बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू) « Khabarhub

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदी आसपासमा रहेका झोलुङ्गे पुलमा ठूलो क्षति पुगेपछि टुटेको स्थानीयवासीको वारिपारिको सम्बन्ध जोड्न सरकारले पुल मर्मत तथा पुनः निर्माणको काम अघि बढाएको छ ।

बाढीले नुवाकोट र धादिङका विभिन्न स्थानमा त्रिशूली नदीमाथि रहेका झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि स्थानीयको दैनिक आवतजावत प्रभावित भएको छ । 

पुलमा क्षति पुगेसँगै नदीको एक किनारबाट अर्को किनारमा जान स्थानीयलाई समस्या भएको छ भने बजार, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य अत्यावश्यक सेवाका लागि वारिपारि गर्ने अवस्था समेत प्रभावित बनेको छ।

विशेषगरी नुवाकोटको केउरेनी बजार, तारुकाघाट लगायतका क्षेत्रमा पुल मर्मतको काम सुरु भइसकेको छ। पुल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा लामो दूरीको वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्। दैनिक उपभोग्य सामग्री खरिद गर्न बजार जानेदेखि कृषि उत्पादन ओसारपसार गर्नेसम्मका काम प्रभावित भएका छन्।

सरकारले बाढीबाट क्षति पुगेका झोलुङ्गे पुलको मर्मत तथा पुनः निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटा पुलमा बाढीबाट क्षति पुगेको प्रारम्भिक मूल्याङ्कनबाट देखिएको थियो।

सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्याङ्कनका क्रममा क्षति पुगेका ५३ पुलमध्ये २० वटा मर्मत गर्नुपर्ने र बाँकी ३३ वटा पुनः निर्माण गर्नुपर्ने निष्कर्ष निकालेका थिए। क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको जनाएको छ।

मर्मत सुरु भएका पुलमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको काममा प्रगति भइरहेको सरकारले जनाएको छ । यी पाँचवटै पुलको मर्मत कार्य एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, पुनः निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको जनाएको छ । पुल पुनः निर्माण भएपछि बाढीबाट विच्छेद भएको ग्रामीण बस्ती र बजार क्षेत्रबीचको आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा नदी आसपासका बस्तीमा समेत ठूलो क्षति पुर्‍याएको थियो । बाढीपछि कतिपय स्थानमा सडकसमेत कटान तथा भासिएपछि यातायात सेवा प्रभावित भएको छ ।

स्थानीयवासीका लागि झोलुङ्गे पुल केवल आवतजावतको माध्यम मात्र नभई बजार, विद्यालय, स्वास्थ्य चौकी तथा रोजगारीसँग जोडिने प्रमुख पूर्वाधार भएकाले क्षतिग्रस्त पुल छिटो सञ्चालनमा ल्याउनुपर्ने माग छ । 

सरकारले मर्मत सुरु गरेका पुललाई तोकिएको समयमै सम्पन्न गर्न सकेमा बाढीका कारण लामो समयदेखि प्रभावित हुँदै आएको स्थानीय जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ ।

तस्बिर : प्रकाश चन्द तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  १२ : ५७ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि