जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड « Khabarhub

जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिरी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा कुल बजेटको ७१ दशमलव ६४ प्रतिशत खर्च तथा कार्यान्वयन गरेको जनाएको छ । 

नेपाल पत्रकार महासंघ दोलखा शाखाले आइतबार आयोजना गरेको ‘जिरी नगरपालिकाको विकास, समृद्धि र पर्यटन’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राज कुमारी खत्रीले पुँजीगततर्फ ६४ दशमलव ५७ प्रतिशत र चालुतर्फ ७४ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको जानकारी दिइन् ।

उनका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नगरपालिकाले ४ करोड ९५ लाख ४२ हजार ८ सय ८९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

लक्ष्य नजिक पुग्ने गरी राजस्व संकलन गर्न सफल भएको तथा डिजिटल भुक्तानी प्रणाली –ईयप्टी) पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको पनि उनले बताइन् । कार्यक्रममा शाखागत प्रगति, बजेट कार्यान्वयनको अवस्था तथा बेरुजु फर्छ्यौटबारे समेत छलफल गरिएको थियो ।

पर्यटन नै जिरीको समृद्धिको आधार : नगर प्रमुख

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मित्रबहादुर जिरेलले जिरी नगरपालिका धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले सम्पन्न नगर भएकाले यसको विकास र समृद्धिको मुख्य आधार पर्यटन नै रहेको बताए । 

उनले जिरी भ्रमण वर्ष २०२५ अन्तर्गत खेलकुद सप्ताह, जिरी कप, प्रमुख पर्यटकीय स्थलमा फोटो बुथ निर्माण, मिनी ताल स्तरोन्नति, प्रवर्द्धनात्मक भिडियो सामग्री निर्माण तथा प्रसारणलगायत कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । 

प्रकृति संरक्षण, पर्यटन र साहित्यलाई एकीकृत गर्दै ‘पर्यासाहित्य महोत्सव’ आयोजना गरिएको उल्लेख गर्दै उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमार्फत नगरको आन्तरिक आय वृद्धि गर्ने लक्ष्य रहेको बताए । 

नगर प्रमुख जिरेलले जिरीको प्रचारप्रसारमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै जिरीका धार्मिक, आध्यात्मिक तथा प्राकृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्न आग्रह गरे ।

चेर्दुङदेखि एलुङ गुम्बा हुँदै स्टोन पार्कसम्म पर्यटनको आकर्षण  

अन्तरक्रिया कार्यक्रममा जिरीका पूर्व नगर प्रमुख टंक जिरेलले पछिल्ला वर्षहरूमा जिरी आउने पर्यटकको रोजाइमा चेर्दुङ पर्न थालेको बताए । 

उनका अनुसार चेर्दुङबाट गौरीशंकर, नुम्बुर र रोल्वालिङ हिमशृङ्खलासहित जिरी उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । चेर्दुङको काखमा रहेको क्यान्सेपोखरी धार्मिक तथा प्राकृतिक महत्वका कारण पर्यटकको आकर्षणको केन्द्र बनेको बताए ।

उनले जिरी बजार आसपासमा मात्र सीमित नभई एलुङ गुम्बा, चेर्दुङ, क्यान्सेपोखरी, जिरेश्वरी मन्दिर, राम्बोले, जट्टापोखरी, गुराँस पार्क, बुद्ध पार्क तथा सिक्री गाउँजस्ता क्षेत्रलाई समेटेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए । 

विशेषगरी एलुङ गुम्बालाई अन्तर्राष्ट्रिय स्तरको बौद्ध आध्यात्मिक तथा ध्यान केन्द्रका रूपमा विकास गर्न सके जिरीको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो ।

गुरु रिन्पोछे स्तूपा र स्टोन पार्कमा बढ्दो आकर्षण

स्थानीय अगुवा सोनाम शेर्पाले जिरी–२ र ३ मा निर्माणाधीन दक्षिण एसियाकै विशाल गुरु रिन्पोछे स्तूपाले जिरीलाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थलका रूपमा परिचित गराउने विश्वास व्यक्त गरे । 

उनले धार्मिक पर्यटनसँगै जिरेल र शेर्पा समुदायको संस्कृति, परम्परा, भेषभूषा र जीवनशैलीलाई समेत पर्यटनसँग जोड्नुपर्ने धारणा राखे ।

विशेषगरी दोलखा र रामेछापको सीमामा रहेको स्टोन पार्क प्राकृतिक रूपमा बनेका विशाल ढुङ्गाका कलात्मक संरचनाका कारण पछिल्लो समय चर्चित बन्दै गएको उल्लेख गर्दै उनले यसको संरक्षण, पूर्वाधार विकास र व्यवस्थित प्रचारप्रसारमा नगरपालिकाले थप ध्यान दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा उपप्रमुख कृष्णमाया बुढाथोकीले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, कृषि, उद्यम विकास, रोजगार तथा पशु विकासका कार्यक्रमसँगै पर्यटन क्षेत्रको विकासलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको बताइन् । 

उनले पर्यटन क्षेत्रको विस्तारसँगै स्थानीय उत्पादन, रोजगारी र आयआर्जनका अवसर समेत वृद्धि हुने विश्वास व्यक्त गरिन् । सुवाश बस्नेत /दोलखा

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ५ : ५३ बजे

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको