बैतडी– घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट बनेका घार राख्न स्थान अभाव भएपछि बाटो तथा भीरमा पनि घारहरू राखिएका छन् ।
बैतडीको सुर्नया गाउँपालिका–७ मालम बगरका प्रेमबहादुर विष्टका ५० घार मौरी छन् । पच्चीस वर्षदेखि मौरीपालन व्यवसायमा आबद्ध विष्टले वर्षमा दुई क्विन्टल मह उत्पादन गर्दै आएका छन्।
स्थानीय बजार र जिल्लाबाहिर पनि मह बिक्री हुने गरेको छ । बजारमा महको माग बढ्दै गएकाले थप व्यवसाय विस्तार गर्न सके बजारको समस्या नरहेको विष्ट बताउँछन्।
‘लामो समयदेखि मौरीपालन गरेको हुँ । व्यवसाय बढाउँदै यहाँसम्म ल्याइपुर्याएको छु । घार राख्ने ठाउँ नभएर सडक किनार र भिरपाखामा पनि राखेको छु’, विष्टले भने।
युवापुस्ता रोजगारीको खोजीमा विभिन्न मुलुकतिर गएका बेला विष्ट भने मौरीपालन व्यवसायमा रमाइ रहेका छन्। मह बेचेर नै उनले घरपरिवार धानिरहेका छन् । बजारको कुनै समस्या छैन । स्थानीय बजारमै १५ सय रुपैयाँ प्रतिकिलो मह बिक्री हुने गरेको छ । वर्षमा अढाइदेखि तीन लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए।
‘चैत–वैशाखको बीचमा एकपटक र कात्तिक-मङ्सिरमा दोस्रोपटक गरी दुईपटक मह निकाल्छु, एकपटक निकाल्दा एक क्विन्टल बढी हुन्छ’, उनले भने, ‘हालसम्म उत्पादन हुँदै आएको महले बजार पनि पाइरहेको छ ।’
आम्दानीको राम्रो सम्भावना भए पनि परम्परागत तरिकाले मौरीपालन गरिरहेकाले मौरी जोगाउन निकै कठिन हुने गरेको छ ।
‘आधुनिक घारहरू छैनन्’, उनले भने, ‘काठको परम्परागत घारहरूमा जंगली जनावर मलसाप्रो र वर्षात्को समयमा चिसोबाट पनि बचाउन सकस हुने गरेको छ ।’
पछिल्लो समयमा तरकारी खेतीमा प्रयोग हुने विषादीले चुनौती थपिएको विष्टले बताए।
‘मौरीहरू फुल फुलेको ठाउँमा पुग्छन् । तरकारीखेतीमा विषादीको प्रयोगले मौरी पनि मर्ने गरेका छन् ।’, उनले भने। उनी मौरीपालनसँगै बाख्रापालनमा पनि व्यस्त छन्।












प्रतिक्रिया