई त्यहाँ सारेको उनले बताइन् । ‘उनै पत्रकारले मन्त्रालयसम्म कुरा राखिदिएका कारण हाम्रो फारक त्यहाँ पुग्यो । अहिले डाइलासिसका लागि जानुपर्दा यहीँ महानगरको एम्बुलेन्स लिन पुर्‍याउन आउँछ,’ उनले भनिन् । उनका २ छोरी र एक छोरा छन् । दुबै छोरीको विवाह भइसकेको छ । छोरालाई सकिनसकी ऋण गरेर विदेश पठाएकोमा अहिले सम्पर्कविहिन रहेको उनले बताइन् ।

‘छोरालाई ३ वर्ष अघि विदेश पाठाको गएदेखि सम्पर्कमा छैन् । छोरी श्रीमानकोमा छन् आफ्नो गरिखानु पर्यो उनले लामो श्वास तान्दै सुनाउछिन्, श्रीमानले पेन्टिङको काम गरेर ल्याएको पैसाले बाचेका थियौ । अहिले मलाई कतिबेला के हुन्छ थाहा छैन । उहाँ कुरुवा बसिराख्नुपर्छ’ उनले दुःख पोखिन् । हरेक हप्ता दुई पटकसम्म डाइलासिस गर्दै आएकी उनलाई आम्दानी नहुँदा समस्या भएको छ । ‘हप्तामा दुईपटक डाइलाइसिसमा जानुपर्छ महानगरले ल्याउने लैजाने गर्छ तर के गर्नु सरकारले फ्रि भनेपनि प्रत्येक पटकको उपचारमा ५/७ सय खर्च हुन्छ’ उनले बताइन् ।

अस्पताल नजिक नहुँदा निरन्तर खानुपर्ने औषधि समेत छुटाउनुपरेको उनको गुनासो छ । ‘एकातिर पैसा नभएर सकस छ अर्को यहाँ महङ्गो पर्छ । कोरियन अस्पतालमा मेरो बिमा थियो त्यहाँ आउजाउ गर्न खर्च लाग्छ ।’ जीवनको उत्तरार्धमा सरकारबाट जग्गाको स्वामित्व पाउने आशामा छिन् ।

‘हुनेहरु बाटो लागिसकेका छन्, हामी नहुनेलाई बासँसम्मको व्यवस्था भइदिए हुने अझ मलाई त हस्पिटलको नजिक औषधिसम्म गरिदिए जग्गा पनि चाहिदैनथ्यो बाँच्न पाए पुग्थ्यो,’ उनले सरकारसँग माग राखिन् । उनका अनुसार इंचगु अपार्टमेन्टमा सारिएका सुकुम्वासीका लागि २ महनिाका लागि मानव सेवा आश्रमले खानाको व्यवस्था गरेको छ । जहाँ यतिबेला ४७ परिवारले आश्रय लिइरहेका छन् ।

३० वर्ष सिनामंगल सुकुम्वासी बस्तीमा गुजारेकी कान्छी रोक्का पनि यतिबेला त्यही सेल्टरमा आश्रय लिइरहेकी छिन् । उनका ६ कक्षामा अध्ययनरत दुई छोराछोरी र श्रीमान भने त्यहाँ सँगै बसेका छन् । ‘यहाँ सबै ठिकै छ । खाना पनि राम्रो छ । मासु चाहिँ पाइदैन तर पनि हामी आफ्नै ग्यासँमा पकाएर खान्छौँ,’ काममा जान छोराछोरिको पढाइमा भने समस्या भएको उनी बताउँछिन्।

स्थाई बसोबास भए उक्त समस्या टर्ने उनको भनाइ छ । सरकारले समयमै व्यवस्थापन नगरिदिदा समस्या भएको उनीहरुको साझा गुनासो छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  १० : ०५ बजे

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ ।

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू)

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको

वन कार्यालयको स्पष्टीकरण-‘ टेम्पो गुड्ने नभई अतिक्रमणका लागि राखिएको हो’

कैलाली– गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रको अतिक्रमण हटाउने क्रममा