स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू) « Khabarhub

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू)


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र स्वयम्भू महाचैत्यको गुम्बजमा वर्षौँदेखि जम्दै आएको चुनाको बाक्लो तह हटाउने कार्य सुरु गरिएको छ।

महाचैत्यको पुरातात्त्विक, ऐतिहासिक तथा सांस्कृतिक महत्व संरक्षण गर्ने उद्देश्यले सफाइ तथा जीर्णोद्धार अभियान सञ्चालन गरिएको हो। परम्पराअनुसार बुद्ध पूर्णिमालगायत विभिन्न धार्मिक अवसरमा श्रद्धालुहरूले महाचैत्यमा सेतो चुना पोत्ने चलन रहँदै आएको छ। वर्षेनी यसरी चुना थपिँदै जाँदा गुम्बजमा बाक्लो तह जम्ने भएकाले निश्चित अवधिपछि पुरानो तह हटाउने गरिन्छ।

हाल गुम्बजमा जमेको चुनाको तह १३ देखि १५ इन्चसम्म पुगेको पाइएको छ। अत्यधिक मात्रामा चुना जम्दा संरचनामा अतिरिक्त भार पर्नुका साथै महाचैत्यको मौलिक आकार, गोलाइ र पुरातात्त्विक स्वरूपसमेत ओझेलमा पर्ने जोखिम रहने बताइएको छ।

यसअघि करिब १२–१३ वर्षअघि गरिएको सफाइका क्रममा गुम्बजमा जमेको चुनाको तह २२ देखि ३० इन्चसम्म पुगेको पाइएको थियो। त्यसयता पनि नियमित रूपमा चुना पोतिँदै आएकाले पुनः बाक्लो तह बनेको हो।

पुरातत्त्व विभागको अनुमति तथा प्राविधिक निगरानीमा स्वयम्भू व्यवस्थापन समितिका कर्मचारी र दक्ष कालिगढहरूले अत्यन्त सावधानीपूर्वक पुरानो चुना हटाउने काम गरिरहेका छन्। सफाइका क्रममा मूल संरचनामा कुनै क्षति नपुग्ने गरी विशेष सतर्कता अपनाइएको जनाइएको छ।

करिब एक महिनाभित्र सफाइ कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ। सफाइपछि महाचैत्य आफ्नो मौलिक पुरातात्त्विक स्वरूप र प्राचीन सौन्दर्यसहित पुनः देखिने विश्वास गरिएको छ।

काठमाडौँ उपत्यकाको इतिहास, संस्कृति र सभ्यतासँग गहिरो सम्बन्ध रहेको स्वयम्भू महाचैत्यको संरक्षण अभियानलाई स्थानीय समुदाय, बौद्ध भिक्षु, सम्पदाविद् तथा सम्पदाप्रेमीहरूले चासोका साथ हेरिरहेका छन्। संरक्षणविद्हरूले यस अभियानलाई विश्व सम्पदा क्षेत्रको मौलिकता जोगाउने महत्वपूर्ण प्रयासका रूपमा लिएका छन्।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ११ : २० बजे

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।