खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारीलाई सम्मान गरेको छ ।
दिक्तेलस्थित कार्यालयमा आज आयोजित कार्यक्रममा उत्कृष्ट काम गर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना तथा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित बाँझगरा कुलो सिँचाइ योजना निर्माण उपभोक्ता समिति तथा कार्यालयकी लेखापाल सविना मगरलाई सम्मान गरिएको हो ।
यस्तै वार्लङखोला तीनतले चिउरीभिर तथा बाँझगरा कुलो सिँचाइ योजनाले सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालन, संरक्षण र व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्याएको भन्दै सम्मान गरिएको कार्यालयले जनाएको छ ।
दुवै समितिले गुणस्तरीय कार्यसम्पादन, किसानहरूको व्यापक सहभागिता, स्थानीय स्वामित्वको भावना प्रवर्द्धन, बाली सघनीकरण, विविधीकरण तथा बजारीकरणमा देखाएको सक्रियता अनुकरणीय रहेकाले सम्मान गरिएको डिभिजन प्रमुख डा महेश यादवले जानकारी दिए ।
कार्यालयले हरेक वर्ष योजनाको निर्माण तथा सञ्चालनको मूल्यांकन गरी उत्कृष्ट काम गर्ने योजनाका उपभोक्ता समितिलाई सम्मान गर्ने गर्दै आएको छ । डिभिजन कार्यालयले लामो समयदेखि सञ्चालनमा नरहेका पुराना सिँचाइ योजनालाई पुनःसञ्चालनमा ल्याएर कृषि उत्पादन वृद्धि तथा बसाइँसराइ न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले काम गरिरहेको जानकारी दिएको छ ।
विगत नौ वर्षदेखि बन्द रहेको बाँझगरा कुलो सिँचाइ योजनामा हाल पानी सञ्चालन भइसकेको र त्यसबाट किसान उत्साहित भएका छन् । करिब १५ वर्षदेखि सञ्चालनमा नरहेको वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना पुनः सञ्चालनमा आएपछि त्यहाँ चैते धान रोपेर उत्पादनसमेत भइसकेको जानकारी प्राप्त भएको कार्यालय प्रमुख डा यादवले जानकारी दिए ।
आर्थिक वर्ष २०८२-८३ मा वित्तीय प्रशासन तथा व्यवस्थापनतर्फ उत्कृष्ट योगदान पुर्यायको भन्दै लेखापाल सविना मगरलाई सम्मान गरिएको कार्यालयले जनाएको छ । सम्मान कार्यक्रममा डिभिजन कार्यालयले आर्थिक वर्ष २०८२-८३ मा सम्पादन गरेको कार्यक्रमको समीक्षा समेत गरेको थियो । सम्मानित व्यक्तिहरूलाई प्रमुख जिल्ला अधिकारी रेखा कँडेल र कार्यालय प्रमुख डा यादवले सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरे।












प्रतिक्रिया