नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदी आसपासमा रहेका झोलुङ्गे पुलमा ठूलो क्षति पुगेपछि टुटेको स्थानीयवासीको वारिपारिको सम्बन्ध जोड्न सरकारले पुल मर्मत तथा पुनः निर्माणको काम अघि बढाएको छ ।
बाढीले नुवाकोट र धादिङका विभिन्न स्थानमा त्रिशूली नदीमाथि रहेका झोलुङ्गे पुलमा क्षति पुर्याएपछि स्थानीयको दैनिक आवतजावत प्रभावित भएको छ ।
पुलमा क्षति पुगेसँगै नदीको एक किनारबाट अर्को किनारमा जान स्थानीयलाई समस्या भएको छ भने बजार, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य अत्यावश्यक सेवाका लागि वारिपारि गर्ने अवस्था समेत प्रभावित बनेको छ।
विशेषगरी नुवाकोटको केउरेनी बजार, तारुकाघाट लगायतका क्षेत्रमा पुल मर्मतको काम सुरु भइसकेको छ। पुल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा लामो दूरीको वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्। दैनिक उपभोग्य सामग्री खरिद गर्न बजार जानेदेखि कृषि उत्पादन ओसारपसार गर्नेसम्मका काम प्रभावित भएका छन्।
सरकारले बाढीबाट क्षति पुगेका झोलुङ्गे पुलको मर्मत तथा पुनः निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटा पुलमा बाढीबाट क्षति पुगेको प्रारम्भिक मूल्याङ्कनबाट देखिएको थियो।
सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्याङ्कनका क्रममा क्षति पुगेका ५३ पुलमध्ये २० वटा मर्मत गर्नुपर्ने र बाँकी ३३ वटा पुनः निर्माण गर्नुपर्ने निष्कर्ष निकालेका थिए। क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको जनाएको छ।
मर्मत सुरु भएका पुलमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको काममा प्रगति भइरहेको सरकारले जनाएको छ । यी पाँचवटै पुलको मर्मत कार्य एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै, पुनः निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको जनाएको छ । पुल पुनः निर्माण भएपछि बाढीबाट विच्छेद भएको ग्रामीण बस्ती र बजार क्षेत्रबीचको आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा नदी आसपासका बस्तीमा समेत ठूलो क्षति पुर्याएको थियो । बाढीपछि कतिपय स्थानमा सडकसमेत कटान तथा भासिएपछि यातायात सेवा प्रभावित भएको छ ।
स्थानीयवासीका लागि झोलुङ्गे पुल केवल आवतजावतको माध्यम मात्र नभई बजार, विद्यालय, स्वास्थ्य चौकी तथा रोजगारीसँग जोडिने प्रमुख पूर्वाधार भएकाले क्षतिग्रस्त पुल छिटो सञ्चालनमा ल्याउनुपर्ने माग छ ।
सरकारले मर्मत सुरु गरेका पुललाई तोकिएको समयमै सम्पन्न गर्न सकेमा बाढीका कारण लामो समयदेखि प्रभावित हुँदै आएको स्थानीय जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ ।
तस्बिर : प्रकाश चन्द तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी
































प्रतिक्रिया